होटल सिद्धार्थलाई खाद्य स्वच्छता स्तरीकरण नवीकरण गर्न सुझाव



नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित होटल सिद्धार्थले खाद्य स्वच्छताका आधारमा गरिएको होटल स्तरीकरणको म्याद गुज्रिसक्दा पनि नवीकरणका लागि निवेदन नदिएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिकहरूसमेतको टोलीले गरेको निरीक्षणका क्रममा होटलले स्तरीकरणका लागि नवीकरण नगरेको पाइएको हो ।

अनुगमन टोलीले होटललाई नवीकरणका लागि निवेदन दिन लिखित सुझाव दिएको छ । स्तरीकरणको म्याद यही वैशाख १ गतेसम्मको मात्रै रहेकोमा नवीकरकण नगरिएको पाइएको निरीक्षण टोलीका एक सदस्यले जानकारी दिए । यतिमात्रै नभई होटलमा फ्रोजनका लागि राखिएका मासु तथा मासुजन्य पदार्थमा लेबल पनि नराखिएको पाइएपछि अनिवार्य लेबल राख्न र स्टोरमा एउटा एडजस्ट फ्यान सेमत राख्न लिखित निर्देशन दिइएको छ ।

यसैगरी सरसफाइ, बफेटको तापक्रम, पिउने पानीको गुणस्तर परीक्षणको अभिलेख अनिवार्य रूपमा राख्न पनि निरीक्षण टोलीले निर्देशन पनि दिएको छ । यसैगरी, नेपालगन्जको औद्योगिक क्षेत्रअघि रहेको सायना क्याफेमा पनि केही म्याद गुज्रेका सामानहरू फेला परेका छन् ।उपभोक्ताको गुनासोका आधारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका चाउमिन लगायतका वस्तुहरू फेला परेको जानकारी दिइएको छ।

यसैगरी उक्त क्याफे स्थानीय तहमा व्यवसाय दर्ता पनि नगरिएको पाइएकोले देखिएका कैफियतहरू १५ दिनभित्र सुधार गर्न सुझाव दिइएको छ । निरीक्षण टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नेत्रा बोगटी र प्रतीक्षा पण्डित र नेपालगन्ज उपमहानगरपालिकाका प्रविण राना तथा उपभोत्ता हित संरक्षण समितिका संयोजक प्रभात ठकुरी सहभागी थिए । होटल सिद्धार्थ चारतारे स्तरको होटेल हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार