मेरो अभियान ‘भ्रष्टाचार शून्य बाँके–२’



मेरो अभियान ‘भ्रष्टाचार शून्य बाँके–२’को मूलतत्वमा आधारित छ । सार्वजनिक खर्च, ठेक्का, योजना र सेवाको पारदर्शी अनुगमन, अनलाइन हेल्पडेस्क र सामाजिक अडिट सुनिश्चित गरेर म सुशासन र जवाफदेहितामा विश्वास राख्नेछु । म मान्छु कि भ्रष्टाचारले विकासलाई रोक्छ, जनतालाई पीडा दिन्छ । यसैले मेरो अभियानले प्रत्येक योजना डिजिटल सार्वजनिक विवरणमार्फत सार्वजनिक गर्नेछ ।

                                         दीपेन्द्र विष्ट, बाँके निर्वाचन क्षेत्र नम्बर २ नेकपाका उम्मेदवार

यस पटकको चुनावी अभियानमा तपाईँको प्रमुख एजेन्डा के हो ?

हाम्रो अभियानको मूल आधार नै जनताको सेवा हो । बाँके क्षेत्र नं. २ का प्रत्येक वर्ग, चाहे त्यो आदिवासी, दलित, मुस्लिम, पिछडिएको वा मधेसी होस्, सबैका समस्या सुन्ने र समाधान गर्ने मेरो प्रतिबद्धता हो । मैले हरेक गाउँ–टोल र बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएको छु ।
हाम्रो घोषणापत्रले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, रोजगारी, युवा स्वरोजगार र धार्मिक–सांस्कृतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । मैले केवल सडक पिच गर्ने होइन, सडकका छेउछाउमा छायाँ दिने रूख रोप्ने, खेलकुद र मनोरञ्जनका सुविधा विस्तार गर्ने लगायत जनजीवनलाई गुणस्तरीय बनाउने योजनाहरू राखेको छु ।

यस क्षेत्रको विशेषता के हो भने यहाँ बहुसांस्कृतिक र बहुधार्मिक समुदाय छन् । त्यसैले मेरो अभियानले सबै समुदायको हित र विकासलाई प्राथमिकता दिएको छ । विकास केवल भौतिक साधनमा सीमित हुँदैन । सामाजिक न्याय, समान अवसर र वातावरणीय दिगोपन पनि आवश्यक छ । यसैले मैले मेरो एजेन्डा यस्तो तयार पारेको छु जसले केवल अहिलेका समस्या मात्र समाधान गर्छ, भविष्यको नेतृत्वलाई पनि तयार पार्छ ।

तपाईँले घरदैलो, टोल–टोल भेटघाट गर्दै आउनुभएको छ । यसबाट के अनुभव लिनुभयो ?

प्रत्यक्ष भेटघाटले मलाई जनताको मन बुझ्न सहयोग पु¥यायो । डुडुवा, नेपालगन्ज र अन्य वडाहरूमा गएर भेट्दा स्पष्ट देखियो—जनताले सच्चा नेतृत्व र काममुखी व्यक्तित्व खोज्दैछन् । उनीहरूले मात्र गफ होइन, काम गर्ने उम्मेदवार चाहेका छन् । मेरो पक्षमा व्यापक उत्साह देखिँदैछ ।
घरदैलोका क्रममा मैले किसान, शिक्षक, महिला, युवाहरू, सुकुम्वासी र ज्येष्ठ नागरिकहरूलाई भेटेँ ।

उनीहरूले मलाई आफ्ना समस्याहरू सुनाए—खानेपानी अभाव, सडक बिग्रेको, बाढी व्यवस्थापन, विद्यालय संरचना, स्वास्थ्य चौकीको अभाव जस्ता । यिनै समस्या सुनेर म अझ दृढ भएँ कि काम गरेर देखाउनुपर्छ भनेर । त्यस्तै, युवा वर्गसँगको संवादले देखायो कि उनीहरू केवल रोजगार र स्वरोजगारको अवसर खोज्दैछन् । खेलकुद, स्टार्टअप, कोडिङ र डिजिटल मार्केटिङमा युवालाई सशक्त बनाउने योजनाहरूको चर्चा गर्दा उनीहरू उत्साहित भए ।

युवालाई केन्द्रमा राखेर धेरै कुरा गर्नुभएको छ । के भूमिका खेल्ने योजना छ ?

युवा नै हाम्रो क्षेत्रको भविष्य हुन् । उनीहरूलाई सकारात्मक, अनुशासित र सिर्जनशील बनाउने मेरो मुख्य लक्ष्य हो । मैले खेलकुदको माध्यमलाई यसै उद्देश्यका लागि प्रयोग गर्ने योजना बनाएको छु । भजिपुरवास्थित बन टाइगर क्रिकेट क्लबसँग अन्तक्र्रिया कार्यक्रम गर्दै मैले युवाहरूलाई खेलकुदमा सक्रियता देखाउने प्रेरणा दिन खोजेँ । त्यसैगरी, मैले टेक पार्क, डिजिटल इन्क्युबेसन सेन्टर र कोडिङ÷फ्रिलान्सिङ तालिम कार्यक्रममार्फत युवालाई व्यवसायिक दक्षता र रोजगारको अवसर दिन चाहन्छु । स्टार्टअप व्यवसायलाई बिनाधितो सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने र कर छुटको व्यवस्था गर्ने प्रतिबद्धता पनि मैले गरेको छु । यसले केवल रोजगार मात्र नभई युवालाई आत्मनिर्भर बनाउनेछ ।

भ्रष्टाचार र सुशासनका विषयमा तपाईँको दृष्टिकोण के हो ?

म सधैँ विश्वास गर्छु—कामले मात्र नेतृत्व प्रमाणित हुन्छ । मेरो अभियान ‘भ्रष्टाचार शून्य बाँके–२’को मूलतत्वमा आधारित छ । सार्वजनिक खर्च, ठेक्का, योजना र सेवाको पारदर्शी अनुगमन, अनलाइन हेल्पडेस्क र सामाजिक अडिट सुनिश्चित गरेर म सुशासन र जवाफदेहितामा विश्वास राख्नेछु । म मान्छु कि भ्रष्टाचारले विकासलाई रोक्छ, जनतालाई पीडा दिन्छ । यसैले मेरो अभियानले प्रत्येक योजना डिजिटल सार्वजनिक विवरणमार्फत सार्वजनिक गर्नेछ । जनताले प्रत्यक्ष नजर राख्न पाउनेछन् कि कुन योजना कहाँ पुग्यो, कसरी खर्च भयो भनेर ।

जनताले तपाईँलाई किन रोज्ने ?

म केवल नामको उम्मेदवार होइन, कामले प्रमाणित व्यक्तित्व हुँ । मैले खेलकुद, स्वरोजगार र सामाजिक क्षेत्रमा काम गर्दै ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छु । युवा, किसान, महिला, सुकुम्वासी र वृद्ध सबैसँग मेरो प्रत्यक्ष संवादले देखाउँछ कि म जनताको विश्वास जित्न सक्ने उम्मेदवार हुँ । मिलीजुली, मिलनसार र मेहनती व्यक्ति भएको कारण म सबै समुदायसँग सहज संवाद गर्न सक्छु । प्रश्नको जवाफ दिन झर्को मानेको छैन । समाजको हरेक वर्गको समस्या सुनेर समाधान गर्न तत्पर छु । यसैकारण मेरो नाम जनजनको मुखमा मुखाकार भएको छ र जनताले मलाई रोज्ने मुख्य कारण पनि यिनै हुन् ।

घरदैलो कार्यक्रमले तपाईँलाई कस्तो प्रतिक्रिया दिएको छ ?

घरदैलो अभियान अद्भूत अनुभव भएको छ । डुडुवा, नेपालगन्जका विभिन्न वडाहरूमा गएर देखियो कि जनताले मलाई नजिकबाट हेरेर विश्वास व्यक्त गरेका छन् । उनीहरूले मात्र मसँग कुरा गरेनन्, तर तारा चिन्हमा मतदान गर्ने प्रतिज्ञा पनि दिएका छन् । केही वृद्ध, महिला र युवा प्रत्यक्ष भेट्दा आँसु झरिने भावुकता पनि देखियो । यो देख्दा अझ दृढ महसुस भयो—जनताको सेवा गर्न ढिला गर्न नहुने ।

आगामी दिनमा तपाईँको लक्ष्य के हो ?

मेरो लक्ष्य बाँके २ लाई समृद्ध, दिगो र सुशासनयुक्त निर्वाचन क्षेत्र बनाउनु हो । बाढी र डुबान व्यवस्थापन, सडक, स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारका क्षेत्रमा ठोस काम गर्ने योजना छ । धार्मिक स्थल, पुरातात्विक स्थल र पर्यटन प्रवद्र्धनमा जोड दिनेछु । साथै भ्रष्टाचार शून्य अभियानको माध्यमबाट प्रशासनिक पारदर्शिता र जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छु ।

 अन्तमा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?

यो चुनाव केवल पार्टीको लागि होइन, योग्य, इमानदार र काममुखी नेतृत्वको लागि हो । आउनुहोस्, तारा चिन्हमा मतदान गरेर जनताको आवाजलाई शक्ति दिनुहोस् । बाँके २ को विकास, युवाको सशक्तीकरण, सामाजिक न्याय र सुशासनको लागि म दृढ प्रतिबद्ध छु । म निर्वाचन जिते पनि हारे पनि सदैव जनताको सहयोगी बन्नेछु । जनताका बीचमै रहेर उनीहरूका समस्या समाधान गर्नतर्फ लाग्ने प्रतिबद्धता जनाउँछु ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार