हुम्ला ।
हिमाली जिल्ला हुम्लामा पहिलो पटक ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना भएको छ । सात वर्ष लामो प्रयासपछि राष्ट्रिय क्षय रोग केन्द्रले उक्त महंगो ल्याब जिल्ला अस्पताल हुम्लालाई उपलब्ध गराएको हो । जिन एक्स्पर्ट ल्याबका लागि विगत सात वर्ष अगाडिदेखिको प्रयासले यस पटक सार्थकता पाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताए ।
ल्याब जिल्ला अस्पतालाई उपलब्ध भएसँगै स्थापना गरेर क्षयरोगको लागि खकार परीक्षण कार्य सुरु भएको उनले जानकारी दिए । ल्याब स्थापना भएसँगै ११ जनाको स्वाव परीक्षण गर्दा एक जनामा क्षयरोग देखिएको उनको भनाइ छ । ‘उक्त ल्याब स्थापना भएपछि यसको सञ्चालनका लागि एक जना जनशक्तिलाई पन्ध्र दिने तालिमका लागि समेत पठाइएको थियो ।
तालिमपश्चात् ती कर्मचारीले ल्याब सञ्चालन गरेका छन्,’ उनले भने, ‘यसअघि सो ल्याब स्थापना नहुँदा क्षयरोगको आशंका लागे बिरामीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको थियो । यसको परीक्षणका लागि हवार्ई भाडा मात्र ५० हजारभन्दा बढी खर्च गर्नुपर्ने हुन्थ्यो ।’ अस्पतालमै जिन एक्स्पर्ट ल्याब स्थापना भएपछि हुम्ला जिल्लाभरका बिरामीलाई सहज र निःशुल्क रुपमा आफ्नो उपचार गर्न पाउने भएको कार्यालय प्रमुख तिवारीले बताए ।
‘स्वास्थ्य परीक्षण गर्न पनि तापक्रम हेरेर आधादेखि एक घण्टासम्म समय लाग्ने गरेको छ,’ उनले थपे, ‘यो विश्वमै नयाँ आएको अत्याधुनिक ल्याब हो । यसको मूल्य मात्र ५२ लाख परेको छ ।’ उनका अनुसार खोकी बढी लागेपछि क्षयरोगको आशंका गर्दा २० दिनअगाडि एक जना जिल्ला अस्पताल पुगेकी बिरामी जौका सुनारलाई नेपालगन्ज रिफर गरिएको थियो ।
यसका लागि मात्र डेढ लाख रुपैयाँ जति जौका सुनारले खर्च व्यहोर्नु परेको थियो भने केही समयअगाडि जिल्ला अस्पतालमा बायोमेट्रिक ल्याब पनि स्थापना गरिएको थियो । दुर्गमको अस्पतालमा अब अत्याधुनिक मेसिनहरू जडान हुने कार्य जारी रहेको अस्पतालले जनाएको छ ।
किशोर–किशोरीमैत्री सेवा
स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पताललाई किशोरकिशोरीमैत्री बनाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नयाँ निर्देशिकाअनुसार किशोरकिशोरी मैत्री उपचार सेवा प्रदान गर्नुपर्ने भएकाले सरोकारवाला पक्षलाई अभिमुखीकरण गरिएको छ ।
अस्पताल व्यवस्थापन समिति, विद्यालयका शिक्षक, किशोरकिशोरी, व्यवसायी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सहभागीतामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
अब स्वास्थ्य सेवा सहज र सरल किसिमले किशोरकिशोरीहरुलाई प्रदान गर्न यो कार्यक्रम लागू हुने अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले कार्यक्रम निर्देशिकाबारे जानकारी दिँदै आगामी २०८३ सालको वैशाख महिनाबाट जिल्ला अस्पतालमा किशोरकिशोरी मैत्री लागू हुने बताए ।
कार्यालयका तत्थ्यांक सहायक दुर्गाबहादुर श्रेष्ठले यसका लागि किशोरकिशोरीहरुका लागि एउटा छुट्टै उपचार कक्षको व्यवस्था गरिने र त्यहीँबाट अस्पतालमा आउने बिरामी किशोरकिशोरीको गोपनीयता भंग नहुने किसिमले चेकजाँच गरिने बताए । त्यसपछि सबै किसिमका किशोरकिशोरीको उपचार निःशुल्क रुपमा गरिने उनले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्