प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सापकोटा



पुस १६, भक्तपुर — नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा नेता सापकोटाले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेको कारण देउवाले राजीनामा दिनुको विकल्प नरहेको बताए । उनले नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले तथा सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्ने प्रस्ट्याए । बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शीर्ष दुई नेताले स्थायी रुपमै गर्ने उनले बताए । अहिले भइरहेको भ्रष्टाचारको एक, एक हिसाब चाहिने भन्दै उनले भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमितामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरिसकेको कारण अब निर्वाचन आयोगले ‘फास्ट ट्याक’बाट भए पनि राष्ट्रियसभा गठनका लागि निर्वाचन गराउन पहल गर्नुपर्ने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार