जुम्ला ।
यस पटकको माध्यमिक शिक्षा परिक्षा (एसइई)मा जुम्लाबाट दुई हजार २५५ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षा चैत १९ गतेबाट सुरु हुने भएको छ । एसइईमा २०८२ का लागि जुम्लाका १४ वटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ जिल्लाका ५२ वटा माध्यमिक विद्यालयका विद्यार्थीले परीक्षा दिँदै छन् ।
१४ वटा परीक्षा केन्द्रमा खटिने केद्राध्यक्षलाई सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको सभाध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा केन्द्राध्यक्षहरूलाई एसइई सञ्चालनबारे अभिमुखीकरण गराइएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रछाने लोहारका अनुसार जुम्लाबाट कूल दुई हजार २५५ विद्यार्थीले एसइई दिन लागेका हुन्। ‘एसइईलाई मर्यादित बनाउनका लागि केद्राध्यक्षलाई अभिमुखीकरण गराईएको छ,’ उनले भने, ‘विगतका परीक्षा के कस्ता भए, त्यो समीक्षाको विषय होला । तर अब हुने परीक्षा निकै मर्यादित हुनपर्छ भन्ने हो । देशमा जसरी सुशासनको अभियान चलेको छ । त्यसरीनै परीक्षामा पनि सुशासन कायम गर्नुपर्छ ।’
उत्पादित जनशक्ति बजारमा बिक्ने र टिक्ने बनाउन शिक्षामै सुधार गर्नुपर्ने उनको भनाइ छ । नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाँईले एसइईलाई मर्यादित र निष्पक्ष बनाउन सबै सरोकारवालाहरूले ध्यान दिनु पर्ने बताए । परीक्षा मर्यादित बनाउन खटिने कर्मचारीहरूबाटै अमर्यादित गतिविधि हुने भएकाले सूक्ष्म अनुगन गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखले परीक्षालाई मर्यादित बनाउने कुरामा दुईमत नरहेको बताए । चिट चोराउने प्रवृत्ति जताततै रहेकाले जुम्लामा त्यस्तो कतै भेटिए कडा कारबाही हुने समेत प्रजिअ पौडेलले चेतावनी दिएका छन् ।
हुम्लाबाट १३ सय विद्यार्थीले एसइई दिँदै
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाबाट एक हजार ३०० जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् । निमित्त शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खड्गबहादुर हमालका अनुसार जिल्लाभर रहेका ३२ वटा माध्यामिक विद्यालयका सात वटा परीक्षा केन्द्रमा गरी एक हजार ३०० विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
जिल्लाभरका ३२ वटा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आधारमा सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सात वटा स्थानीय तह रहेको हुम्लामा नाम्खा र चङ्खेली गाउँपालिकाबाहेक अन्य पाँच गाउँपालिकामा परीक्षा केन्द्र तोकिएका हमालले बताए । सिमकोट र सर्केगाड गाउँपालिकामा दुई÷दुई वटा परीक्षा केन्द्र तोकिएका छन् भने अन्यमा एक रहेका छन् ।
परीक्षा केन्द्रमा सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा नियमिततर्फ १३३ र ग्रेड वृद्धितर्फ ३२ जना रहेका छन् । त्यस्तै, सोही गाउँपालिकाको मानसरोवर माध्यामिक विद्यालयमा नियमिततर्फका १४३ र ग्रेड वृद्धितर्फका ९९ जनाले सहभागिता जनाउने छन् । हिमज्योति माध्यामिक विद्यालय सर्केगाड केन्द्रमा १९१ जना नियमित र २२ जना ग्रेड वृद्धिका गरी २१३ जना परीक्षार्थी, कोट मावि रोडिकोटमा १०६ जना नियमिततर्फका विद्यार्थी छन् भने ग्रेड वृद्धिका विद्यार्थी नभएका उनले जानकारी दिए ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको सूर्योदय माध्यामिक विद्यालयमा १४० जना नियमिततर्फका विद्यार्थी रहेका छन् भने ३६ जना ग्रेड वृद्धिका, मदनदेव माविमा २०५ नियमित र ८७ ग्रेड वृद्धिका र सीता मावि खार्पुनाथमा ७९ नियमित तथा २७ ग्रेड वृद्धिका गरी एक हजार ३०० जना परीक्षामा सहभागी हुने उनले बताए ।
परीक्षालाई मर्यादित बनाउनका लागि जिल्लाका सातवटै गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखसँग समन्वय भइरहेको बताउँदै प्रश्नपत्र सम्बन्धित स्थानीय तहका प्रहरी चौकीमा र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको निमित्त इकाइ प्रमुख हमालले बताए । गत वर्ष चैत सात गतेदेखि भएको परीक्षामा एक हजार १०४ जना सहभागी भएका थिए ।









प्रतिक्रिया दिनुहोस्