खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सामुदायिक विद्यालयलाई दुईदुई थान हिलटेक, फिल्टर र हिलटेक स्ट्यान्ड हस्तान्तरण गरिएको हो ।
शुद्दीकरण नगरेको पानी सेवन गर्दा विद्यार्थीहरूमा पानीजन्य रोगबाट बिरामी हुने समस्या देखिएकाले त्यसको समाधान गर्न नगरपालिकासँगको सहकार्यमा विद्यालयलाई उपकरण वितरण गरिएको रोटरी क्लब अफ यालाका प्रतिनिधि गोकुल दङ्गालले बताएका छन् । “विद्यार्थीहरू विद्यालयमा रहने समयभर फोहर पानी पिउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।
हामीले नगरपालिकासँग समन्वयमा फिल्टरको डिजाइन गरेर उपकरण खरिद गरी विद्यालयहरूलाई हस्तान्तरण गरेका छौँ”, उनले भने, “अब विद्यालयमा जुनसुकै स्रोतका पानीलाई पनि शुद्धीकरण गरी सुरक्षित रूपमा पिउन सकिने भएको छ । यसले विद्यार्थीमा पानीजन्य रोगको समस्या कम हुन्छ ।”
रोटरी क्लब अफ यालाले रु १० लाखभन्दा बढी मूल्यको पानी शुद्धीकरणसम्बन्धी उपकरण खरिद गरेर विद्यालयका लागि उपलब्ध गराएको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । “प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि नै उपकरण ल्याइएको थियो । निर्वाचन आचारसंहिता कारण हस्तान्तरण गर्न पाएका थिएनौँ”, उनले भने, “निर्वाचन सकिएपछि विद्यालयका प्रतिनिधिलाई दिक्तेल बोलाएर हस्तान्तरण गरिएको छ ।
विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न रोटरी क्लब अफ यालाले गरेको यो सहयोग महत्त्वपूर्ण मानिएको छ । यसले विद्यार्थीको स्वास्थ्य सुरक्षामा ठुलो योगदान पुग्ने हामीले विश्वास गरेका छौँ ।”शुद्धीकरण उपकरणले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै दिगो वातावरणीय सुधार ल्याउने उद्देश्यसमेत राखिएको नगरपालिकाले जनाएको छ । शुद्ध खानेपानीको अभाव भोग्दै आएका विद्यार्थी नगरपालिकाले उपलब्ध गराएको उपकरणमार्फत शुद्ध खानेपानी उपभोग गर्न पाउने भएपछि हर्षित भएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्