सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेश सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी गर्न थालेको हो । प्रदेश सरकारले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम संकलन गरिरहेको प्रदेश नीति तथा योजना आयोगले जानकारी दिएको छ ।
आयोगका उपाध्यक्ष डाक्टर जीवन रानाका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम संकलन गरिरहेको छ । उपाध्यक्ष रानाले भनिन्, ‘सबै मन्त्रालयबाट संकलन भइसकेपछि हामी नीति तथा योजना आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बसेर कुन कुन समेट्ने भनेर छलफल गर्छौँ । दुवै निकायको सहमतिअनुसार नीति तथा कार्यक्रम फाइनल हुन्छ ।’
उपाध्यक्ष रानाले यस पटकको नीति तथा कार्यक्रममा झिनामसिनाभन्दा पनि महत्वपूर्ण कार्यक्रम राखिने उल्लेख गरिन् । प्रदेश सरकारले जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ । यसैबीच प्रदेश सरकारले आगामी आवका लागि बजेटको सीमा अझै तयार गर्न बाँकी रहेको छ ।
बजेट सीमा तयार नहुँदै नीति तथा कार्यक्रमको तयारी भने सरकारले थालेको छ । संघबाट राजस्व बाँडफाँटको विवरण आइनपुगेकाले बजेट सीमालाई अन्तिम रूप दिन नसकेको आयोगका उपाध्यक्ष रानाको भनाइ छ । उनले अब दुई÷तीन दिनभित्रै राजस्व बाँडफाँटको विवरण आइपुग्ने अपेक्षा गर्दै भनिन्, ‘अनुमानित सीमा त हामीले निर्धारण गरिसकेका छौँ तर राजस्व बाँडफाँटको विवरण पनि आएमा मात्रै बजेटको सीमा पूरा हुन्छ ।’









प्रतिक्रिया दिनुहोस्