सम्पादकीयः पहिचानसहितको शपथ



प्रतिनिधिसभाका नवनिर्वाचित केही सांसदहरूले बिहीबार आआफ्नो जातीय पोसाकमा सजिएर पद तथा गोपनीयताको शपथ लिएका छन् । आफ्नो पहिचान झल्काउने जातीय पोसाक र संस्कृति झल्काउने भेषभूषाका साथै कतिपय सांसदहरूले मातृभाषामा समेत शपथ लिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सबै सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । जसमा ६३ जना सांसदहरूले भने आफ्नै मातृभाषामा शपथ लिएका थिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् फागुन २१ गते भएको निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यस पटक भने संसद्मा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहारहरू धेरै देखिन्थे । सांसदहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएसँगै अब सरकार निमार्णको कार्य अघि बढ्ने छ । अर्काेतर्फ सांसद्हरूले पद तथा गोपनीयताको शपथ लिन संसद् भवन पुग्दा जातीय पोसाकमा सजिएर विभिन्न भेषभूषाका साथ मातृभाषामा शपथ लिनु सकरात्मक कुरा हो । तर, नेपाली मातृभाषा र भेषभूषा एक दिन लगाएर मात्रै यसको संरक्षण हुँदैन् । पछिल्लो समय मातृभाषा र स्वदेशी पहिचानसहितको भेषभूषाहरू हराउँदै गइरहेका छन् ।

त्यसैले अबको बन्ने नयाँ सरकार र सांसदहरूले मातृभाषा, भेषभूषा, कला र संस्कृति संरक्षण गर्नका लागि राम्रो ऐनहरू निर्माण गर्न आवश्क देखिन्छ । मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्यविधिका माध्यमबाट सुनिश्चित गर्ने थलो पनि हो । प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथपछि सांसदहरूलाई प्रतीक चिन्ह (लोगो) र ब्याज पनि वितरण गरिएको छ । त्यसले थप जिम्मेवार बनाउने र जनताप्रति उत्तरदायित्व बहन गर्नुपर्ने दायित्व बोध गारउन मद्दत पुग्ने विश्वास छ । नयाँ अनुहार र पुस्ताबाट जनताहरूले धेरै आशा र भरोसा गरेका छन् । अझ भनौँ जेनजी आन्दोलनपश्चात् नेपाली नागरिकहरूले स्थायी र सुशासन सरकारको अपेक्षा गरेका छन् । विगतमा सधैँ सत्ताको खिचातानी र गलत राजनीति अभ्यासले आजित भएका नागरिकहरूले अहिले अधिकांश नयाँ अनुहार चुनेका छन् । आफूले चुनेका जनप्रतिनिधिबाट नागरिकहरूले सुशासन, पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेका छन् ।

त्यसैले नवर्निवाचित सांसदहरूले राष्ट्र, राष्ट्रियता र नेपाली जनतामा निहीत रहने छु भनेर खाएको पद तथा गोपनीयताको शपथ व्यवहारमा लागू गर्न जरुरी छ । अर्काेतर्फ जेनजी सहिदहरूको बलिदानपश्चात् भएको अहिले निर्वाचनबाट निर्वाचित सांसदहरूले अझ जिम्मेवार भएर प्रस्तुत हुन आवश्यक देखिन्छ । सुशासन, पारदर्शिता र जेवाफदेहिताको माग गर्दै सहिद भएकाहरूको सपना पूरा गर्नुपर्छ । जेनजी आन्दोलनमा ज्यान गुमाएका ७६ जनासहितको बलिदानमा टेकेर निर्वाचित भएका जनप्रतिनिधिले उनीहरूको न्याय र परिवारको सम्मानका लागि काम गर्न आवश्यक छ । पुछिएका सिन्दूर, रित्तिएका कोख, मासिएका वंशको न्यायका लागि सबैले शपथ खाए जसरी व्यवहारमा लागू गर्न जरुरी देखिन्छ । र, विगत लामो सयमदेखि थन्किएर बसेका र अहिलेको आवश्यताअनुसार नयाँ प्रतिनिधिसभाले ऐन र कानुन निमार्ण गर्नुपर्छ । अहिलेका नयाँ अनुहारबाट जनताका धेरै अपेक्षा र इच्छाहरू रहेकाले निर्वाचित गराएका छन् । त्यसैले पनि जनताको मर्म र भावनाअनुसार काम गर्नुपर्ने देखिन्छ । अबको जनप्रतिनिधिहरूले प्रतिनिधिसभामा निर्माण गर्ने ऐन र कानुनहरू दूर दृष्टि राखेर निर्माण गर्नुपर्छ । जसले गर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुन्छ । त्यसैले सधैँ जनताप्रति उत्तरदायी र असल कर्म गरेको आम नेपाली नागरिकले देख्न पाउन्, निर्वाचित सबै सांसदहरूलाई सफल कार्यकालको शुभकामना ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार