जुम्ला ।
जिल्लामा विद्युत् पहुँच विस्तार अपेक्षित रूपमा हुन नसक्दा अझै ठूलो सङ्ख्यामा घरधुरी अन्धकारमै बस्न बाध्य भएका छन् । जिल्लाभर रहेका १८ हजारभन्दा बढी घरधुरीमध्ये हालसम्म करिब ९ हजार घरधुरी मात्रै विद्युत् सेवाको पहुँचमा पुगेका छन् ।
स्थानीय तह तथा सम्बन्धित निकायका अनुसार भौगोलिक कठिनाइ, पूर्वाधार निर्माणमा ढिलाइ तथा बजेट अभावका कारण विद्युत् विस्तार कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । दुर्गम बस्तीहरूमा पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गर्ने काम चुनौतीपूर्ण हुँदा धेरै स्थान अझै सेवा बाहिर रहेका छन् ।
विद्युत् पहुँच नहुँदा स्थानीयवासी दाउरा र मट्टितेलमा निर्भर रहनुपरेको छ । यसले दैनिक जीवनयापन महँगो बनाएका छ भने स्वास्थ्य र वातावरणमा समेत नकारात्मक असर पारिरहेको स्थानीयको गुनासो छ । वैकल्पिक ऊर्जाका स्रोत—जस्तै सौर्य ऊर्जामार्फत अस्थायी रूपमा भए पनि सेवा विस्तार गर्ने प्रयास भइरहेको छ ।
भने विद्युत् पहुँच विस्तारलाई तीव्रता दिन सके मात्र जुम्लाको समग्र विकास, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । एक नगरपालिका र सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहका करिब ९ हजार घरधुरीमा विद्युत्को पहुँच पुगेको हो । जिल्लाको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका नौ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ललित मण्डलले जानकारी दिए ।
पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ ।
जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पु¥याउनका लागि काम भइरहेको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख मण्डलको भनाइ छ । उनका अनुसार जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार भइरहेको छ । बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।
त्यस्तै कनकासुन्दरी गाउँपालिका–१ र २ विद्युत्को लाइन विस्तार गर्नेका लागि अहिले काम भइरहेको विद्युत् वितरण केन्द्रका प्रमुख मण्डलले बताए । ‘भौगोलिक रूपमा विकट मानिने पातारासी गाउँपालिका सबैवडामा लघुजलविद्युत्को घरघरमा बत्ती बलेका छन्,’ उनले भने, ‘ती घरमा पनि चाँडै राष्ट्रिय लाइन जडान गरिने तयारी भइरहेको छ । यहाँका केही गाउँबस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको छ ।’
बाँकी रहेका घरधुरीमा पनि विद्युत् विस्तार गरिने विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख मण्डलले जानकारी दिए । विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका यहाँका स्थानीयले सहजता अनुभव गरेका छन् । तिला–१ का स्थानीय उपराज रावतले गाउँमा विद्युत्सँगै सूचना तथा सञ्चारको पहुँच विस्तार भएपछि गाउँलेहरूले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने गरेको बताए । जिल्लामा कूल जनसङ्ख्याको हालसम्म ५५ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्