वीरेन्द्र जैसी । नेपालगन्ज ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १ का मिलनकुमार शाह २०७७ सालतिर तराईमा जग्गाको खोजीमा थिए । त्यही क्रममा एकजना चिनजानका अमर शाही नाम गरेका व्यक्तिले उनलाई कोहलपुरमा ऐलानी जग्गा रहेको र उक्त जग्गाको लालपुर्जा पाइने भन्दै किन्ने व्यवस्था मिलाइदिने बताए । त्यसपछि आफूले शाहीको विश्वासमा परेर आठ लाख रकम पठाइदिएको उनी बताउँछन् ।
तर उनी न आफू जग्गा हेर्न आए न जग्गा बेच्ने व्यक्ति चिने । ‘हामी पहाडमा दुःख भोगिरहेका मान्छेलाई तराईमा, त्यो पनि कोहलपुरमा जग्गा पाइने भनेपछि भएको सबै रकम पठाइदिएँ । उहाँले नै जग्गाको कागज बनाएर पठाइदिनुभयो । तर पछि थाहा पाएँ, त्यसरी घुमाउरो कागज बनाएर किनेको भनिएको जग्गा त नगर विकासको रहेछ,’ शाह भन्छन् ।
शाहले ८ लाख तिरेको जग्गाको कागज बनाउँदा घुमाउरो भाषा प्रयोग गरिएको छ । जसमा उनले एक जना व्यक्तिलाई ८ लाख रूपैयाँँ सापटी दिएको र उक्त रकम फिर्ता गर्न नसकेपछि ती ऋण्ीाले उनको नाममा आफूले भोगचलन गर्दै आएको नगर विकासको जग्गा भोलि नामसारी भएमा उनको नाममा पास गरिदिने कागज गराइएको छ । शाह भने कागजको व्यहोरादेखि सबै चाँजोपाँजो मिलाउने व्यक्ति अमर शाही नै रहेको बताउँछन् ।
उनलाई आफूलाई उक्त जग्गा ऐलानी नभई नगर विकास समितिको हो भनेर जानकारी पनि नदिएर झुक्याइएको बताउँछन् । शाहलाई ऐलानी जग्गा दिने भनेर कागज गर्ने व्यक्ति कोहलपुर वडा नम्बर ३ बस्ने भिमबहादुर थारू हुन् । उनले आफूले ऋण तिर्न नसकेको आठ लाख रकमबापत कोहलपुर नगरपालिका वडा नम्बर ११ शान्तिनगरमा भोगचलन गर्दै आएको १० धुर जग्गाको हक हस्तान्तरण गरिदिएको कागज गरेका छन् ।
ती भिमबहादुर थारू नाम गरेका व्यक्तिलाई आफूले भने नचिन्ने शाहको तर्क छ । थारू आफैँ वडा नम्बर ३ का बासिन्दा भइकन पनि नगर विकासको ऐलानी जग्गा पनि भोगचलन गर्दै आएको समेत उक्त कागजबाट खुल्छ । कागज भएपश्चात् उक्त जग्गा शाहले उपभोग गर्ने, सरकारबाट गठन हुने आयोग वा कुनै निकायबाट नापजाँच गरेका बखत आफ्नो नाममा नापजाँच गराउन पाउने, थारूको वा उनको परिवारका अन्य सदस्यको नाममा आएमा पनि शाहकै नाममा रजिष्ट्रेसन पास गराइदिने भनिएको छ ।
थारूले भविष्यमा जग्गा शाहको नाममा हुन नसकेमा आफ्नो सम्पत्तिबाट असुलउपर गर्नु भन्ने राजिखुसी कागज गराएका छन् । तर अहिले शाहले न जग्गा पाउने स्थिति छ, न तिरेको रकम फिर्ता पाउने । उनलाई जग्गा किनाउने शाही र थारू दुवै उनको सम्पर्कमा छैनन् । शाह मात्रै होइन उक्त जग्गा किनबेचमा अनेक बाहना गरेर ठग्नेहरू रहेको पाइएको छ । केही व्यक्तिहरूले नक्कली लालपुर्जा दिएर ठगेको गुनासो गर्दै सार्वजनिक हुन थालेका छन् ।
दीपलाल कवर नाम गरेका व्यक्तिले २०६७ सालमा केही व्यक्तिहरूले आफूलाई उक्त जग्गामा ‘सबै मिलेर बस्नुपर्छ ।सुकुम्वासी भनेर सबैलाई जग्गा पाइन्छ भनेर’ भनेर भनेपछि जग्गा किनेको बताए । त्यतिबेला जीवन थापा नाम गरेका व्यक्तिको नेतृत्वमा रहेको एक समितिले आफूलाई नक्कली लालपुर्जा दिएर ठगेको उनी बताउँछन् ।
उनीहरूले उक्त जगा नगर विकास समितिको भएको पनि नबताउने र विभिन्न जिल्लाबाट मानिसहरूलाई झुक्यानमा पारेर ल्याएर ठगी गरेको उनको भनाइ छ । उनले नक्कली लालपुर्जा दिएर ठगी गर्ने गिरोह नै सक्रिय रहेको र उक्त गिरोहले एउटै जमिन पनि फरक फरक व्यक्तिलाई बेचेर रकम असुली गरेको बताएका छन् ।
कोहलपुर नगर प्रहरीका प्रमुख वीरबहादुर थापा पनि आफूकहाँ जग्गाको किनबेचका क्रममा ठगीमा परेको भनेर तीन÷चारजना व्यक्तिहरू सम्पर्कमा आएको बताए । उनीहरूलाई आफूले यदि ठगिएको विषय हो भने प्रहरी वा अदालतमार्फत न्याय खोज्न सुझाएको थापाले मिसन टुडेलाई बताए । तर, आफू ठगिएको बताउने शाह उक्त नगर विकास समितिको भएको र आफ्नो नाममा नआउने थाहा पाउनेबिक्तिकै कोहलपुर नगरपालिका र प्रहरीमा ठगीको जाहेरी निवेदन लिएर पुगेको बताउँछन् ।
एक वर्षअघि नै आफूले निवेदन दिए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ठगीमा गिरोह नै रहेको थाहा हुँदाहुँदै अनुसन्धान नहुँदा आफूजस्ता धेरै व्यक्तिहरू झनै मर्कामा परेको शाह बताउँछन् । ‘मेरो लागि उक्त रकम ठूलो थियो । म झुक्यानमा परेँ भनेर न्याय माग्न जाँदा नगरपालिकाले पनि गम्भीरतापूर्वक लिएर अनुसन्धान गराउनुपर्ने थियो,’ शाह भन्छन् ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण आचार्य सरकारी जग्गाको कारोबार गरेर ठगिएको भन्ने विषय स्थानीय सरकारले निक्र्यौल गर्न नसक्ने बताए । उनी त्यसरी आफू पीडित भएको बताउनेहरूले प्रशासन वा अदालतमा गएर न्याय खोज्नुपर्ने बताउँछन् ।यता प्रहरी पनि ऐलानी जग्गाको किनबेच सम्बन्धीको विषयमा प्रहरीले अनुसन्धान गर्न नसक्ने बताउँछ । बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले त्यसबेला प्रहरीले सोही कारणले जाहेरी दर्ता नगरेको हुनसक्ने बताए ।
उनले उक्त विषयमा ऐलानी जग्गा कारोबारको विषय आकर्षित हुने र सरकारी जग्गा किनबेच गर्ने दुवै पक्ष दोषी हुने भएकोले अदालतमै गएर न्याय खोज्नु उपयुक्त हुने बताए । यता मालपोतका एक अधिकृतले पनि सरकारी जग्गाको बिनबेच अवैध कागजका आधारमा भएको छ भने त्यो गैरकानुनी हुने बताए । कानुनको जानकारी नभएको विषय क्षम्य नहुने भएकोले कारोबारका दुवै पक्ष बराबर दोषी हुने उनको भनाइ छ ।
अतिक्रमित बस्ती आज हटाइँदै
लामो समयदेखि अतिक्रमणको चपेटामा परेको कोहलपुर क्रिकेट मैदान आसपासको शान्तिनगरको बस्ती आज हटाइने भएको छ । सार्वजनिक जग्गा खाली गराउने उद्देश्यसहित स्थानीय प्रशासन, कोहलपुर नगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा अतिक्रमण बस्ती हटाइने भएको हो । आज बिहानैदेखि क्रिकेट मैदान आसपास शान्तिनगर बस्तीमा अतिक्रमण गरेर बनाइएका घर टहरा तथा संरचना भत्काइने बताइएको छ ।
अधिकांश व्यक्तिहरूले स्वतस्फूर्त रूपमा आफँै घर टहरा भत्काएर सामानहरू अन्यन्त्र सार्ने काम गरिरहेकोले शान्तिपूर्ण रूपमा अतिक्रमण बस्ती खाली गरिने कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘नगरपालिकाले गरेको सूचनालाई मानेर उहाँहरूले स्वतस्फूर्त रूपमा अतिक्रमण जमिन खाली गर्न थालिसकेका छन्’, उनले भने, ‘शनिबार घरहरूमा जडान गरिएका मिटर बक्सहरू निकाल्ने र आवश्यक परे डोजर चलाइनेछ ।’
अधिकांशले घर टहरा बनाएर बसोबास गर्दै आएका परिवारहरूले आफ्ना घरका सामग्री, लत्ताकपडा र दैनिक प्रयोगका सामान अन्यत्र सार्न थालेका छन् । कतीपय परिवारले आफैंँ घर टहरा भत्काउन थालेका छन् भने वास्तविक सुकुम्वासी र भूमिहीन दलित परिवारलाई नगरपालिकाले वैकल्पिक व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा राखिरहेको छ ।
कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार शुक्रबार रातिसम्म होल्डिङ सेन्टरमा ६० जना घरपरिवार बसोबासका लागि पुगेको र अन्य परिवार पनि आउने क्रम जारी रहेको मिसन टुडेलाई जानकारी दिए । नगरपालिकाले वास्तविक भूमिहीन सुकुम्बासी र भूमिहीन दलित पहिचान गरिहेको र त्यस्ता परिवारलाई वैकल्पिक व्यवस्थापनका लागि होल्डिङ सेन्टरहरू स्थापना गरेको उनले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बस्ती खाली गर्नको लागि आवश्यक सुरक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिए । ‘शान्तिपूर्ण रूपमा हामीले सकेसम्म बस्ती खाली गराउनेगरी योजना बनाएका छौँ ।’ उनले भने, ‘त्यहाँ बसोबास गरिरहेका मानिसहरूलाई आफ्नो सामानहरू सबै सार्न दिन भनेका छौँ । उहाँहरूले अटेर गरेमात्र बल प्रयोग गरेर डोजर चलाउँछौँ ।’









प्रतिक्रिया दिनुहोस्