इनिशा विक हत्या प्रकरणः कोहलपुरमा शान्तिपूर्ण प्रदर्शनी तथा हस्ताक्षर अभियान



कोहलपुर (बाँके) ।

बालिकाहरुको न्यायका लागि कोहलपुरमा शान्तिपूर्ण प्रदर्शनी तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । कोहलपुरका युवाहरुको आह्वानमा कोहलपुरस्थित न्युरोड चोकमा शान्तिपूर्ण प्रदर्शनी तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । सुर्खेतमा बालिका इनिशा विकमाथि भएको जघन्य हिंसाको घटनाको घोर भत्र्सना गर्दै उनीसहित विगतमा बलात्कारपछि मृत्यु भएका बालिकाहरुको न्यायको माग गर्दै एक घण्टा शान्तिपूर्ण प्रदर्शन तथा दीप प्रज्वलन गरिएको हो ।

शुक्रबार दिउँसो ४ बजेदेखि बेलुका ५ बजेसम्म न्युरोड चोकमा दर्जनौँ युवायुवतीहरु प्लेकार्डसहित धर्नामा बसेका थिए । ‘इनिशालाई न्याय देऊ, बालिकामाथि हिंसा बन्द गर, दोषीलाई सजाय पीडितलाई न्याय, न्यायबिना शान्ति सम्भव छैन, दलितमाथि अन्याय सह्य छैन, सरकार जवाफ देऊ, न्याय सुनिश्चित गर, बालिकाको सुरक्षा राज्यको जिम्मेवारी, हिंसामुक्त समाज हाम्रो अधिकार, अपराधीलाई उन्मुक्ति होइन, सजाय चाहिन्छ र न्यायका लागि हाम्रो आवाज एक हो’ लेखिएका प्लेकार्डसहित चोकमा धर्ना बसेका हुन् ।

त्यसपछि बालिकाहरुको न्यायका लागि दीप प्रज्वलनसमेत गरिएको कार्यक्रम आयोजना गर्न संयोजन गरेका रमेश वरले बताए । उनका अनुसार शान्तिपूर्ण प्रदर्शन तथा हस्ताक्षर अभियान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा ५ सय जनाभन्दा बढीले हस्तााक्षर गरेको वरले बताए ।

‘कार्यक्रममार्फत बालिकामाथि हुने हिंसाको अन्त्य, अन्यायको विरोध तथा राज्यलाई जिम्मेवार बनाउँदै दोषीलाई कडाभन्दा कडा सजायको माग गरिएको छ । न्याय, मानव अधिकार र सुरक्षित समाजको पक्षमा उभिने नागरिक, युवा, विद्यार्थी, अभियन्ता तथा सरोकारवालाहरूलाई उपस्थित भई ऐक्यबद्धता जनाइदिन आह्वान गरेका थियौँ । कोहलपुर क्षेत्रका विभिन्न क्षेत्रका नागरिकहरुको उल्लेख्य सहभागिता रहयो,’ उनले भने ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा विक एकसाताअघि जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । इनिशाको सामूहिक बलात्कारपछि विभत्स रूपमा हत्या गरिएको आफन्तको दाबी छ ।

पीडित परिवारले निष्पक्ष छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन समेत बुझाएका छन् । घटनाका बारेमा अहिले देशभर विरोध भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । सिआइबीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार