पुष्पमणि प्रधान
सुन्तलीले कान्छा छोरा राजुलाई निधारमा पानी पट्टी बाधिदिदै घरको मुल ढोकाबाट यसो यता उता आँखा दौडाइ। यसका बाबा पल्लो गाउँमा गएका अहिले सम्म आएका छैनन् । उफ ! कस्तो फसाद! आफूलाई कस्तो पीर परिसक्यो। छोराको ज्वरो झन झन बढिरहेको छ निधार शरिर तातो भएर आएको छ। अघि नै एक चककी सिटामोल खुवाएको ज्वरो बिसको उन्नाइस भएको छैन –––आखाभरी आंशु पारेर निराशाको स्वरमा मन मनै भनी । राजुको बा हर्के , हतार हतार घरमा आएर थ्याच्च भुइँमा बस्यो र सुन्तलीतिर हेर्दै उसले भन्यो – सानुलाई कस्तो छ? ज्वरो झरेको छैन ? अलिक बिसेक भा ’छैन ? ? अंह, ज्वरो कहाँ कम हुनु ? झनझन जवरोले च्यापी रहेछ। लौन राजुको बा यसलाई अब चाँडै अस्पतालमा चेकजाँच गर्न लैजाऊ। हेर यो कति लुते र कमजोर भैसक्यो।खाना पनि केही खान मन गर्दैन। बोल्न पनि कम बोल्छ टुलुटुलु हेरेर मात्र बस्छ। लौ न नि, राजुको बा चाँडो गर छिटोभन्दा छिटो डाक्टरकोमा लिएर जांऊ। आँखाबाट आंशूका थोपाहरु तप तपी झार्दै आंशुसरीको स्वरमा भनी । ल – ल , म राजुलाई लिएर अस्पतालमा डाक्टर साहेब सग चेकजाँच गर्न जान्छु।तिमी घरमा नै बसी राख है। ऊ छोरालाई बोकेर कोठा बाहिर निस्कियो। सुन्तलीले घरको ढोका खोलेर बाबु छोरालाई बिदा गरयो र उनीहरू ओझेल नपरुनजेल सम्म एक नजरले हेरीरही। हर्के छोरालाई बोकेर सडकमा हिडीरहयो। चारैतिर हेर्यो सडकमा सुनसान र चकमन्न छ। रिक्सा टेम्पो केही चलेको छैन एका दुई मोटरसाइकलहरु कुदेका छन ।मानिसहरु पैदल र साइकलमा कुदीरहेका छन। एका दुई पान पसल भात खाने बाबा होटलहरु मात्र खुला छन । हर्केले मन मनै सोच्यो – आज किन बजारमा पसलहरू बन्द छन्, सडकमा मान्छेहरुको भिड भाड छैन ? अघि एक दुई घण्टा अगाडि सम्म पसलहरू खुला थिए, किनबेच भइरहेको थियो तर अचानक सडकमा मानिसहरूको चहलपहल छैन सुनसान , डरत्रासको माहोल सिर्जना भएको छ। चारैतिर प्रहरी नै प्रहरीको गस्ती छ।
केही क्षणको पैदलयात्रा पछि हर्के छोरा राजुलाई बोकेर अस्पतालमा पुग्यो। अस्पतालमा पनि सुनसान र चकमन्न थियो। डाक्टर साहेब चेकजाँच कोठामा थिएनन्। केही बिरामीहरू अस्पतालको बरण्डामा बसी रहेका , भुइँमा लम्पसार परेर सुती रहेका थिए। हर्केले कोठाको ढोका छेउमा बसेको पालेलाइ सोध्यो –ए पाले भाइ, डाक्टर साहेब कता जानु भयोे? यहाँ कोठामा त हुनुहुन्न? कहाँ जानु भयोे हो?? ए डाक्टर साहेब त चिया नास्ता खान जानु भएको छ –पालेले छोटो उत्तर दियो। ए पाले भाइ , लौ नि! अलिक चाँडो बोलाई देउन मेरो छोरालाई तीन चार दिन देखि ज्वरोले थलिएको छ । ज्वरो झर्दै झर्दैन। हर्के अस्पतालको भुइँमा थ्याच्च बस्यो, उसको वरिपरि अन्य बिरामीहरू बसी रहेका, सुती रहेका थिए।ऊ पनि तेही भीडभाडमा मिसियो। हर्केले छोराको मुहार सुम्सुम्याएर हेर्यो।छोराले एकहोरो टुलुटुलु आँखा मात्र हेरीरहेको छ। उसको शरीर तातो छ ।निधार र शरीर भरी पसिनै पसिना आएको छ। केही झण पछि डाक्टर साहेब पनि आउनु भयोे। हर्केले छोरा लिएर डाक्टर साहेब लाइ चेकजाँच गराउन काठको बेणचमा बस्यो। डाक्टर साहेबले ईसटेथोसकोप छातीमा पछाडि ढाडमा लगाए।हातको नाडी र निधारमा छामे।राजुको मुख जिब्रो दात नियाली हेरेर डाक्टर साहेबले हर्के तिर हेर्दै सोधे –– यिनलाई ज्वरो कहिले देखि आएको?
खै तिनचार दिन भयोे।उसले डराउदै गराउदै भन्यो। अब धेरै चिन्ता लिनु पर्दैन, मैले पर्चामा लेखीदिएको औषधी किनेर खुवाउनु ठिक हुन्छ “ डाक्टर साहेबले सान्तवना दिने कोसिस गरे। हर्केले नमस्कार सर भन्दै छोरालाई बोकेर हतार हतार ऊ औषधि पसलतिर लाग्यो। ए पसले भाइ ! यो औषधिहरु दिनु त पर्चा तेरसाउदै हर्केले नम्र भएर भन्यो। ,यो डाक्टर साहेबले लेखेको औषधि त छैन दाइ तर यस्तै काम गर्ने अर्कै कम्पनीको औषधि छ दिऊ? पसले भाइले भन्यो हर्के अक्क न बकक भयोे,उसले केही कुरा बुझेन मौन रह्यो। पसले एउटा ६०एम. एल. को पारासेटामोलको सिसी देखाउँदै भन्यो –– यो ज्वरोको औषधि हो दिनमा तीन चोटि खुवाउने भन्दै बाहिरी खोलमा चिन्ह लगाइ दियो। अर्को सिसी देखाउँदै यो भिटामिन बि. सिरप हो। यो पनि खाना खाएर बिहान बेलुका दश एम. एल. दुई ढक्कन खाने भनेर भनी दियो। हर्केले सवै बिलको भुक्तानी गरयो। आफनो छोरा राजु र औषधि बोकेर हतार हतार घरतिर पाईला बढायो। रात झमक्क परिसकेको थियो चारैतिर कालो अन्धकार रात र सुनसान थियो।उसले चारैतिर नजर दौडायो कतै रिक्सा टेम्पो पाईन्छ कि तर कति बाटोमा हेर्दा पनि पाइएन।ऊ आफनो प्राण भन्दा प्यारो छोरालाई कांधमा बोकेर हतार हतार घरतिर पाइला बढायो। मान्छेहरु सडकमा आ आफ्नो धुनमा हिडिरहेका थिए। सडकमा सुनसान र डर त्रासको वातावरण प्राय पसलहरू बन्द छन् मान्छेहरुको भिड भाड र हो हल्ला कम छ। चारैतिर प्रहरी आर्मीको हुलका हुल एसेलार ,मेसिनगन बोकेर पहरा गस्ती दिइरहेको छ। प्रहरीहरुले भिडभाडमा चेकजाँच गरीरहेका छन्।
उनीहरुको आँखामा क्रोध शंखा उपशंखा प्रष्टै देखिन्छ। हर्के पनि मनमनमा डर त्रास लिएर पाइला बढाईरहेको थियो।अचानक एकाससी बन्दुक चलेको आवाज जोड जोडले ड्याम ड्याम्म –––आइरह्यो। मान्छेहरु सडकमा चित्कार हाहाकार गर्दै भाग्न थाले बन्दुक चलेको दोहोरो आवाज जोड जोडले ड्याम ड्याम्म आउन थाल्यो। अचानक बन्दुकको गोली आएर हर्के र छोराको टाउको छातीमा लाग्यो।उनीहरु ठाउको ठाउँमा नै ढली हाले। हर्केले छोरालाई च्याप्प समातेको समातेकै ढलयो।उसका आँखाबाट आशूका थोपाहरु बहीरहेको थियो।बाबु छोराको प्राण पखेरु उडी हाल्यो। उसको दाहिने हातमा पलाष्टिकका झोलामा औषधीहरु थिए।एकै क्षणमा हाहाकार र १४४धारा कर्फयू लाग्यो।सडकमा सुनसान र चकमन्न छायो। मुल सडक किनारमा हर्के र छोरो राजुको अंगभंग मृत शरीरबाट रगत बसीरहेको थियो। दुबैको शरीर लम्पसार परेर उतानै परेको थियो। हर्केले एउटा हातले छोरालाई र अर्को हातले औषधिको पोका समाती रहेको थियो। सुन्तली आँखाभरी मनभरी डर त्रासको बलिद्र आँशुका धाराहरु लिएर अन्धकार राती अवेरसम्म प्राणभन्दा प्यारो बाबु छोराको प्रतिक्षामा एक्लै बसीरही, बसीरही। भोलीपल्ट बिहान प्रत्येक राष्टिय दैनिक समाचार पत्रिकाको पहिलो पन्नामा दुई बाबु छोराको फोटो सहित लेखिएको थियो ––“दुइ आतंककारीको मुठभेडमा मृत्यु “ !!









प्रतिक्रिया दिनुहोस्