पुष्पमणि प्रधान
‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’ नेताहरुले विशाल आमसभामा क्रान्तिकारी भाषण गर्दा गाउँका युवायुवतीहरु प्रभावित भएका थिए । गाउँका दाजुभाइ, दिदीबहिनीहरुमा नयाँ जोस र क्रान्तिको भावना पैदा भएको थियो । गाउँमा नेताको भाषण सुनेर दिलमाया, हर्के, गणेसे, रीताहरु कक्षा दशको पढाइ छाडेर क्रान्तिकारी मिलिसिया सैन्यमा भर्ती हुन उनीहरु जङ्गलतिर हिँडे ।
गाउँकै हर्केदाइ भनुँ या नेतासँग दिलमाया, गणेसे, रीता, गीता, रामेहरु लगभग दुई दिन जङ्गलको उकालो पहाडी बाटो हिँडेर भेरी नदीको पल्लो डाँडा किनारमा मिलिसिया सैन्य क्याम्पमा पुगे । सैन्य क्याम्पमा चारैतिर तालिम केन्द्र, ससाना झोपडीहरु बनाइएका थिए । हजारौँ दाजुभाइ, दिदीबहिनीहरु विभिन्न सैन्य प्लाटुनमा विभाजन गरिएको थियो । कमरेड हर्केले प्लाटुन कमान्डर बादल सरको छेउमा लगेर परिचय गरायो– “सलाम सर, यी नयाँ युवायुवतीहरु हाम्रो मिलिसियामा भर्ना हुन ल्याएको छु । यिनी हुन् बसन्ती, रीता, गीता र गणेसे, पवन । प्लाटुन कमान्डर बादलले दिलमायालाई ठाडो नजरले हे¥यो । कमान्डर बादलले सोध्यो– “तिम्रो नाम के हो ?” “दिलमाया घर्ती मगर सर ।” उसले छोटो उत्तर दिई । “तिमी कति कक्षासम्म पढ्छ्यौ ?” “कक्षा दशसम्म सर ।” “तिमी कुन गाउँबाट आएको ?” “चिसापानी गाउँ भन्छन् सर ।” टाउको तल गर्दै जवाफ दिई ।
दिलमाया घर्ती मगरबाट ऊ अग्नि बनी । उसको नाम अग्नि भयो । ‘अग्नि’ पाँच फिट छ इन्च कि थिई । उसको शरीर मोटो, गठिलो बलियो थियो । कालो लामो कपाल र कालो आँखामा बाक्लो आँखी भौँ थियो । सुन्दरी र आकर्षित देखिन्थी । उसलाई प्लाटुन कमान्डर बादलले पहिले त त्यत्ति वास्ता गरेनन् तर पछि उसको मेहनत र क्रान्तिकारी समर्पणले ध्यान अकर्षित ग¥यो । उसको लामो कपाल छोटो पारियो, उसलाई पहिले त आप्mनो लामो कपाल काट्दा आँखाबाट आँसु झ¥यो, मन रोयो तर आपूmलाई सम्हाली । “मैले म जस्ता गरिव, सर्वहाराको जिन्दगी परिवर्तन गर्नको निम्ति पुँजीवाद जरैदेखि फाल्नको निम्ति क्रान्तिकारी सेनामा भर्ना भएकी हुँ” भन्दै आप्mनो मनलाई सम्झाई । उसले कमान्डर बादलको कमान्डमा सैन्य तालिम, ‘थ्री नट थ्री’ ‘एसएलआर’ बन्दुकहरु खेलाउन थाली । आप्mनो सैन्य क्याम्पमा कठिन तालिम गर्न थाली । पिटीखेल, दौड, बन्दुक निसाना लगाउने सिक्न थाली । उसको छोटो कालो कपाल, कमब्याक्ट खाकी ड्रेस, कालो सैन्य बुट र कम्मरमा सिरुपाते खुकुरी भिरेर, क्याप लगाएर ठिङ्ग उभिँदा कति सुन्दरी र क्रान्तिकारी सैन्य देखिन्थी । ऊ सबैको प्यारी र आँखाको नानी भई । ऊ कोब्रा दलको इन्चार्ज बनी । उसको कमान्डमा लगभग तीनचार सय जना मिलिसियाहरु थिए । ऊ सह कमान्डरमा पदोन्नति भयो । उसमा नयाँ जोस र क्रान्तिकारी ऊर्जा थपियो ।
प्लाटुन कमान्डर बादल, गहुँगोरो मोटो अग्लो लगभग छ फिट को थियो । उसको चिम्सेआँखा, पातलो आँखी भौँ, थेप्चो परेको नाक, ब्रसकट कपालमाथि खैरो टोपी र कम्ब्याक्ट ड्रेसमा आकर्षित व्यक्तित्व देखिन्थ्यो । उसले आकस्मिक बैठक भनेर जङ्गलको एकान्त कुनामा सबै मिलिसिया सैन्य इन्चार्जसँग गुप्त बैठक बसेर कसरी नेपाली सैन्य क्याम्पमा आक्रमण गर्ने ? कसरी सेनाका हतियार लुट्ने ? कसरी गाउँका ठुला शोषणकारी अत्याचारी सामन्तकारी, साहुमहाजनलाई आक्रमण गर्ने ? भन्ने गुरुयोजनाको जानकारी गरायो । सबै सैन्य इन्चार्ज अग्नि, ज्वाला, पवन, आँधी, हिमाललाई आदेश दिए । सबै इन्चार्जहरुले एकै स्वरमा ‘हुन्छ सर’ भन्दै सलामी ठोके । अग्निले पनि मिलिसिया सैन्य लगभग २०० को टोली लिएर पश्चिमी पहाडी भेगको सैन्य क्याम्प आक्रमण गर्ने उद्देश्यले अघि बढ्यो । भेरी नदीको किनारै किनार हुँदै पहाडी उकाली ओराली जङ्गलको बाटो हुँदै छापामारहरु आछाम सैन्य क्याम्प हान्न अघि बडे । लगभग मध्यरातको १२ बजेतिर अग्निको कमान्डमा सैन्य चौकीमा भिषण आक्रमण गरे । रातभरि दुवैतर्पmबाट गोलीबारुद पड्क्यो ड्याङ ड्याङ । अग्निले हुकुम दियो– “हे क्रान्तिकारी मिलिसिया अघि बड, आक्रमण गर, सामन्तवादका अवशेषहरु ढाल, शोषणकारीलाई नछाड ।” कति सरकारी सैन्यहरु हताहत भए, कति प्रहरीको बन्दुक खोसिए । चारैतिर बम र बन्दुकको ड्याङ ड्याङ आवाजले अछाम बजार सुनसान र मुर्दाशान्ति छायो । अग्निले पनि दुईचार जना सेनाहरु बन्दुकले उडाए र खुकुरीले टाउको छप्काए । यता मिलिसिया छापामारका केही सेनाहरुले वीरगति प्राप्त गरे । केही घाइते मिलिसिया केही साथीका टाउकोहरु कर्णाली नदीको पानीमा बगाइदिए । सलामी तोप चढाए, अश्रुपूर्ण श्रद्धाका सुमनहरु चढाए ।
आप्mनै बालसखी गणेसेको शरीर नदी किनारमा गाडिदिए र लालीगुराँस र लालुपातेका पूmलहरु चढाए । बन्दुकको सलामी दिँदै दैलेख, सुर्खेत हुँदै दाङ सैन्य क्याम्पतिर जङ्गलको बाटो भएर दिनरात अघि बडे । हाम्रो देशमा चारैतिर क्रान्ति र आन्दोलन बाँसको आगोभैmँ सल्कन थाल्यो । विभिन्न पहाडी भेगमा छापामार सैन्यहरुले रातारात बम बारुद पड्काउन थाले । चारैतिर सैन्य क्याम्पहरुमा भिषण युद्ध हुन थाल्यो । कति सेनाप्रहरीहरुको हत्या भयो । कति गरिब जनताहरुको हत्या भयो । कति दिदीबहिनीहरुको सिँदुर पुछियो । चारैतिर अशान्तिको कालो बादलले ढायो । तत्कालीन सरकारले पनि प्रतिरोधमा ‘किलो सेरा टु’ अपरेसन सैन्यद्वारा सुरू ग¥यो । दाङ सैन्य क्याम्पमा मिलिसिया सेना अग्निको कमान्डमा भीषण आक्रमण ग¥यो । दुवैतिर बम र बन्दुक चल्यो । धेरै नेपाली सेनाहरु मरे । अङ्गभङ्ग भए, हतियार लुटियो । यता मिलिसिया सेनाका इन्चार्ज अग्निको दाहिने खुट्टामा गोली लाग्यो र उनी घाइते भइन् । आप्mना मिलिसियाहरुको सहयोगले धन्न बाँचिन् र रातारात जङ्गलको बाटो भएर आप्mनो सुरक्षित मिलिसिया क्याम्पमा ल्याएर औषधि उपचार गरिन् । उनलाई गीता, पवन, आँधी साथीहरुले बोकेर ल्याएर प्राण बचाए । धेरे लामो क्रान्ति र आन्दोलन पछि विदेशी सहयोग र तत्कालीन श्री ५ को सरकार, क्रान्तिकारी पक्ष माझ शान्तिसम्झौता भयो । क्रान्तिकारी नेताहरु सार्वजनिक हुन थाले ।
विभिन्न राजनीतिक पार्टीहरु र नेताहरुसँग सम्पर्क गर्न थाले । विभिन्न चुनाव उपचुनावहरुमा आआप्mनो पार्टीको नाउँमा चुनाव लड्न थाले । कति नेताहरु विजय भए कति नेताहरुले हारको नमिठो स्वाद चाखे । केही क्रान्तिकारी नेताहरु विजय भएर सांसद बने, मन्त्री बने । आप्mना नेताहरु मन्त्री, रक्षामन्त्री, विदेश मन्त्री भएकोमा छापामार सैन्यहरुले अबिर लगाएर खुसी मनाए । अग्निले खुसी हुँदै छापामार सैन्यलाई भनेकी थिइन् –“हेर सैन्यहरु अब हाम्रो पनि खुसीका दिन आउने भए । हामी पनि नेपाली सेनाका ठुलाठुला पदमा पुग्ने छौँ । नेपाल आमाको सेवा गर्ने छौँ । अब हामीले हाम्रो देशको सेवामा रगत र पसिना बगाउने छौँ ।” उनको भाषण सुनेर सबै छापामार सैन्यले जोडजोडले ताली बजाएर खुसीको आँसु झारे । केही समयको अन्तरालपछि नेपाल सरकार र अन्तर्राष्ट्रिय शान्तिमिसनको सहयोगमा विभिन्न छापामार सैन्यहरुको वर्गीकरण भयो । सम्पूर्ण छापामार र सैन्यहरुका हातहतियार, गोलाबारुद, बन्दुकहरु क्यान्टोनमेन्टमा राखियो । कति छापामार सैन्यहरु योग्य र कुशल बने भने कति घाइते, अङ्गभङ्ग छापामार सैन्य अयोग्य घोषित भए । यही छापामार सैन्यको लस्करमा अग्नि पनि आप्mनो वैशाखीको सहारामा उभिएकी थिइन् । उसले हतारहतार आप्mनो मन्त्रीलाई हेरेर सलाम ठोक्यो तर मन्त्रीले ध्यान दिएनन् । उसले पुनः ठुलो स्वरमा भनी – “मन्त्रीज्यू, म दिलमाया ‘अग्नि’” तर मन्त्रीले नचिने भैmँ ग¥यो र अर्को छापामार सैन्यतिर नजर दौडायो । मन्त्रीज्यू विस्तारैविस्तारै अन्य छापामार सैन्य जाँच गर्दै अघि बड्यो । उसको आँखाबाट विलीन भयो । अग्निको आँखाबाट आँसुका धाराहरु तपतप हरियो चउरमा खस्यो ।
ऊ वैशाखीको सहारामा विस्तारै भुइँमा थचक्क बसी । उसले रातो रुमालले नजानिँदो पाराले आँखाको आँसु पुछी र ऊ सुँक्कसुँक्क गर्दै रोइरही। भोलिपल्ट सैन्य छाउनीमा सूचना टाँसियो । अग्निसँगै थुप्रै छापामारहरु अयोग्य भएको सूचना छापियो । घाइते र अङ्गभङ्ग भएका छापामारहरु निरास, मौन, उदासउदास देखिन्थे अब चाहेर पनि के गर्न सक्थे र ? सामन्तवाद र पुँजीवादको विरोध एवं सर्वहारा जनताको पक्षमा हतियार उठाएका थिए तर आज त्यही हतियारले शरीर छियाछिया पारेको छ । हृदयमा धारिलो छुराले रोपेभैmँ भएको छ । मनमा गहिरो चोट लागेको छ । अब जिन्दगीमा त्यो चोट कहिले निको हुने छैन । कुनै डक्टर र औषधिले बिसेक हुने छैन । अग्निले दुवै हातले आँखामुख छोप्दै सुँक्कसँुक्क गर्दै रोइरही । अयोग्य सैन्य घोषणा भएपछि सम्पूर्ण छापामार सैन्यहरुलाई भोलिपल्टै छाउनी छाड्ने आदेश भयो । अग्निले आप्mनो टिनको बाकससहित रातो तारे झोला बोकेर साथीहरुसँग बिदा भई । सबै अयोग्य सेनाहरु आआप्mना घरतिर लागे । ऊ आप्mनो टिनको बाकस टाउकोमा बोकेर वैशाखीको सहारामा मनभरी अदृश्य मनका बोझहरु बोकेर टिनको बाकस र रातो तारे झोला साथमा लिई लुखुरलुखुर दश वर्षपछि घरतिर आई । उही पुरानो कच्ची सडक, ढुङ्गे गोरेटो बाटो अनि पुराना माटोको भित्तोले टालेको दिवाल, खर र टिनको छानोघर, उही पुरानो भत्किसकेको चौतारो । बुढो वरपीपलका रुखहरु ढल्न तयार भए भैmँ देखिन्थे ।
उनी विस्तारै पाइला चाल्दै आप्mनो घरमा आइन् । खै के घर भनौँ ? खण्डहर कि चिहान घर । पुरानो काठको मक्किसकेको घर । थोत्रो र ढल्न तयार भैmँ रहेछ । उनले मूल ढोका खोलिन् । काठको ढोका नै ढल्ला भैmँ भो । घर वरिपरि लामालामा झारपात र लहरा रुखहरुले ढाकिएको रहेछ । उनलाई गाउँका पुराना साथीसँगीहरुले चिने तर बोल्न सकेनन् । एक बालसखी माइलीले भने उनको छेउमा गएर विरह वेदना पोखी– “तिम्रो आमा पिरले यहीँ घरमा झुन्डेर मरिन् । तिम्रो बाउलाई आतङ्ककारीको बाउ भनी यातना दिएर घरको मूल खाँबोमा बाँधेर शाही सेनाले गोली ठोक्यो । ठुलो दाजु रामेलाई छापामारको दाइ क्रान्तिकारी गोरिल्ला भनेर काली नदीको किनारमा आप्mनो चिहानको खाल्डो खन्न लगाएर त्यहीँ इन्काउन्टर गरेर खाल्डोमा लास पुरिदिए ।” रातको एघार बजिसकेको थियो । उसकी बालसखी माइली पनि भोलि भेट्ने वाचा गर्दै आप्mनो घरतिर लागी । अग्निको सबै आशाहरु निराशामा परिवर्तन भयो । उनीसँग अब कोही थिएनन् । प्यारा आमाबाबु, दाजुहरु सबै गुमाइसकेकी थिइन् । ऊ अब रित्तोरित्तो, शून्यशून्य थिई । उसले रातो तारे झोला खोलेर हेरी । आप्mनो छापामार सैन्यको परिचय पत्र, दुईतिर चुल्ठो बाटेकी सरल सुन्दर तस्बिर । सेतो कालो रङमा सजिएकी पन्ध्र वर्षकी किशोरी, तस्बिर हेरेर आपूm नै होइन जस्तो लाग्यो उसलाई । उसले आप्mनो डायरी र परिचयपत्र च्याती, चारैतिर च्यातिएका टुक्राहरु फालिदिई । “मैले गर्दा मेरा आमाबाबु, दाजुहरु सम्पूर्ण गुमाएँ । म हत्यारा हुँ, म पापिनी हुँ”, भन्दै छाती पिटिपिटी रुन थाली । उनले अयोग्य भएपछि पाएकी केही रुपैयाँहरु घरभरी छरिदिई । अब यो धनको के काम । ऊ पागल भैmँ भई । उसको सहारा वैशाखीलाई चुम्बन गरी, माया गरिरही । रातो झोलाबाट रातो स्कार्पm झिकी जुन उसले छापामार सैन्य छाउनीमा वार्षिक खेलकुद उत्सवमा निसानी प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप पाएकी थिई । त्यही रातो लामो स्कार्पmले मुलढोकामा पासो लगाएर झुन्डिएर प्राण त्याग गरी । छेउमा ठाडो पारेर राखेको काठको पुरानो वैशाखीले एक टकले हेरिरहेको थियो । परपर गाउँमा कुकुर रोइरहेको थियो, चारैतिर मेघगर्जनसहित मुसलधारे पानी परिरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्