‘अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू’



सुकुमबासी बस्ती खाली गराइँदै
काठमाडाैँ, १२ वैशाख:
काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज अतिक्रमण गरिएको सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : विष्ट / रासस

काठमाडौँ ।

काठमाडौँमा सोचेभन्दा सहजै तरिकाले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हटाएको सरकारले अब यो अभियानलाई देशभरि नै लैजाने तयारी गरेको छ । जसअनुसार बिहीबार गृह मन्त्रालयले देशभरका सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण संकलन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाद्वारा जारी परिपत्रमा प्रत्येक जिल्लामा रहेका अतिक्रमित जमिनको पहिचान गरी त्यसलाई हटाउने कार्ययोजना तयार गर्न सम्बन्धित निकायसँग समन्वय गर्न भनिएको छ । तयार गरिएको योजना मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ ।

परिपत्रमा मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मात्र अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ । साथै, सो कार्यान्वयनका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र सम्बन्धित निकायबीच सहकार्य सुनिश्चित गर्न समेत भनिएको छ । काठमाडौँसहित बाँके, बर्दिया, कैलाली, रुपन्देही, मोरङ, झापा लगायतका जिल्लामा वर्षौँदेखि सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो रहँदै आएको छ ।

सुकुम्वासीको नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको दाबी गरिए पनि कैयन स्थानमा हुनेखानेले नै राजनीतिक शक्तिको दुरूपयोग गरी राज्यको सम्पत्ति दोहन गरिरहेकाले कारबाहीको माग हुँदै आएको छ । विगतका सरकारले भने सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुभन्दा आफ्ना कार्यकर्तालाई सार्वजनिक जग्गा कब्जा गर्न उक्साएको आरोप लाग्दै आएको छ । वास्तविक सुकुम्वासीलाई भने राज्यले संरक्षण गर्नुपर्ने तर्क पनि उत्तिकै रूपमा बलियो छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार