इलाम ।
इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ । ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । फागुनको अन्तिम सातादेखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताए।
चियाको पहिलो टिपाइलाई विशेष सावधानीका साथ सङ्कलन गरिन्छ । चियाको कोमल पातबाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग पनि बढी हने गरेको व्यवसायी पाण्डेको भनाइ छ । इलामका चिया उद्योगी शरद सुब्बाका अनुसार, यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको छ ।
उहाँले इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको जानकारी दिए । “यसलाई सुरक्षित ढङ्गले टिपिन्छ । यहीबाट उच्च गुणस्तरको चिया तयार हुन्छ”, सुब्बाले भन्नुभयो, “पहिलो टिपाइमा मात्रै करिब अढाइ सय किलो चिया सङ्कलन भएको छ ।” उनका अनुसार सोयाकसँगै चिलिमकोटलगायतका क्षेत्रका बगानमा क्रमशः चिया टिपाइ सुरु भइसकेको छ ।
इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिनलगायत फरक–फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन् । मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले बताए । उनका अनुसार, चालु आर्थिक वर्ष २०८२-८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ । उक्त परिमाणको चियाबाट रु दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्याङ्कले देखाएको छ ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार इलाममा करिब सात हजार ६०० भन्दा बढी किसानले सात हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन् । रासस









प्रतिक्रिया दिनुहोस्