चराको वासस्थान बन्दै देउखुरी



शिवु खनाल । दाङ ।

जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले नेपालमा दाङको देउखुरी क्षेत्रले अलग्गै पहिचान बनाएको छ । जैविक विविधताको संरक्षणमा विभिन्न प्रयास थालिएको हो । यो प्रयासले केही राम्रो प्रतिफल पनि दिएको छ । तर यसो हुँदाहुँदै पनि जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि क्षेत्रको विस्तार लगायतका कारणले वर्षौँदेखि नेपाललाई घर बनाइरहेका जीवजन्तुलाई बाँच्न चुनौती थपिएको छ ।

सिमसार क्षेत्रका चराहरू अत्यधिक संकटमा रहेका र घाँसेमैदान र वनमा आधारित चराहरूलाई संकट बढ्दो क्रममा रहेको पछिल्ला अध्ययनले देखाएका छन् । कृषिबालीमा प्रयोग गरिने विषादी र रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तन लगायतका कारणले चराहरूको संरक्षणमा चुनौती थपिएको विज्ञको ठम्याइ छ । समयमै उचित र ठोस प्रयास नगरेमा देउखुरीले गर्व गर्ने यी प्रजातिहरू लोप हुन सक्ने देखिन्छ ।

चराको वासस्थान संरक्षणमा चासो

पछिल्लो समय देउखुरीमा विभिन्न प्रजातिका चरा प्रशस्तै भेटिन थालेका छन् । नेपालमा पाइने आठ सय ८६ प्रजातिका चरामध्ये देउखुरीमा मात्रै ३५ प्रतिशत विभिन्न ३ सय १९ प्रजातिका चरा भेटिएका हुन् । देउखुरीको धार्मिक एवं पर्यटकीय स्थल अजम्मरी ताल क्षेत्रको जंगल, जखेरा, राप्तीनदी सिससार क्षेत्रहरू चराहरूले वासस्थान बनाएका छन् ।

वन क्षेत्रमा पाइने भएकाले अति संकटपूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाइराख्न स्थानीयवासीले आग्रह गरेका छन् ।चराप्रेमीले उक्त क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायले चासो दिनुपर्ने बताएका छन् । लमहीमा चराहरूका लागि उपयुक्त स्थान र वातावरण बनाउन सके चराको सङ्ख्या वृद्धि हुने डिभिजन वन कार्यालय देउखरीका वरिष्ठ फरेष्ट्री चिरञ्जिवी खनालले बताए ।

चरा संरक्षण र सङ्ख्या वृद्धिका लागि जैविक विविधता संरक्षण हुनुपर्ने खनालको भनाइ छ । उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका चराहरू संरक्षण गरी सङ्ख्या बढाउन सके पर्यटकहरू चरा अवलोकनका लागि देउखुरीमा आउने समेत बताए । ‘विभिन्न प्रजातिका चरा संरक्षणमा देउखुरीमा मुख्य चुनौतीका रूपमा वासस्थान विनाश, परिवर्तन र खानेपानीको अभाव देखिएको छ ।

छरपस्ट छरिएका विद्युतीय तार, वन डढेलो र अवैध सिकारले चरा संरक्षणमा समस्या देखिने गरेको छ ।’ खनालले भने, ‘उक्त समस्या समाधान गर्न स्थानीयस्तरमा व्यापक जनचेतना जगाउनुपर्ने छ ।’ नेपाल पन्छी संरक्षण संघको आयोजनामा लमही नगरस्तरीय पहिचान भएका महत्वपूर्ण चराहरूको वासस्थान क्षेत्रहरूको अनुमोदन तथा दिगो संरक्षण कार्यक्रममा सहभागीहरूले पर्यावरण र जैविक विविधतामा महत्व राख्ने चरा संरक्षणमा स्थानीय तह अन्तर्गतका सरोकारवाला निकायका जनप्रतिनिधिले जोड दिएका छन् ।

लमहीसहित देउखुरीका विभिन्न तालको सिमसार क्षेत्रमा यिनीहरूको वासस्थान रहने गरेको छ । सिमसार क्षेत्र, कृषिभूमि र घाँसेमैदानमा उक्त चराको वासस्थान रहने गर्छ । नेपाल पन्छी संरक्षण संघ परियोजना अधिकृत भुपाल नेपालीले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिँदै जाँदा वासस्थान विनाश र अव्यवस्थित रूपमा विषादीको प्रयोग लगायतका कारणले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पार्ने गरेको बताए ।

‘वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो ।’ अधिकृत नेपालीले भने । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले स्थानीयस्तरमा ताल वरपरका बासिन्दालाई पन्क्षीमैत्री वातावरण सिर्जना गर्न जनचेतनामूलक कार्यक्रम दिनुपर्नेमा जोड दिन आवश्यक रहेको बताए ।

उनले वातावरण र जैविक विविधताका बारेमा राजनीतिक दलका नेतालाई जानकारी गराई नीतिगत रूपमै सिमसार क्षेत्रको महत्वको बारेमा जानकारी दिनुपर्नेमा जोड दिँदै पर्यापर्यटनमा चराको ठूलो महत्व हुने भएकाले उनीहरूको वासस्थान जोगाइराख्न र हरेक वर्ष ती चरा नेपालमा आउने वातावरण बनाउनु उल्लेख गरे । विकाससँगै विनाश पनि आएकाले सिमसार क्षेत्र मासिँदै गएको उनको भनाइ थियो ।

लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले मानव जीवन, संस्कृति तथा पृथ्वीको पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेका चराहरूको संरक्षणमा सबैको यथेष्ट ध्यान पुग्न जरुरी रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले विश्वको पारिस्थितिकीय प्रणालीमा पराग कण संवाहक, बीउबिजन फैलाउने, सिनो खाएर वातावरण सफा राख्ने तथा इकोसिस्टम इन्जिनियरका रूपमा चराले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताए ।

लमही नगरपालिकाअन्तर्गत रहेका जखेराताल, रिहार, मध्यनगर, कप्तानगन्ज र सोनपुर क्षेत्रलाई चराहरूको महत्वपूर्ण वासस्थान क्षेत्र भएको अनुमोदन गरि स्थानीय निकाय साझेदारी संस्था र अन्य निकायको समन्वयमा दिगो संरक्षण र व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार