बालेन शाहको नेतृत्वमा रास्वपाको एकल सरकार बन्छः खगेन्द्र सुनार



कोहलपुर (बाँके) ।

बाँके क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद खगेन्द्र सुनारले बालेन्द्र शाह (बालेन)को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने बताएका छन् । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाहको नेतृत्वमा रास्वपाको एकल सरकार गठन हुने उनले बताएका हुन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई बधाई ज्ञापन तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद सुनारले भने, ‘बालेन्द्रजीको नेतृत्वमा सरकार बन्छ भन्ने कुरामा दुईमत छैन । हामी जुन पृष्ठभूमिबाट आएका छौँ । हाम्रो जन्म जुन गर्भबाट भएको छ । जुन मुद्दा उठाएर हामी यहाँसम्म आइपुग्यौँ । अब काम गरेर देखाउन हामीलाई जिम्मेवारी आएको छ ।’

रास्वपाले तत्काल संविधान संशोधनको मुद्दा उठाउँछ कि उठाउँदैन भन्ने प्रश्नमा सुनारले रास्वपा वर्तमान संविधानलाई अंगीकार गरेर राजनीतिमा उदाएको दल भएको भन्दै आवश्यकताको सिद्धान्तको आधारमा कानुन संशोधन र संविधान संशोधन हुँदै जाने प्रतिक्रिया दिए । यस्तै उनले जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाइसकेको र प्रतिवेदनअनुसार आगामी सरकारले कानुनसम्मत कारबाही अघि बढाउने उनको भनाइ थियो ।

उक्त अवसरमा बोल्दै उनले भने, ‘यहाँ अहिले सुनिन्छ । रास्वपाको सरकार बन्यो भने केपी ओलीलाई जेल हाल्छ । रमेश लेखकलाई जेल हाल्छ । म भन्छु, रास्वपाले कसैप्रति अनावश्यक प्रतिशोध गर्दैन । हामी कुनै पनि गलत नियत राखेर काम गर्दैनौँ ।’ रास्वपा थिति र विधि बसाल्न आएको भन्दै सांसद सुनारले दलहरुसँग सहकार्य गरेरै अघि बढ्ने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कुशल दलामीले प्रतिनिधिसभा सदस्य सुनारलाई संघको तर्फबाट बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । उनका अनुसार सुनारले विगतमा सडकबाट न्यायको पक्षमा आवाज उठाउँदै आएका थिए । अब संसद्मा सीमान्तकृत समुदायको आवाज उठाउनुका साथै बाँके ३ को विकास र समृद्धिका लागि काम गर्न सुझाव दिए । राष्ट्रिय दलित पत्रकार संघ बाँके शाखाकी कार्यबाहक अध्यक्ष आशा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार