छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु



कोहलपुर (बाँके) ।

बाँकेका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा भएका छुट्टछुट्टै दुर्घटनामा एक महिला र एकजना पुरुषको निधन भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बैजनाथ–३ नौवस्ताका अन्दाजी २६ वर्षीय अधिश थारु र जाजरकोट घर भई कोहलपुर १५ मा बस्दै आएकी अन्दाजी ५७ वर्षीया देवीसरा रावत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीले मृतक दुवैको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार शनिबार बिहान कोहलपुर– १५ एकलघरुवामा टिपरको ठक्कर रावतको मृत्यु भएको हो । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ की अन्दाजी ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु उनले बताए ।

मृतक रावत छेडागाड नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३० वर्षीय सुदिप आरसी घाइते भएका छन् । मृतक रावत र घाइते आरसी आफन्त हुन् । मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिने भे१थ ३२३२ नम्बरको टिप्पर र चालक टेकबहादुर विष्टलाई नियन्त्रणमा लिइएको उनले बताए ।

यसैगरी शनिबार नै कोहलपुर–१ चिसापानीमा बोलेरो गाडीको ठक्करबाट बैजनाथ–३ नौवस्ताका अन्दाजी २६ वर्षीय अधिश थारुको मृत्यु भएको छ । पैदलयात्री थारुलाई ठक्कर दिने कर्णाली प्रदेश ०२–००१ च १५७२ नम्बरको बोलेरो गाडीका चालक मुगुको खत्याड गाउँपालिका वडा नम्बर ५ का गोर्खबहादुर बुढालाई समेत नियन्त्रणमा लिइएको उनले बताए ।

यसैगरी कोहलपुर १० मा भएको दुर्घटनामा एक ६० वर्षीया महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा कालीकोटको रास्कोट नगरपालिका घर भएकी अन्दाजी ६० वर्षीया डल्ली सार्की रहेको सूचना अधिकारी पालतीको भनाइ छ । पैदलयात्री सार्कीलाई ठक्कर दिने से१ज ४९८ नम्बरको म्याजिक गाडीका चालक धिरबहादुर बुढालाई नियन्त्रणमा लिइएको उनले बताए । सार्कीको टाउको र निधारमा गम्भीर चोट लागेको छ । उनको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार