शेरबहादुर ऐर । कैलाली ।
‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्यान्डको बाउ बडिमालिका र त्यसको पराकाष्ठा रामारोशन यहीँ छ भने किन बनाउनु प¥यो स्विजरल्यान्ड ?’ धनगढीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले व्यक्त गरेको धारणा हो यो । तर, अहिले उनकै नेतृत्वमा सरकार रहेको छ ।
पहिलोपटक नीति तथा कार्यक्रम ल्याउँदा उनको नीति तथा कार्यक्रममा रामारोशन र बडिमालिका शब्द नै देखिएन । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पेस गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘नेपाललाई विश्वको आध्यात्मिक पर्यटन केन्द्र बनाउने उद्देश्यले ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान चलाइनेछ । नेपाललाई धार्मिक, सांस्कृतिक, स्वास्थ्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा घुमफिर पर्यटनका लागि आकर्षक ठाउँका रूपमा विकास गरिनेछ । साथै, आध्यात्मिक तीर्थ–पर्यटन नीतिमार्फत पशुपतिनाथ मन्दिर, लुम्बिनी र मुक्तिनाथ मन्दिरजस्ता धार्मिक क्षेत्रहरूको प्रचार–प्रसार गरिनेछ ।’
नीति तथा कार्यक्रमको बुँदा नम्बर ४० मा भनिएको छ– ‘नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउन पर्वतारोहण, ट्रेकिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, बञ्जी जम्प, स्काइडाइभिङजस्ता साहसिक खेलहरूको विकास गरिनेछ । यसका लागि आवश्यक पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रचारलाई अझ बलियो बनाइनेछ । प्रकृति, संस्कृति र स्थानीय समुदायमा आधारित नयाँ पर्यटन प्रणाली विकास गरिनेछ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशलाई विशेष प्राथमिकता दिई नयाँ पर्यटकीय गन्तव्यहरूको प्रचार गरिनेछ । हिमाल, पहाड र तराई क्षेत्रमा कम्तीमा १० नयाँ पदमार्ग (ट्रेकिङ रुट) पहिचान गरी प्रवद्र्धन गरिनेछ । साथै, नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी मोडेलमा पुनः संरचना गरी अझ आधुनिक र नवप्रवर्तनशील बनाइनेछ ।’
सुदूरपश्चिम प्रदेश भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा लेखेका थिए –‘सुदूर अब दुर नाई । झिक्कै झिक्कै माया ।’ तर, सोमबार पेस भएको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका राष्ट्रिय गौरवका आयोजनाका नाम नै भेटिएनन् । गत वर्षदेखि नीति तथा कार्यक्रममा छुट्दै आएको राष्ट्रिय गौरवको आयोजना फाप्ला क्रिकेट मैदान बालेन नेतृत्वको सरकारको पनि प्राथमिकतामा देखिएन ।
नीति तथा कार्यक्रममा भनिएको हुन्थ्यो – ‘फाप्ला क्रिकेट मैदानको पूर्वाधार निर्माणकार्य अघि बढाइने छ ।’ तर, आगामी आर्थिक वर्षको नीतिमा भनिएको छ – ‘खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोडेर विकास गरिनेछ । विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । खेल क्षेत्रलाई व्यावसायिक बनाइनेछ, निजी क्षेत्रको सहभागिता बढाइनेछ र खेलाडीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिनेछ । साथै, राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरी युवालाई डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासका काममा सहभागी गराइनेछ ।’
यहाँ संघीय सरकारले नीति तथा कार्यक्रम ल्याउँदा जहिले चर्चाको विषय बन्ने गर्छ –‘सहिद दशरथचन्द विश्वविद्यालयमा चिकित्सालय शिक्षा कहिलेदेखि सुरु हुन्छ ?’ तर, यो विषय पनि नीति तथा कार्यक्रममा समावेश हुन सकेन् । नीति तथा कार्यक्रमकै आधारमा बजेट तयारी हुन्छ । तर, अहिले नीतिमै स्पष्ट कार्यक्रमहरू समावेश नहुँदा वर्षौँदेखि अधुरै रहेका प्रदेशका राष्ट्रिय गौरवका आयोजना सञ्चालन हुनेमा पनि स्पष्टता छैन ।
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष शंकर बोगटीले नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनाका कार्यक्रम समावेश नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले भने, ‘वर्षौँदेखि अधुरो र अपुरो रहेका आयोजनाहरू नीति तथा कार्यक्रममा समावेश भएन । यसमा समावेश नभए पनि आगामी बजेटमा यी (कार्यक्रम तथा योजनाहरू समावेश गराउनतर्फ सुदूरपश्चिमका सरोकारवालाहरूले दबाब दिनुपर्छ ।’
पेस भएको नीति तथा कार्यक्रमले सुदूरपश्चिमवासी निराश छन् । वर्षौँदेखि संरचना बनेको सहिद दशरथचन्द विज्ञान विश्वविद्यालयमा अहिलेसम्म चिकित्सालय अध्यापन सुरु हुन सकेको छैन । पर्यटन व्यवसायी तथा उद्योगी दिनेशराज भण्डारी भन्छन्, ‘नीति तथा कार्यक्रममै उल्लेख भएको भए यहाँका नागरिक खुसी हुन्थे । तर, अहिले नै निराश भइरहनुपर्ने अवस्था छैन । बजेटमा समावेश हुन्छ कि हुँदैन हेरौँ ।’









प्रतिक्रिया दिनुहोस्