नेपालगन्ज ।
हुलाकको द्रुत डाँक सेवा प्रभावकारी हुँदै गएर र थप प्रभावकारी बनाउनुपर्नेमा नेपालगन्जमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । हुलाक सेवा विभागद्वारा बिहीबार आयोजित र जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय–सहजीकरणमा सम्पन्न द्रुत डाँक सेवासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले हुलाक सेवा थप समयानुकूल बनाउनुपर्ने बताएका हुन् ।
उक्त कार्यक्रममा हुलाकको द्रुत डाँक सेवाको गुणस्तर, विस्तार र प्रभावकारिताबारे गहन छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले द्रुत डाँक सेवाको विस्तार, जनचेतना अभिवृद्धि र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नवप्रवर्तनतर्फ अघि बढिरहेको बताइन् ।
हुलाक सेवा विभागलाई समयसापेक्ष बनाउँदै जनताको अपेक्षा अनुसारको सेवा दिन आफू प्रतिबद्ध रहेको उनले बताइन् । यसैगरी हुलाकको सेवामा गुणस्तर सुधार र विश्वसनीयता बढाउनुलाई लक्ष्य बनाएर काम गरिरहेको उनले बताइन् । यस्तै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले ग्रामीण क्षेत्रमा हुलाकको सेवा विस्तारको आवश्यकता औँल्याए । दूरदराजका नागरिकलाई समेत छिटो र सहज सेवा पु¥याउन स्थानीय सरकारसँग समन्वय गर्न उनले सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले हुलाक सेवामा पारदर्शिता र जवाफदेहिता वृद्धि गर्दै जनताको विश्वास जित्ने गरी सुधार गर्नुपर्ने बताएका थिए । उनले हुलाक सेवाको प्रभावकारिता बढाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको पनि बताएका थिए ।
कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले हुलाक सेवाको विगत र बर्तमानबारे जानकारी गराएका थिए भने शाखा अधिकृत शालिकराम बस्यालले द्रुत डाँक सेवाको प्रक्रियाबारे जानकारी दिएका थिए । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्रप्रकाश थारूले कार्यक्रमबारे प्रकाश पार्दै सेवाको गुणस्तरीयता अभिवृद्धि गर्दै लगिएको बताएका थिए ।
हुलाक सेवा विभागले आफ्नो सेवा छिटो, भरपर्दो र आधुनिक बनाउन द्रुत डाँक सेवा (एक्सप्रेस मेल सर्भिस) सञ्चालन गरिरहेको छ । उक्त सेवा अहिले देशका ४५ जिल्लामा तथा ३९ देशका ४२ स्थानमा उपलब्ध छ । उक्त सेवाबाट आन्तरिक रूपमा दुई किलो र वैदेशिक रूपमा २० किलोसम्म सामग्री पठाउन सकिने व्यवस्था छ ।
देशका ११ जिल्लामा एक दिनमै, १८ जिल्लामा दुई दिनमा र अधिकतम सात दिनभित्र सबै सदरमुकाममा डाँक पु¥याइने व्यवस्था मिलाइएको छ । हवाई र स्थलमार्ग दुवैबाट ढुवानीका लागि निजी हवाई र यातायात कम्पनीहरूसँग सम्झौता गरिएको हुलाक विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्