‘निर्माण आपत्काल’ घोषणा गर्न संघको माग



नेपालगन्ज ।

बाँके निर्माण व्यवसायी संघले इन्धन र निर्माण सामग्रीमा भएको अत्याधिक एवं अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण उद्योग पूर्ण रूपमा ठप्प हुने अवस्थामा पुगेको भन्दै ‘निर्माण आपत्काल’ घोषणा गर्न माग गरेको छ ।

संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीमा पटक–पटक मूल्यवृद्धि भएको र त्यसले निर्माण व्यवसाय प्रभावित भएको स्मरण गराइएको छ । यसका साथै निर्माणमा प्रयोग हुने बिटुमिन, सिमेन्ट र डण्डी जस्ता सामग्रीको मूल्य पनि अनियन्त्रित रूपमा बढेको र बजारमा अभाव समेत देखिन थालेको संघले जनाएको छ ।

निर्माणकार्य तीव्र गतिमा हुने मुख्य सिजनमै सामग्रीको अभाव र मूल्यवृद्धिले व्यवसायीहरू ठूलो आर्थिक भारमा परेका भन्दै संघले यस विषम परिस्थितिलाई मध्यनजर गर्दै ‘निर्माण आपत्काल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन नेपाल सरकार र सम्बन्धित निकायहरूसँग जोडदार माग गरेको छ ।

वर्तमान कानुनी व्यवस्थाअनुसार मूल्य समायोजन हुन नसक्दा व्यवसायीहरू थप मर्कामा परेका पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकको मूल्य सूचकाङ्क र बजारको वास्तविक मूल्यबीच ठूलो खाडल देखिएका कारण ठेक्काको मूल्य समायोजन अव्यवहारिक भएको विज्ञप्तिमा उल्लेख छ । अहिले देखिएको समस्या समाधानका लागि सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गरी पीडित व्यवसायीहरूलाई न्याय दिन माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार