‘फुटबलमार्फत कोहलपुर चिनाउने अभियान हो’



पहिलो संस्करण सञ्चालन गर्न हामीलाई ७५ देखि ८० लाख रूपैयाँँ खर्च भएको थियो । चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले एउटा उचाइ लिइसकेको छ । गोल्डकपप्रतिको अपनत्व समेत बढ्दो क्रममा रहेको छ । यस प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नको लागि हामी निरन्तर लागिपरेका छौँ । अहिले एन्फाले कोहलपुर गोल्डकपलाई आफ्नो वार्षिक क्यारेन्डरमा समेत राखेको छ ।

                                      चक्र चिमला क्षेत्री अध्यक्ष, कोहलपुर रेसिङ साहारा क्लब, कोहलपुर

कोहलपुर गोल्डकपको सुरुवात कसरी भयो ? यसको पृष्ठभूमिबारे जानकारी गराइदिनुहोस् न ?

कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर–२ स्थित फुुटबल विकासका लागि स्थापित क्लब हो । २०७९ सालमा कोहलपुर गोल्डकप सुरु गर्नुभन्दा पहिला चार जनाले यस क्लबको नेतृत्व गरिसक्नु भएको थियो । क्लबले गाउँकप, वडाकप जस्ता प्रतियोगिता सञ्चालन गर्दै आएको थियो । २०७९ सालमा म क्लबको प्रमुख जिम्मेवारीमा आएँ । म क्लबको नेतृत्वमा आउनेबित्तिकै कार्यसमितिमा कोहलपुरमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्ने प्रस्ताव गरेँ । म आफैँ पनि फुटबल खेलेर आएको र खेल बुझेको मान्छे हुँ । मैले प्रस्ताव गरेपछि प्रस्ताव स्वीकृत भयो । त्यति बेलासम्म बाँकेमा कुनै पनि गोल्डकप आयोजना हुँदैन थियो । कोहलपुर तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट हो । यहाँ हरेक कुराको सम्भावना छ । खेलकुदको समेत राम्रो सम्भावना देखेरै हामी अघि बढेको हो । फुटबलमार्फत कोहलपुरलाई चिनाउनुपर्छ भन्ने उद्देश्यसहित केही जाँगरिला युवाहरू मिलेर जन्मेको हो, कोहलपुर गोल्डकप । हामीले स्थानीय सरकारसँग पनि समन्वय गरेका थियौँ । स्थानीय सरकार पनि गोल्डकपलाई सहयोग गर्न तयार भयो । त्यसपछि काठमाडौँमा बसेर यसको मोडालिटी तयार भयो । त्यसपछि पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भयो । पहिलो संस्करण सञ्चालन गर्न हामीलाई ७५ देखि ८० लाख रूपैयाँँ खर्च भएको थियो । चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले एउटा उचाइ लिइसकेको छ । गोल्डकपप्रतिको अपनत्व समेत बढ्दो क्रममा रहेको छ । यस प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नको लागि हामी निरन्तर लागिपरेका छौँ । अहिले एन्फाले कोहलपुर गोल्डकपलाई आफ्नो वार्षिक क्यारेन्डरमा समेत राखेको छ ।

चौथो संस्करणको कोहलपुर गोल्डकपको तयारी कसरी भइरहेको छ ?

बाँकेको कोहलपुर नगरपालिकामा हरेक वर्ष कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ । गोल्डकपको चौथो संस्करणको पनि सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूूरा भएर हामी गोल्डकपको उद्घाटन गर्न आतुर छौँ ।गोल्डकपमा सहभागी हुने टिमको टुंगो लागेको छ । पत्रकार सम्मेलनमार्फत खेलतालिका समेत सार्वजनिक गरिसकेका छौँ । यसपटक पनि एउटा विदेशी, एउटा विभागीय गरी देशभरका प्रदेशलाई प्रतिनिधित्व गर्दै आठ टिम सहभागी छन् । सम्पूर्ण टिम कोहलपुर पुगिसकेका छन् ।प्रतियोगिता खेलाउने रेफ्री, म्याच कमिस्नारको टुंगो लागेको छ । मुख्य प्रायोजकसँगै अन्य प्रायोजक, विभिन्न साझेदारहरू पनि फाइनल भइसकेको छ । पूर्वाधार निर्माण समेत सम्पन्न भएको छ । खेलमैदान विगतको भन्दा राम्रो व्यवस्थापन गरेका छौँ । यसपटक दर्शकले प्याराफिटमा बसेर खेल हेर्न पाउनेछन् । यसपटक गोल्डकपको उद्घाटन स्थानीय सरकार प्रमुखले गर्नुहुनेछ । कोहलपुर गोल्डकपमा सबैलाई स्वागत गर्न आतुर छौँ ।

कोहलपुर गोल्डकप विगतका संस्करणभन्दा कुन हिसाबमा फरक छ ?

गत वर्षको कोहलपुर गोल्डकपको मुख्य नारा ‘घुम्न जाऔँ बर्दिया’ थियो । यसपटकको नारा ‘खेलसँग पर्यटन, खेलसँग मनोरञ्जन’ रहेको छ । विगतका संस्करणभन्दा यो संस्करण फरक र पृथक हुनेछ । यसपटक हामीले खेलसँग पर्यटनलाई जोडेका छौँ । बाँके राष्ट्रिय निकुञ्ज हामीसँगै छ । निकुञ्जमा रहेको लोपोन्मुख जनावर ‘चौका’ संरक्षणलाई मुद्दा बनाइएको छ । यहाँको गाभर होमस्टेसहित यहाँका प्रमुख पर्यटकीयस्थलमा खेलाडीहरू घुम्नेछन् । खेलसँग पर्यटनलाई जोड्न खोजिरहेका छौँ । अर्को भनेको यसपटक पाँच हजारभन्दा बढी दर्शक प्याराफिटमा बसेर खेल अवलोकन गर्न पाउनुहुनेछ ।

कोहलपुर गोल्डकप हेर्न आउने दर्शकहरूका लागि यसपटक विशेष केही व्यवस्था छ ?

चौथो संस्करणसम्म आइपुग्दा हामी निकै परिस्कृत भइसकेका छौँ । प्रतियोगिताप्रति हेर्ने नजरदेखि लिएर विभिन्न सरोकारवालाहरूको अपनत्वको सवालबाट हेर्दा प्रतियोगिताले सबैलाई जोड्न सफल भएको छ । पहिलो संस्करणमा दर्शकहरूको यति धेरै माया र हौसला मिल्यो । जसको कारणले हामीले अन्य संस्करण गर्न समेत प्रेरित ग¥यो । पहिलो संस्करणमा दर्शकहरूले जमिनमा ठाउँ नपाएर रूखमा चढेर समेत हेरे। त्यसपछि जसरी पनि रंगशाला निर्माण गर्नुपर्छ भन्ने प्रेसर हामीलाई भयो । विभिन्न सरकार गुहा¥यौँ । पहिलो चरणको रंगशाला निर्माणका लागि सात करोड रूपैयाँँमा काम हुँदैछ । यसमा संघीय सरकार र स्थानीय सरकारले सहयोग गरिरहेको छ । यसपटक दर्शकहरूले प्याराफिटमा बसेर हेर्न पाउनुहुनेछ । ५ हजारभन्दा बढी दर्शक क्षमताको प्याराफिट बनिसकेको छ ।

कोहलपुर गोल्डकपले आर्थिक पाटोलाई कसरी जोडेको छ नी ?

अहिलेसम्म प्रतियोगिता स्थानीय सरकार र क्लबले स्पोन्सर खोज्दै सञ्चालन गरिरहेका छौँ । यसपटक हामीसँग मुख्य प्रायोजकका रूपमा ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’ जोडिएको छ । बाँकेका स्थानीय तहहरू प्रायोजकका रूपमा जोडिँदैछन् । यसैगरी निजी क्षेत्रहरू समेत हामीसँग जोडिँदै आउनु भएको छ । बाँके क्षेत्रका ठूला व्यावसायिक घराना अहिलेसम्म हामीसँग जोडिनु भएको छैन । हामी जोडिने कोसिस गरिरहेका छौँ । स्थानीय उद्योगी, व्यवसायीहरूले भने हामीलाई राम्रो सहयोग गरिरहनु भएको छ ।

अन्त्यमा कोहलपुर गोल्डकपमा सहभागिताका लागि के आह्वान गर्नुहुन्छ ?

यो कोहलपुर गोल्डकप हाम्रो गौरव हो । यो हाम्रो मात्रै प्रतियोगिता होइन । तपाईँहरूको समेत प्रतियोगिता हो । त्यसैले गोल्डकपमा सहभागी भइदिन हुन अनुरोध गर्दछु । त्यसैले १९ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल ४ बजेपछि हुनेछ । यसैगरी कोहलपुरवासी, आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई अनिवार्य उपस्थिति भएर प्रतियोगिता सफल पार्न सहयोग गरिदिन हुन अपिल गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार