नन्दराम जैशी । सुर्खेत ।
जुम्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो दल बन्दा नेपाली काँग्रेस र नेकपा एमालेको साख खस्किएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक मतपरिणामअनुसार जुम्लामा नेकपा पहिलो दल बन्दा एमाले चौथो दलमा सीमित भएको छ भने काँग्रेस दोस्रोमा झरेको छ ।
२०७९ को निर्वाचनमा १० हजार ४७६ मतसहित काँग्रेस पहिलो दल बनेको थियो भने १० हजार ४४८ मत ल्याएर एमाले दोस्रो बनेको थियो । तर यसपटक काँग्रेस दोस्रोमा झरेको छ भने एमाले निकै तल खस्किएको हो । प्राप्त अन्तिम मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत एमालेलाई उछिनेर तेस्रो दल बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा थारै मतान्तरले एमाले एक स्थान मात्रै अघि छ ।
समानुपातिक मतपरिणामअनुसार जुम्लाका सबै दलहरुको वास्तविक हैसियत पनि प्रष्ट भएको छ । नेकपाले सबैभन्दा धेरै १० हजार २०२ मत प्राप्त गर्दै पहिलो दल बनेको छ भने नेपाली काँग्रेसले नौ हजार ३६० मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित छ । यस्तै ६ हजार ५५२ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो बन्दा नेकपा एमाले ६ हजार २९ मतमा सीमित भएर चौथो स्थान खस्किएको हो ।
२०७९ मा पाँच हजार ७९६ मत प्राप्त गरेको राप्रपाले यसपटक थप मत बढाउँदै तेस्रो दल बनेको हो । जुम्लामा एमालेलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ मत प्राप्त गरेको छ । जहाँ २०७९ को निर्वाचनमा रास्वपाले ८९९ मत मात्रै ल्याएको थियो । २०७९ को मतको तुलनामा काँग्रेसको पनि यसपटक मत घटेको छ । २०७९ मा हाल नेकपा तथा तत्कालीन माओवादी केन्द्रले ८ हजार ९६० र समाजवादीले दुई हजार ६४८ प्राप्त गरेका थिए ।
यसपटकको निर्वाचनमा जुम्लाबाट समानुपातिकतर्फ जनता समाजवादी पार्टी नेपालले १५९ मत, नेपाल मजदुर किसान पार्टीले एक हजार ४९१ मत, जनमत पार्टीले ४७, राष्ट्रिय जनमोर्चाले ३६ र प्रगतिशील लोकतान्त्रिक पार्टीले २५६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाल लोकतान्त्रिक पार्टीले २०, मंगोल नेशनल अर्गनाइजेशन ६, बहुजन शक्ति पार्टीले चार र नेपाल सद्भावना पार्टीले नौ मत प्राप्त गरेका छन् ।
उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर जनलहर चलेको रास्वपा उम्मेदवार विनिता कठायत (४२१ मत), प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत) र नेमकिपाका विर्षबहादुर रावत (४०० मत)को धरौटी जफत भएको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का बिर्ख शाही (७१ मत), नेपाल जनता पार्टीका रनीलविक्रम शाही (४३ मत) र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको जमानत जफत भएको हो । उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन् । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रोमा नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए । यसैगरी, नेकपा (एमाले)का शान्तिलाल महतले चार हजार ५१८ मत, नेपाली काँग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
जम्मा खसेको कूल मतमध्ये एक हजार ७२४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा कूल मतदाता संख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको थियो । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो । जिल्लामा कूल मतदाता संख्या ७१ हजार ७३९ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्