धम्बोझीदेखि नन्दनी मिल सडकखण्ड विस्तार गरिँदै



नेपालगन्ज ।

२०७९ सालमा हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डलाई फोरलेनको स्तरमा स्तरोन्नति गर्दा बाँके र बर्दियाको ग्रामीण क्षेत्रमा पर्ने पाँच सयभन्दा बढी घरहरू भत्काइए । तर, गुलरिया, खजुरा र नेपालगन्ज बजारमा भने सडकलाई साँघुरै रहन दिएर अस्तव्यस्त छोडियो । त्यसरी अस्तव्यस्त छोडिएको नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक अब भने विस्तार तथा स्तरोन्नति गरिने भएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले उक्त सडक क्षेत्रमा सडक क्षेत्र खाली गराउन प्रक्रिया सुरु भएको जानकारी दिएको छ । सडकको मध्यविन्दुबाट १५ १५ मिटर दायाँ बायाँ क्षेत्रमा पर्ने सबै संरचनाहरू हटाउन आह्वान गरिन लागिएको कार्यालयका प्रमुख लिलाबहादुर भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार उक्त सडकको १५–१५ मिटर क्षेत्र सडक र ६–६ मिटर फुटपाथका लागि छोड्नुपर्ने मापदण्ड छ । यसरी सडकको मध्यबिन्दुबाट २१–२१ मिटर दायाँ बायाँ सडकको मापदण्डमा पर्ने र संरचना बनाउँदा २१ मिटर छाडेर बनाउनुपर्ने भण्डारीले बताए । अहिले अधिकांशले २१ मिटर छाडेरै घर बनाइरहेको पाइए पनि नेपाल राष्ट्र बैंकसहित निजी घर तथा संरचनाहरू सडकको क्षेत्रमै पर्ने र तिनलाई १५ दिनको समय दिएर हटाउन आह्वान गरिन लागिएको भण्डारीले जानकारी दिए ।

नेपालगन्ज–गुलरिया सडकखण्डलाई स्तरोन्नति गर्दा नेपालगन्जको धम्बोझी चोकदेखि खजुरा बजारसम्म चारलेन सडक निर्माण गरिने योजना थियो । तर, तत्कालीन भौतिक पूर्वाधारमन्त्री इश्तियाक राईले हतार हतार उक्त योजना अघि बढाउन खोजेको तर घर तथा संरचनाहरू खाली गराउने मनसाय नदेखाएपछि नन्दनी मिलबाट सडक विस्तारको काम सुरु गरियो । राईले नै नन्दनी मिल नजिकै सडकको शिलान्यास गरेका थिए ।

सडक स्तरोन्नतिपछि खजुरासम्म ४ लेन सडक बनिसक्दा पनि सवारीसाधनको बढी चाप हुने उक्त खण्ड अहिले अस्तव्यस्त छ । उक्त खण्डबाट ठूला सवारीसाधनहरू चल्दा सडक जाम हुन थाले पनि प्रहरी खटाएर डाइभर्ट गरी बाइपास सडकबाट कारकाँदो चोकतिर पठाउनु परिरहेको छ । धम्बोझी चोक नजिकै नेपालगन्ज गुलरिया खण्डमा चल्ने सवारीसाधनहरूले साँधुरो सडकमै यात्रु चढाउने र झार्ने गर्दा दुर्घटनाको जोखिम पनि बढेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

बाँकेको जानकी गाउँपालिकाका छैलु सिंह पहिले आफ्नो घर भत्केकोमा भन्दा पनि सरकारले एउटै सडकमा सहरमा घर जोगाएर र गाउँका मात्रै भत्काएकोमा थप दुःख लागेको स्मरण गरे । अहिले सडकको बाँकी भाग पनि चौडा हुने भएमा आफूहरूलाई खुसी लाग्ने उनले बताए । बघौडा र राप्ती सोनारीदेखि नेपालगन्जको पुष्पलाल चोकसम्म पुग्ने हुलाकी सडक धम्बोझी हुँदै बर्दियाको बाटो भएर पश्चिम जान्छ ।

योजना कार्यालय प्रमुख भण्डारीले पहिले सडक निर्माण गर्दा हतार हतारमा काम भएको र घर तथा संरचनाहरू हटाउन लाग्दा बाँकी काम पनि अघि नबढ्ने देखिएपछि उक्त खण्डको काम पछि गर्ने भनेर छोडिएको बताए । अहिले भने सडक विस्तार अत्यावश्यक भइसकेको उनको भनाइ छ । ‘नेपालगन्ज गुलरिया हुलाकी सडकको सुरुवात नै धम्बोझीबाट हुन्छ ।

तर त्यहीँको सडक अस्तव्यस्त भएको सबैलाई महसुस भएकै छ । बाँकेदेखि बर्दिया हुँदै पश्चिम जाने सवारीसाधनहरूले अहिले उक्त सडक प्रयोग गर्ने क्रम बढेकोले विस्तार गर्नुपर्ने अनिवार्य भइसकेको छ,’ भण्डारीले भने । भण्डारीका अनुसार कार्यालयमा सडक तथा पुल शीर्षकमा निरन्तर रहने बजेटबाटै उक्त सडक निर्माण अघि बढाउने योजना छ ।

‘जसका लागि यो आर्थिक वर्षभित्रै नभए आगामी साउनमै उक्त सडकको ठेक्का आह्वान गरिसक्ने लक्ष छ,’ उनले भने । अहिले संशोधित सार्वजनिक खरिद ऐनमा निर्माणकार्य अघि बढाउन निर्माण क्षेत्र खाली भएको वा खाली हुने सुनिश्चितता भएको अवस्थामा ठेक्का आह्वान गर्न सकिने भएकोले त्यहीअनुसार तयारी अघि बढाइएको पनि उनले जानकारी दिए ।

एक सय ६० घर तथा संरचना भत्काउनुपर्ने

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका अनुसार धम्बोझी चोकदेखि नन्दनी मिलसम्म एक सय ५९ घर तथा संरचनाहरू भत्काउनुपर्ने देखिएको जानकारी दिएको छ । धम्बोझीबाट बायाँतर्फ नेपाल राष्ट्र बैंकको कम्पाउण्ड वालबाहेक ८२ संरचना र दायाँतर्फ ७७ वटा घर तथा संरचनाहरू सडक क्षेत्रमा पर्ने कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।

उनका अनुसार १५ दिनभित्र भत्काउने कार्य सुरु गर्नका लागि सूचना जारी गर्ने, घरमा टाँस गर्ने तथा पत्राचार गर्ने तयारी गरिएको छ । राष्ट्र बैंकको संरचना भत्काउनका लागि पनि पत्राचार गरिन लागिएको उनले बताए । नापजाँच तथा रेखांकनका क्रममा स्थानीयहरू सडक क्षेत्र खाली गर्नका लागि सकारात्मक नै रहेको आफूले पाएको बताए ।

‘स्थानीयहरूले कति भत्काउनुपर्ने हो भन्ने चासो दिनुभएको हामीले पायौँ । उहाँहरूले भत्काउनका लागि सकारात्मक नै रहेको बताउनुभएको छ,’ भण्डारीले भने । उनका अनुसार सडक निर्माण अघि बढाउने र सडक खाली गर्ने सम्बन्धमा विभिन्न चरणमा अन्तरनिकाय छलफल पनि भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार