शासनसत्तामा लामो समयसम्म प्रभुत्व जमाएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएपछि नेपालको राजनीति र कर्मचारी वृत्त तरङ्गित भएको छ ।

काठमाडौँ ।
शासनसत्तामा लामो समयसम्म प्रभुत्व जमाएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएपछि नेपालको राजनीति र कर्मचारी वृत्त तरङ्गित भएको छ । सम्पत्ति शुद्धीकरणको अभियोगमा देउवा दम्पती तानिएपछि त्यसको असर थुप्रै राजनीतिक दलका नेता तथा कर्मचारीमा समेत पर्ने भन्दै उनीहरू संशकित भएका हुन् ।
सत्ता, पद र पहुँचको दुरूपयोग गरी नेपालमा थुप्रै व्यक्तिहरूले सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ । सुशासनको पक्षमा काम गर्दै आएको निकाय तथा नागरिक समाजका अगुवाहरूले थुप्रै राजनीतिक दलका नेता तथा कर्मचारीहरूको अस्वभाविक रूपमा सम्पत्ति वृद्धि भएकाले छानबिन हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।
बालेन्द्र शाहले सरकारको नेतृत्व गरेपछि पूर्वप्रधानमन्त्री समेत छानबिनमा तानिँदा अन्य व्यक्तिलाई पनि सोही दायरामा ल्याउन बाटो खुल्ने धेरैको अपेक्षा छ । नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण नै प्रमुख उपाय हुनेमा सुशासनका पक्षपातीहरू सहमत छन् । सम्पत्ति शुद्धीकरणको छानबिनको क्रममा मुख्य गरी आम्दानीको स्रोत र जम्मा गरिएको सम्पत्तिबीचको तुलनात्मक अध्ययन गरिन्छ ।
स्रोतबिना सम्पत्ति बढेको रहेछ भने त्यस्ता व्यक्ति कारबाहीको दायरामा आउनुपर्ने हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि २०४६ पछि सत्तामा पुगेका राजनीतिक दलका नेता, कार्यकर्ता तथा कर्मचारीलगायत, व्यापारीको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार आम नागरिकले रास्वपालाई मतदान गरेका थिए ।
गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान भइरहेको र सोही आधारमा पक्राउ पुर्जी जारी गरिएको हो । देउवा दम्पती भने हाल उपचारका लागि हङकङमा छन् । गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आगजनी घटनापछि यो विषय सबैको चासो बनेको थियो ।
आगलागीका क्रममा घरको केही भाग जलेको अवस्थामा ठूलो परिमाणमा नगद भेटिएको दाबी गर्दै सामाजिक सञ्जालमा भिडिओ र तस्बिरहरू सार्वजनिक भएका थिए । त्यस घटनामा देउवा दम्पती घाइते समेत भएका थिए ।
‘रेड कर्नर नोटिस’को तयारी
पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु हङकङमा रहेकाले उनीहरूलाई पक्राउ गर्र्न इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । जिल्ला अदालत काठमाडौँले पक्राउ अनुमति दिएपछि प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजी प्रक्रिया सुरु गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागका आधारमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले सम्पत्ति शुद्धीकरण विभागबाट प्राप्त पत्रका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने बताएको छ । रेड कर्नर नोटिस जारी हुनेबित्तिकै इन्टरपोल सदस्य राष्ट्रका सुरक्षा निकायले उनीहरूको खोजी र नियन्त्रणमा सहयोग गर्नुपर्छ ।
‘सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार’
नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्तिसम्बन्धी अनुसन्धानबारे सार्वजनिक भएको विषयलाई लिएर स्पष्टीकरण दिएका छन् । पूर्वसभापति देउवाले सामाजिक सञ्जालमार्फत आफू र परिवारबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार भएको दाबी गरेका छन् ।
देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको उल्लेख गरेका छन् । उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको भन्दै आफ्नो जीवन ‘खुला पुस्तक’ जस्तै रहेको उल्लेख गरेका छन् ।
भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न आफूले पहल गरेको देउवाको भनाइ छ । गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री रहँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराउँदै वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन् । देउवाले स्वास्थ्य उपचारका लागि हाल आफूहरू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी पनि दिएका छन् ।
यस्तो छ उनको विज्ञप्ति
आदरणीय दाजुभाई, दिदीबहिनी तथा साथीहरू,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु । देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ । मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ । स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।









प्रतिक्रिया दिनुहोस्