शिखर पावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन



काठमाडौँ ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । फागुन २२ गते आईपीओ बिक्री बन्द गर्ने तयारी गरेको थियो ।

तर, फागुन २० गतेदेखि २२ गतेसम्म चुनावको सार्वजनिक बिदा परेको र फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले आजसम्म बिक्रीको लागि खुला रहने भएको हो । आईपीओ कम्तीमा ४ कार्यदिन खुला राख्नुपर्ने व्यवस्था छ । बिदा धेरै परेका कारण आईपीओमा आवेदन दिने म्याद थप भएर फागुन २६ गतेसम्म कायम भएको हो ।

कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता (कर्मचारीलाई छुट्याइएको ४४ हजार ४ सय कित्ताबाहेक) शेयर निष्काशन गरेको छ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने भएको छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा सोमबारसम्म २२ लाख ७७ हजार ९ सय ९३ जनाले आवेदन दिएका छन् । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले बागलुङमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत् उत्पादन गरिरहेको छ । साथै सोही खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार