राजेन्द्र प्रसाद धिताल
चौधरी बाजेको घरमा हाम्रो बास सुनिश्चित भएको छ । खेतको बीच छ यो घर।हामी ठाटीमा बस्ने भएका छौं । ठाटीमा जानको लागि काठको लिस्नु ठड्याइएको छ । लिस्नु मार्फत हामी ठाटीमा जान्छौं । बुबा, कान्छोबुबा र बज्यू सरसामान मिलाउन थाल्नु हुन्छ । जेठा बाजे र बज्यै पनि बज्यूलाई सहयोग गर्न जुट्नु भएको छ । म नौलो मानेर सबैतिर नियाली रहेको छु । मेरा साथमा अरु साथमा जेठा बाजेका छोराहरु छन । अब उनीहरूसग पूरै परिचित भइसकेको छु । उनीहरूसग खेल्दा मलाई आनन्द आएको छ।हामी बस्ने घरभन्दा पूर्वतिर दुइवटा घर छन् । तलतिर पनि दुइवटा घर छन् । ती घर कस्का हुन मलाई थाहा हुन सकेको छैन । सबै घरका मान्छेहरू हामी बसेको ठाउमा आएका छन् । आगनमा धेरै मान्छेहरु जम्मा भएका छन् । मेरा पनि नयाँ नयाँ साथीहरू बनिरहेका छन् । दिउँसोको समय छ । यो नयाँ ठाउमा हामीले नयाँ मान्छेहरुलाई आफन्तका रुपमा भेटाएका छौँ । ठाटी घरको माथिल्लो तलाको भुइँलाई बज्यूले गोबरमाटोले राम्रोसँग लिप्नु भयो । कान्छोबुबाले जेठा बाजेका घरबाट एक भारी दाउरा ल्याउनु भयो । बाहिरीफेरामा चुलोको प्रबन्ध गरियो । भित्रीफेरामा सुत्ने ठाउँको प्रबन्ध गरियो ।
एकातिर बज्यू र म सुत्ने भयौं अर्कातिर पिताजी र कान्छोबुबा सुत्ने हुनुभयो । बिस्तारा बाक्लो बनाउन नजिकैको खल्यानबाट कान्छोबुबाले प्रशस्त पराल ल्याउनु भयो । परालमाथि ओछ्यान लगाएर हाम्रो आरामदायी सयनकक्ष तयार भयो । साझतिर बज्यूले छिटै दालभात पकाउनु भयो । नयाँ छिमेकीहरुले कद्दु, मुला र हरियो साग दिनुभएको रहेछ बज्यूले मिठो तरकारी बनाउनु भयो । खाना खाने बेला भएपछि छिमेकीहरु आ–आफ्नो घरतिर गए, हामीले खाना खायौं । राति चुलोमा बालेको आगो ताप्दै बज्यू, पिताजी र कान्छोबुबाले अबेरसम्म सुखदुःखका कुरा गर्नु भयो । बाटोमा भोगेका समस्याहरु, जुम्लास्थित घरको अवस्था, भोलिपल्टबाट गर्नुपर्ने कामा राति अबेर हामी ओछ्यानमा जान्छौं । ओछ्यानमा जानेबित्तिकै म भुसुक्क निदाउछु । बिहान उठ्छु त सबै उठिसकेका छन् । बज्यू आगो बाल्न थाल्नु भएको छ । पिताजी कताबाट ठूलै डल्लो गुड ल्याउनु भएको छ । खैरका ससाना टुक्रा र गुड पानीमा हालेर बज्यू चिया पकाउनु हुन्छ । जुम्लाबाट ल्याएको फापरको ढेस्सु बचेको छ । पिताजीले पहिलेदेखि नै ससाना कप राख्नु भएको छ । बज्यू कपमा चिया राख्नु हुन्छ । चौधरी बाजे, ज्योतिषजीहरु लगायत अरु छिमेकीहरु आउनुहन्छ । सबैजना खयर हालेर बनाएको चिया र ढेस्सु मिठो मानेर खान्छन् म पनि सबैजनाका साथमा बसेर चिया खान पाउदा मक्ख परेको छु । साच्चै भनू भने मैले यो चिया भन्ने कुरा पहिलोपटक खान पाएको छु ।
चिया खायौं । अब हाम्रो बसाइको नयाँ लय सुरु हुन थालेको छ।यहाँको जनजीवनसग हामी जोडिन थालेका छौँ ।सबैजना लिस्नुबाट तल झर्छन । बज्यूलाई पिताजी हाम्रो खेतबारी देखाउन थाल्नु हुन्छ । म उत्सुकताका साथ बज्यूको पछिपछि लाग्छु । आगनको छेउ नजिकै सीमा जोडिएको खेत हाम्रो रहेछ । पिताजीले बज्यूलाई खेतको छेउकुना सबै देखाउनु हुन्छ । चौधरी बाजे पनि सगसगै हिड्नु भएको छ । चौधरी बाजे यो बस्तीजङ्गल फडानी गरेर बसालेको नयाँ बस्ती हो भन्नु हुन्छ । यो बस्ती बसाल्न उहाँका बलिया भाइहरुको पौरख पोखिएको रहेछ । भर्खरै जङ्गल फडानी गरिएको हुनाले स–साना रुख बुट्यानहरु खेतमा छदै थिए । बेत र कासको घारी छदै थियो । सबै खेत हेरीसकेपछि हामी आगनमा फक्र्यौ । आगनमा धानका ठूल्ठूला कुन्यु लगाइएका छन् । अब धान दाउने तयारी हुन थालेको छ । यसपटक हाम्रो खेत तौलाहा थारुले लगाउनु भएको छ । तौलाहा मोटो र हसिलो मान्छे हुनुहुन्छ । उहाँका साथमा अरु दुई जना पुरुष र दुईजाना जति महिलाहर छन् । मजस्तै केटाकेटीहरु पनि आएका छन् । तीन जोडी सेता गोरु लहरै जोडेर उनीहरू धान दाउन थाले । म कहिले गोरुका पछिपछि डौद्छु त कहिले खेल्छु । तराई मलाई राम्रो लाग्न थालेको छ । ठूला मान्छेहरु घर व्यवहारको दौडधुपमा छन् । पिताजी भाडाकुडा, दाउरा, दाल, तेल, नून आदि खाद्य पदार्थ जुटाउन व्यस्त हुनुहुन्छ ।
बज्यूलाई चिया, नास्ता, खाना बनाउन र घर लिपपोत गर्न भ्याइनभ्याई छ । कान्छोबुबाले टोलमा आफ्नै उमेरका साथी बनाउनु भएको छ।मेरो पनि आफ्नै बालसंसार तयार भएको छ । बिहानैबाट धान दाउने क्रम धेरै दिनदेखि जारी छ।एकबिहानै खल्यानमा मान्छेहरु जम्मा भइसकेका हुन्छन् । सबैजना परालको भुसा बालेर आगो ताप्न बसेका हुन्छन् । सबैतिर खल्यानमा आगो बालेर मान्छे जम्मा भएको देखिन्छ । हाम्रो खल्यानमा पनि सधैजसो मानिसहरू जम्मा भइरहेका हुन्छन् । तौलाहा काकाले घरबाट मकै ल्याएका हुन्छन् । तिनका ससाना केटाकेटीहरु आगोमा मकै हाल्छन् । मकै ठूल्ठूलो आवाजमा फुर्न थाल्छ । यसरी फुराएको मकैलाई कौरा भनिदो रहेछ । कौरा खाएको दृश्यले मलाई लोभ्याउन थाल्यो । मैले पनि कौरा खाने रहर गर्न थाले ।मेरो रहर देखेर तौलाहा काकाले मलाई पनि फुराउनका लागि मकै दिनुभयो । म पनि कौरा फुराएर रमाउन थाले । अब म बिस्तारै अरुअरु परिचित बाल साथीहरूसग घुलमिल हुन थालेको छु । कहिले कौरा खाएर रमाएको हुन्छु त कहिले गुच्चा खेलमा सहभागी भएको हुन्छु । आफूभन्दा ठूला दाइहरुका खेल र रसरङ्गमा रमाउन थालेको छु । धान दाउने क्रम जारी रहन्छ । एक छेउमा धानको रास ठड्याइएको छ । धानको सुरक्षाका लागि खल्यानमै परालको सानो घर बनेको छ ।
अब हाम्रो घरमा जुम्लाबाट हाट हिडेका मान्छेहरु आउन थाल्छन् । मान्छेहरु सुत्नका लागि घरमा ठाउँ पुग्दैन । खल्यानमै परालका झुप्राहरु बन्छन् । परालको ओछ्यानमा लहरै मान्छेहरु सुतेका हुन्छन् । कसैले देउडा गाएका हुन्छन् । कसैले कथा कहानी भनेका हुन्छन् । म पनि कहिलेकाही कान्छोबुबासगै खल्यानमा सुत्न थाल्छु । मेरा लागि खल्यान अब रङ्ग स्थल बनेको हुन्छ । कम्तीमा १ महिना जतिमा धान दाएर सकिन्छ । तौलाहा काकाको पूरै परिवार धान केलाउन व्यस्त हुन्छ । केलाएर सफा बनाएको धानको रासलाई दुई भाग लगाइन्छ । १ खेती लगाए बापत तौलाहा काकाको हुन्छ त १ भाग हाम्रो हुन्छ । धान बाड्ने काम हुन्छ । यसलाई थारु भाषामा बटैया गरेको भनिदो रहेछ । बटैया गरिसकेपछि हाम्रो भागको धान आधा खानको लागि राखिन्छ र बाकी काठको पाङ्ग्रा भएको गोरुले तान्ने लडियामा राखेर बेच्नका लागि पिताजी राजापुर बजारतिर जानु हुन्छ । म र कान्छोबुबा लडियाको पछिपछि बुडीकुलाको किनारसम्म जान्छौं । बाटामा लडियाका ताती भेटिन्छन् । बुढीकुलाको किनारबाट हामी घरतिर फर्कन्छौ । पिताजी बुढीकुलाको किनारैकिनार राजापुरतिर जानुहुन्छ । यी लडियाका लहर कहाँबाट बुढीकुलो तर्ने हुन मलाई थाहा छैन । राजापुर कहाँ छ मलाई त्यो पनि थाहा छैन । तर मलाई राजापुर भव्य हाट हो भन्ने थाहा छ।मैले जुम्ला हुँदैबाट राजापुर हाटको बारेमा धेरै वयान सुनेको छु । मलाई पनि राजापुर जाने उत्कट रहर छ । यसपटक यो रहर अधुरै रह्यो । अधुरो रहर मनभित्रै साचेर कान्छोबुबा र म घरतिर फर्कन्छौ ।
दोस्रो दिन पिताजी राजापुरबाट आउनु भएको छ । साथमा तौलाहा काका पनि हुनुहुन्छ । तौलाहा काका लडियाबाट सामान झिक्नु हुन्छ । सामान ठाटीमाथि भित्री कोठामा राखिन्छ । प्लास्टिकको ठूलो जर्किनमा खाने तेल छ । अर्को झर्किनभरि मट्टीतेल राखिएको छ । राति बाल्नको लागि नयाँ लालटिन ल्याउनु भएको छ । मलाई लालटिन समातेर साथीहरूलाई देखाउन जाऊ जस्तो लाग्छ । बज्यू बोरा खोल्नु हुन्छ । प्लास्टिकका पोकामा चिनी छ, गुड छ । नून, चिया, पत्ती र अलिकति मरमसलाका पोकाहरु छन् । बज्यूको लागि ओढ्ने खास्टोको पच्यौरा, चोलो सिउने कपडा र धोती ल्याउनु भएको छ । कान्छोबुबा र मेरा लागि रङ्गीचङ्गी सुइटर ल्याउनु भएको छ । म सुइटर ओल्टाइपल्टाई हेर्छु । मलाई असाध्यै मन पर्छ । अहिल्यै लगाएर टोलभरि घुमूझै लाग्छ । बज्यू एकएक गरेर सामान खोल्दै हुनुहुन्छ । पिताजी नजिकै ओछ्यानमा विश्राम गर्दै हुनुहुन्छ । कान्छोबुबा र म हेरिरहेका छौ।बज्यूले बोराबाट गोट्टाको पोको निकाल्नु भयो । पोको फुकालेर ४ र ४ वटा गोट्टा मलाई र कान्छोबुबालाई दिनुभयो । मैले गोट्टा खाए । आहा १ कति छ गोट्टाको स्वाद । म पिताजीको छेउमा गए । उहाँको काखमा लडिबुडी गर्दै मैले राजापुर कस्तो छ भनेर जिज्ञासा राखे । पिताजीले मलाई राजापुरको रौनक बर्णन गर्न थाल्नु भयो । ममा राजापुर हेर्ने रहर झनै तीव्र हुँदै गयो।









प्रतिक्रिया दिनुहोस्