नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा खाना तथा पेय पदार्थको हाटबजार ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना गरिने भएको छ । वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने उक्त फेस्टिभल होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके (हान)को संयुक्त आयोजनामा हुन लागेको हो ।
स्थानीय पुष्पलाल चोक नजिक ‘सुशील कोइराला स्मृति गेट’देखि पश्चिम वाटरपार्कसम्मको क्षेत्रमा फेस्टिभल सञ्चालन गर्न लागिएको नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । फेस्टिभलमा स्थानीय स्वादिष्ट स्ट्रीट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार र पेय पदार्थका साथै संस्कृति तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य राखिएको होटल संघ नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनालले जानकारी दिए ।
यसैगरी, पर्यटन, धार्मिक स्थलको प्रचार–प्रसार तथा प्रर्वद्धन, स्थानीय परिकारको पहिचान, होटल व्यवसायको विकास, छिमेकी राष्ट्र भारतको बोर्डरबाट बढीभन्दा बढी पर्यटकलाई भित्राउने, तारे होटलका खानालाई एकै ठाउँबाट प्रर्वद्धन गरी यहाँको व्यापारलाई चलायमान गराउने विश्वास लिइएको छ ।
होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेलले फेस्टिभलले सामाजिक सेवा तथा आम उपभोक्ताहरूको हितलाई ध्यानमा राखी गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने, लोक संस्कृति, कलाको विकास र उत्थानमा क्रियाशील पर्यटन व्यवसायको अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए । फेस्टिभललाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि दुई सय ५१ सदस्यीय मूल समिति तथा विभिन्न १७ उपसमिति गठन गरिएको पनि आयोजकले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्