कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै वडा नम्बर १ देखि १५ सम्म रहेका सार्वजनिक, ऐलानी तथा सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका घर, टहरा र कम्पाउण्ड पर्खाल हटाउन १० दिनको समय सीमा दिएको छ ।
नगरपालिकाले वडा नम्बर १ देखि १५ सम्मका सार्वजनिक जग्गा र विशेषगरी वडा नम्बर ११ स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपासको अतिक्रमण हटाइने बताएको छ । तोकिएको समयभित्र सम्बन्धित व्यक्तिले संरचना नहटाएमा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले आफ्नै सक्रियतामा डोजर प्रयोग गरी ती संरचना भत्काउने उक्त सूचनामा उल्लेख छ ।
नगरपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र र नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबमोजिम यो कदम चालिएको हो । सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूचीमा सार्वजनिक जग्गाको डिजिटल अभिलेख राख्ने र अतिक्रमण नियन्त्रण गर्ने नीति लिएसँगै कोहलपुरले यसलाई कार्यान्वयनमा ल्याएको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘नगरपालिकाले संरचना भत्काउनु परेमा त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च समेत अतिक्रमणकारीबाटै सरकारी बाँकी सरह असुलउपर गरिनेछ ।’ साथै, अटेर गर्नेहरूमाथि प्रचलित कानुनअनुसार थप कारबाही समेत गरिने चेतावनी दिइएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर थापाद्वारा हस्ताक्षरित सो सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय र सबै वडा कार्यालयहरूलाई समेत पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस्