सम्पादकीयः नयाँ बन्ने सरकारबाट अपेक्षा



देश अहिले नयाँ राजनीतिक परिवर्तनको मुखमा छ । गत भदौ २३ र २४ गते भएको अप्रत्यासित जेनजी आन्दोलनपश्चात् देशमा सिर्जना भएको नयाँ राजनीतिक परिवर्तनसँगै तत्कालीन प्रतिनिधिसभा विघटन भएर फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचनमार्फत जनप्रतिनिधिहरू जनताबाट अनुमोदन भएर आएका छन् । योसँगै देशले एक राजनीतिक अवस्थाको परिवर्तन पाएको छ । धेरै पुराना र इतिहास बोकेका राजनीतिक दल र तिनका नेताहरूलाई नागरिकले किनारा लगाइदिएका छन् । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुईतिहाइ बहुमतसाथ जित निकालेको छ । अब भोलि बुधबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले सपथ लिँदैछन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रतिनिधिसभा सदस्यका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनेछन् । त्यसपछि उनले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । देशमा नयाँ सरकार बन्ने बाटो खुल्नेछ भने बहुमतका साथ संसद् छिरेको राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार निर्माण गर्ने पक्कापक्की जस्तो भएको छ । अब बन्ने नयाँ सरकारसँग आम नागरिकले धेरै आशा गरेका छैनन् । धेरै अपेक्षा पनि गरेका छैनन् ।

केवल उनीहरूको आशा र अपेक्षा भनेको भ्रष्टाचारमुक्त देश, सुशासन र रोजगारीको अवस्था सिर्जना गर्नु हो । विकास त समयअनुसार भइनै रहेको छ भने भविष्यमा पनि हुने नै छ । अब बन्ने नयाँ सरकारले केवल भ्रष्टाचारीमाथि कारबाही, सुशासन कायम र रोजगारीको अवस्था सिर्जना गर्नु नै मुख्य काम हुनेछन् । आम नागरिकले पाँच वर्षसम्म कसैले पनि चलाउन नपाउने गरी आफ्नो जनमत राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रदान गरेका छन् । विगतमा सत्ताका लागि लुछाचुँडी, सरकार बनाउने र गिराउने घृणित खेल, भ्रष्टाचारीलाई कारबाहीका साटो जोगाउने र प्रोत्साहन गर्ने काम गर्दै आएका पुराना राजनीतिक दल र नेताहरूबाट आजित भएका नागरिकले यसपटक भने पूर्ण बहुमतका साथ पाँच वर्षसम्म ढुक्कका साथ देश सञ्चालन गर्न आफ्नो मत प्रदान गरेका छन् । अब पाँच वर्षसम्म कुनै राजनीतिक चलखेल नहुने र देशमा राजनीतिक स्थायित्व कायम हुने आशा गर्न सकिन्छ । यसबाट पक्कै पनि देशको विकास हुनुका साथै आम नागरिकले अपेक्षा गरेअनुसार र चाहेअनुसार राजनीतिक स्थायित्व हुनेछ र देश भ्रष्टाचारमुक्त बन्नेछ । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित अधिकांश सांसदहरू युवा नै छन् । सम्बन्धित विषयका विज्ञ समेत रहेका छन् ।

त्यसमा पनि जेनजी उमेर समूहका पनि रहेका छन् । जेनजी आन्दोलनको बलमा भएको राजनीतिक परिवर्तन, जेनजी आन्दोलनकै बलमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन र सोही निर्वाचनमार्फत् चुनिएर आएका करिब दुईतिहाइ सङ्ख्यासहितको सांसदहरूसहित राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम नागरिकले जुन अपेक्षा राखेका छन् । सो अपेक्षा पूरा गर्नका लागि अब बन्ने सरकार गम्भीर हुन जरुरी छ । ७६ जना सहिद, दर्जनौँ सङ्ख्याका घाइतेहरूको सपना साकार पार्नका लागि अब बन्ने सरकारले काम गर्नुपर्नेछ । अब बन्ने सरकारलाई जति अवसर छ, त्यत्तिकै मात्रा चुनौती पनि रहेका छन् । पहिला पहिला सुन्ने गरिँदै आइएको विदेशी चलखेल, कठपुतली सरकार, विदेशीको इशारामा नाच्ने सरकार, विदेशीको सल्लाहअनुसार देश सञ्चालन लगायतका आरोपहरू अब बन्ने सरकारले पुष्टि गर्नुपर्नेछ । राष्ट्र र राष्ट्रियता जोगाउन, नेपालको इतिहास र गौरवलाई मर्न नदिई निरन्तरता दिनुपर्ने जिम्मा अबको सरकारको काँधमा छ । अब बन्ने सरकारले बहुमतको दम्भ नदेखाई निर्वाचित सम्पूर्ण राष्ट्रिय पार्टी लगायत अन्य राजनैतिक दलहरूलाई पनि मिलाएर साथसाथै लैजान जरुरी छ । पुराना दल र पुराना नेताहरूसँग इतिहास छ । उनीहरूबाट सकारात्मक पक्षलाई लिँदै, सकारात्मक सल्लाह र सुझाव ग्रहण गर्दै राष्ट्र र राष्ट्रियताका पक्षमा काम गर्न आवश्यक छ । तसर्थः नागरिकले अपेक्षा गरेका भ्रष्टाचारमुक्त देश, सुशासन कायम र रोजगारीको सिर्जना गर्दै देशलाई अगाडि बढाउनु नै अब बन्ने सरकारको महत्वपूर्ण काम हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार