कर्णाली प्रदेशलाई देशकै विकट क्षेत्रका रूपमा हेरिन्छ । अन्य प्रदेशभन्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरू अझै पनि भौगोलिक रूपमा विकट नै छन् । कर्णालीमा पहाडी मात्रै नभएर हिमाली जिल्लाहरू समेत रहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुर्गम तथा पहाडी जिल्लाहरूमा आन्तरिक हवाई सेवा सञ्चालनमा नियमित बनाई त्यहाँका स्थानीयहरूलाई सुविधा प्रदान गर्न आवश्यक देखिन्छ । कर्णाली प्रदेशसभाले पनि दुर्गम तथा पहाडी जिल्लामा आन्तरिक हवाई सेवालाई नियमित बनाउने उद्देश्यसहितको संकल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित खबर आएको छ । यो सकारात्मक पक्ष हो । संकल्प प्रस्ताव मात्रै पास गरेर भने हुँदैन । संकल्प गरेअनुसार कार्यान्वयन गर्न पनि जरुरी छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको उक्त प्रस्तावलाई सबै सदस्यले समर्थन जनाएका बताइएको छ । प्रस्ताव पारित भएसँगै अब कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा सञ्चालनका लागि पहल तीव्र हुने अपेक्षा गरिएको छ । यो खुसीको विषय हो । प्रदेश सरकारले आन्तरिक हवाई सेवा प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता छ । बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि निर्माणको काम अघि बढाएर जतिसक्दो चाँडो कार्यान्वयन गराउनु आवश्यक छ ।
नियमित हवाई सेवा सुनिश्चित गर्न प्रदेश सरकारले नागरिक उड्ययन कम्पनीहरूलाई आन्तरिक उडान सञ्चालनमा प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराउन आवश्यक छ । हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा नियमित उडान नहुँदा यात्रुहरूले लुम्बिनी प्रदेशको नेपालगन्जबाट हवाई सेवा लिनुपर्ने बाध्यता रहेको छ । यस्तो अवस्थाको अन्त्य गर्न संघीय सरकारसँग समन्वय र थप छलफल गरी आवश्यक थप बजेटको माग गरी व्यवस्थापन गर्न जरुरी छ । कर्णाली प्रदेशसभाले नै हिमाली जिल्लाहरू मुगु, जुम्ला, हुम्ला र डोल्पामा नियमित रूपमा हवाई सेवा सञ्चालनका लागि संकल्प प्रस्ताव तयारी पारी प्रदेशसभामार्फत सर्वसहमतिले पारित गरेको जनाइएको छ । नियमित हवाई सेवा सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकार, नागरिक उड्ययन प्राधिकरण, नेपाल वायुसेवा नियम र निजी वायुसेवा प्रदायकहरूसँग आवश्यक समन्वय र सहकार्यका लागि पहल गर्नुपर्दछ । हवाई सेवा सञ्चालनलाई दीगो र नियमित तथा प्रभावकारी बनाउन अनुदान, सहुलियत वा सार्वजनिक नीति साझेदारी (पीपीपी) मोडल अवलम्बन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । त्यस्तै प्रदेशभित्र रहेको विमानस्थलहरूको स्तरोन्नति तथा मर्मतसम्भार तथा सुरक्षा व्यवस्थापन सुधारका लागि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार विकासलाई प्राथमिकतामा राखी काम गर्न पनि आवश्यक छ ।
आपत्कालीन स्वास्थ्य सेवा, विपद् उद्धार तथा मानवीय सहायता प्रयोजनका लागि हवाई सेवालाई विशेष प्राथमिकतामा राखी सञ्चालनको व्यवस्था मिलाउन, हवाई सेवा सञ्चालनबाट स्थानीय अर्थतन्त्र, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जनामा पर्ने सकारात्मक प्रभावबारे नियमित अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्दछ । संकल्प प्रस्ताव कार्यान्वयनले कर्णालीका नागरिकहरूको जीवनस्थरमा सुधार हुने, सेवा पहुँचको विस्तार र देशको समग्र सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । संकल्प प्रस्ताव पास गरेपछि प्रदेश सरकारलाई संघीय सरकारसँग समन्वय गर्न र निजी हवाई सेवा प्रदायक कम्पनीहरूलाई समेत दबाब पर्ने देखिन्छ । यसले बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षण समेत गर्दछ । प्रदेश राजधानी आर्थिक तथा प्रशासनिक सेवा केन्द्रको रूपमा रहे पनि कर्णालीका माथिल्लो जिल्लाका नागरिकहरू हवाई मार्गबाट नेपालगन्ज झरेर त्यहाँबाट सार्वजनिक यातायातबाट सुर्खेत आउनुपर्ने बाध्यता छ । यो बाध्यतालाई अन्त्य गर्न प्रदेशभित्र आन्तरिक हवाई सेवा कार्यक्रमलाई सफल बनाउन पहल गर्न आवश्यक छ । पारित गरिएको संकल्प प्रस्तावलाई यथाशीघ्र कार्यान्वयनमा लैजानका लागि सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्