कोहलपुर क्रिकेट मैदान आसपासका सुकुम्बासीले सार्न थाले सामान



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्बासीहरूले घरटहरा खाली गर्दै सामान सार्न थालेका छन्। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटम जारी गरेपछि स्थानीय बासिन्दाले धमाधम सामान अन्यत्र लैजान सुरु गरेका हुन्।

नगरपालिकाले वैशाख २५ गतेसम्म स्वेच्छाले संरचना हटाउन आग्रह गर्दै सूचना जारी गरेको थियो। तोकिएको समयभित्र खाली नगरे नगरपालिकाले डोजर प्रयोग गरेर संरचना हटाउने चेतावनी दिएको छ।

क्रिकेट मैदान आसपासको नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा वर्षौंदेखि सयौं घरटहरा निर्माण गरी बसोबास हुँदै आएको छ। नगरपालिकाका अनुसार उक्त क्षेत्र सार्वजनिक सम्पत्तिअन्तर्गत पर्ने भएकाले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।

सामान सारिरहेका स्थानीयले आफूहरू वास्तविक सुकुम्बासी भएकाले उचित व्यवस्थापन बिना हटाउन नहुने बताएका छन्। केही परिवारले भने नगरपालिकाको निर्णयपछि वैकल्पिक बसोबास खोज्दै घरभित्रका सामग्री सुरक्षित स्थानमा सारिरहेका छन्।

यसअघि पनि पटक–पटक सूचना जारी गरिए पनि अतिक्रमित क्षेत्र खाली हुन सकेको थिएन। यसपटक भने प्रशासन, नगरपालिका र सुरक्षा निकायको सक्रियतापछि क्षेत्र खाली गराउने तयारी तीव्र बनाइएको जनाइएको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार