काठमाडौँ ।
भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सिसिएल) सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोट्र्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० कर्पोरेट टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । सिंगल राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल ४७ खेल खेलाइनेछ ।
यसअघि प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको भेट्रान्स फोर्टी क्लबले तेस्रो संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक बनाउने लक्ष्य राखेको अध्यक्ष सन्तोष भण्डारीले बताए । प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताका अनुसार प्रतियोगिताको सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निष्पक्ष, व्यवस्थित र उच्चस्तरीय रूपमा प्रतियोगिता सञ्चालन गर्न आवश्यक सबै तयारी सम्पन्न गरिएको उनले जानकारी दिए । खेलाडी, अफिसियल तथा सहभागी टोलीलाई उत्कृष्ट खेल अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित प्राविधिक व्यवस्थापनलाई गुणस्तरीय र पारदर्शी बनाउन विशेष ध्यान दिइएको पनि गुप्ताले बताए ।
प्रतियोगिताको फाइनलअघि दर्शकको मनोरञ्जनका लागि कलाकार र कर्पोरेट एक्जिक्युटिभ्सबीच विशेष प्रदर्शनी (एक्जिबिसन) खेल आयोजना गरिनेछ । विजेता र उपविजेता टोलीलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट फिल्डर, उत्कृष्ट विकेटकिपर, फेयर प्ले टिम तथा सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्