अविरल वर्षाले उखु खेतीमा क्षति



सिरहा ।

विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा जमिनमा लगाउनुभएको उखुबारीमा क्षति पुगेको हो । हावाहुरी र अविरल वर्षाका कारण भाडामा लिएर गरेको उखु खेतको उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था आएको उनले बताए ।

उखु खेतीमा यादवले चार लाख रुपैयाँ ऋण तथा सापटी लिएर लगानी गरेका थिए । उखु खेती राम्रो उत्पादन भएको भए करिब १० लाख रुपैयाँ आम्दानी हुने उहाँको अपेक्षा गरेपनि हावाहुरी र अविरल वर्षाले लगानीसमेत फिर्ता नहुने उनको चिन्ता  छ ।सिरहाको विष्णुपुर गाउँपालिका–१ का पूर्ववडाध्यक्ष रहिसकेका यादव अहिले पुनः कृषि व्यवसायमा फर्किएका छन् ।

उनी भन्छन्, “जसोतसो जग्गा भाडामा लिएर उखु खेती लगाएको थिए तर गए राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो ।अब त लगानी पनि नउठ्ने देखिन्छ । यही खेती बाट नै घर परिवारको जोहो टार्दै आएको थिए, क्षति गर्दा अब घरपरिवार चलाउन पनि मुस्किल हुने अवस्था आयो । ” रासस

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार