स्थापनाको पाँच वर्षपछि विश्वविद्यालयले पायो टेक्ने ठाउँ



नेपालगन्ज ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्थापनाको ५ वर्षपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने भनेर तोकिएको स्थानीय तहमा आफ्नै भवन पाएको छ । बाँकेको खजुरामा खजुरा गाउँपालिकाले आफ्नो हालसम्म कार्यालय सञ्चालन हुँदै आएको भवनसहितको जग्गा विश्वविद्यालयलाई प्रदान गरेपछि विश्वविद्यालयले आफ्नै भवन पाएको हो ।

अहिलेसम्म विश्वविद्यालय नेपालगन्जमा रहेको प्रदेश सरकारको एउटा भवनबाट अस्थायी रूपमा केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ भने शैक्षिक कार्यक्रमहरू कृषि विकास बैंकको भवन भाडामा लिएर सञ्चालन गरिरहेको छ । खजुरा गाउँपालिकाले उक्त भवन र जग्गा दिने घोषणा गरेपछि डेढ वर्षअघि नै उक्त भवनको गेटमा विश्वविद्यालयको बोर्ड टाँगिएको थियो ।

अहिले आफ्नो नयाँ कार्यपालिका भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले भवनसहितको १० कट्ठा जग्गा विश्वविद्यालयलाई हन्तान्तरण गरेको हो । उक्त भवन र जग्गाको कागजातहरू खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद ढकाललाई एक कार्यक्रमबीच मंगलबार हस्तान्तरण गरेका थिए ।

विश्वविद्यालय स्थापनाको निर्णय हुँदा खजुरा गाउँपालिकाकै वडा नम्बर ८ रनियापुरमा ९४ बिघा जग्गा भोगाधिकारमा दिन गाउँपालिकाले सिफारिस गरेको थियो । त्यसै जग्गालाई आधार मानेर विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुरा गाउँपालिकामा रहने भनेर तोकिएको थियो । तर उक्त जग्गा भने विश्वविद्यालयले अझै प्राप्त गर्न सकेको छैन ।

सरकारले पटक–पटक कार्यविधि बदल्दै अहिले विश्वविद्यालयलाई ५० बिघा जग्गा मात्रै दिन सकिने त्यो लिजमा मात्रै दिन मिल्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम प्रदेश सरकारबाट पुनः निर्णय गराई संघीय सरकारसमक्ष पेश गर्ने प्रक्रिया नै अघि बढेको छैन । विश्वविद्यालयका रजिष्ट्रार रेग भण्डारीले नयाँ सरकार गठनसँगै त्यसका लागि प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् ।

खजुरा गाउँपालिकाबाट प्राप्त भवन र जग्गामा विश्वविद्यालयको कुनै न कुनै केन्द्रीय अंगको कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको पनि भण्डारीले बताएका छन् । अहिले रहेका भवनलाई मर्मतसम्भार गर्ने त्यसमा विश्वविद्यालयको कुनै एक अंगको कार्यालय सञ्चालन गरिने उनको भनाइ छ । साथै उपलब्ध जग्गामा नयाँ भवन पनि बनाउने योजना रहेको उनको भनाइ छ ।

उक्त जग्गामा कार्यालय सञ्चालनका लागि भवन पनि बनाउन सकिने देखिएको उनले बताए । तर, विश्वविद्यालयक शैक्षिक कार्यक्रमहरू तत्काल आफ्नै भवनबाट सञ्चालन गर्न सकिने स्थिति नरहेको उनले बताए । त्यसका लागि विश्वविद्यालयको गुरुयोजना अनुसारकै जग्गा उपलब्ध हुनुपर्ने उनको भनाइ छ ।

गाउँपालिकाको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति ढकालले जग्गा प्राप्तिसँगै विश्वविद्यालयको भौतिक निर्माण सुरु हुने बताए । खजुरा गाउँपालिका अध्यक्ष विकले खजुरामा रहेका क्यान्सर अस्पताल, कृषि क्याम्पस लगायतका संस्थाहरूलाई खजुराबासीले अपनत्व दिन सकेको बताउँदै विश्वविद्यालयले पनि खजुराबासीको माया पाउने बताए ।

लुम्बिनी प्रदेश सरकारले आव २०७६–०७७ मा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेकोमा २०७८ साल असार ८ गतेको प्रदेश राजपत्रमार्फत प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यस्थापन गर्न बनेको ऐन प्रकाशित गर्दै ‘विश्वविद्यालय ऐन, २०७८’ जारी गरेको थियो । विश्वविद्यालयमा हाल सिभिलतर्फ चार, सूचना प्रविधितर्फ दुई र इन्जिनियरिङतर्फ दुई वटा कक्षा सञ्चालन भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार