गाउँ गाउँमा गवेषणा कृतिको विमर्श



प्रा.डा कृष्णप्रसाद घिमिरे

परिचय

लुम्बिनी प्रदेशका केही गाउँघरतिर एउटा भनाइ प्रचलित छ । ‘कालीको पानी, समयमा खानी; मानिसको छुट्टै, बन्छ आनीबानी ।’ यो भनाइ साहित्यकार चूडामणि बन्धुमा पनि घटित भएको पाइन्छ । प्रस्तुत भनाइ भौगर्भिक स्थिति र वातावरणले गर्दा व्यवहारमा देखिने प्रत्युत्पन्नमतिको भाषिक पहिचान हो । यसको सान्दर्भिक अर्थ के हो भने काली गण्डकीमा बग्ने शालिग्राम पखालिएको पानी बाल्यकालदेखि किशोरहुँदासम्म जुन बालबालिकाले कम्तीमा पाँच सातपटक भन्दा बढी खाएका हुन्छन्; तिनीहरूको पहिचान छुट्टै प्रकारको हुन्छ । ऊ अरू व्यक्तिभन्दा काम, दाम र नाम कमाउनमा फरकगुण भएको व्यक्तिका रूपमा चिनिन्छर अग्रणी बन्छ । अचेल यो धारणा धेरैतिर पैmलँदै गएकोछ । त्यसैले नदी किनाराका व्यक्तिबाहेक अरू ठाउँका व्यक्तिहरू पनि कालीगण्डकी नदीमा नुहाउन, जल आचमन गर्न वा दुःख हरणको पुकारा गर्न गएका देखिन्छन् । रहवास, चिर्तुङ पाल्पामा जन्मेर हुर्केका चूडामणि बन्धु (रेग्मी, सन् १९३८ सेप्टेम्बर १४, वि.सं. १९९५ साल)ले कालीनदीमा कतिपटक नुहाएर किशोरकालसम्म कतिचोटि पानी खाए, त्यो आज गणनामा छैन; तर शालिग्रामका जलको प्रभावले हो वा नवप्रवर्तनात्मक चेत र अनुसन्धानात्मक कार्यले गर्दा हो । उनको पहिचान छुट्टै भएको स्पष्ट देखिन्छ । वास्तविक जीवनमा सानोदेखि ठूलो काम गर्नमा उनी सफल देखिएका छन् । शैक्षणिक, प्रशासनिक वा अनुसन्धानात्मक गरी उनले तीन प्रकारका काम गरेका छन् ।

ती तीनवटै काममा उनी प्रखर देखिएका छन् । जुनसुकै काममा होस्, उनको बेग्लै पहिचान बनेको पाइन्छ । अरू व्यक्ति कुरा गर्नमा धेरै केन्द्रित हुन्छन् भने उनी काम गर्नमा निपुण देखिन्छन् । त्यसैले अनुसन्धानात्मक कार्यमा उनको बेग्लै परिचय बनेको छ । बन्धुद्वारा विभिन्न समयमा गाउँ केन्द्रित भएर अनुसन्धान गरिएको ‘गाउँ गाउँमा गवेषणा’ कृति हो । यस कृतिको कृतज्ञता ज्ञापनमा लेखक स्वयंले कृतिबारे यस्तो धारणा व्यक्त गरेका छन् ः “गाउँ गाउँमा गवेषणा’ मैले नेपालका गाउँ गाउँको भ्रमण गरेर सम्पन्न गरेका अनुसन्धानको विवरण हो । यसमा वि. सं. २०२४ सालदेखि २०६९ सालसम्म देशका विभिन्न गाँउमा पुगेर भाषा र संस्कृतिका सामग्रीको सङ्कलन गर्दाका अनुभवलाई लिपिबद्ध गरिएको छ । वि.सं. २०२४ सालमा वागमती र जनकपुर अञ्चलका केही जिल्लाहरूमा बोलिने भाषाहरूको सर्वेक्षण, २०२५ सालमा चेपाङहरूको अध्ययन, २०२७ सालमा सिञ्जालीको अध्ययन, २०४४ सालमा राउटेहरूको अध्ययन, २०४४ सालमा राना थारूको सांस्कृतिक अध्ययन, २०४५ देखि नै पटक पटक कुसुन्डाको खोजी, २०६२ मा गन्धर्वहरूको लोकसांस्कृतिक अध्ययन अनि २०६५ र त्यसपछिको भाषा सर्वेक्षण कार्यक्रममा सहभागिता जस्ता विशेष अनुसन्धान कार्यक्रमबारेका आलेखहरू यस पुस्तकमा रहेका छन्; (बन्धु, २०८१ः पृ.कृतज्ञताज्ञापन)” ।

चूडामणि बन्धुकोे उपर्युक्त भनाइले कृतिको विषयका बारेमा आंशिक सङ्केत गरेकोे पाइन्छ । यो कृति अनुसन्धानात्मक कार्यको विवरणात्मक प्रस्तुति हो । यस ‘गाउँ गाउँमा गवेषणा’ (२०८१) लेखसङ्ग्रहमा बन्धुका जम्मा आठवटा लेखहरू सङ्गृहीत छन् । यी सम्पूर्ण लेखहरू क्षेत्रकार्यद्वारा उत्खनन गरिएका तथ्यलाई सङ्कलन गरी सत्यापित गरिएका अवधारणाहरू हुन् । यी लेखहरूले नेपालको भाषा, कर्णालीको अथाह लोकसंस्कृति, नेपालका आदिवासी चेपाङ, राना थारु, भ्रमणशील राउटे, कुसुन्डा र गन्धर्वहरूका बारेमा अनुसन्धान गरी व्यावहारिक तथ्य प्रस्तुत गरेका छन् । यिनले नेपाली हामी, आफ्नो नाभीमा बिना बोकेर त्यसका सुगन्धको खोजीमा भौंतारी रहने हिमालीमृग, अथवा ‘माल पाएर चाल नपाएका’ व्यक्ति जस्ता देखिएका छौं । यी लेखहरूमा हामीले समयमा नै भाषा, लोकसाहित्य र संस्कृतिको महŒव बुझेर तिनको संरक्षण तथा संवद्र्धन गर्न सकेनौ भने भोलिका दिनमा हामी ‘पानी विनाका माछा’ जस्ता अस्तित्व र पहिचान विनाका हुनेछौँ भन्ने कुराको स्पष्ट सङ्केत गरिएको छ ।

उद्देश्य निर्धारण

प्रस्तुत लेख अनुसन्धानकर्ता चूडामणि बन्धुको ‘गाउँ गाउँमा गवेषणा’ लेखसङ्ग्रह (२०८१) कृतिको विमर्शमा केन्द्रित रहेको छ । यस कृतिद्वारा उनले समाजलाईतीन उद्देश्य समाजसमक्ष सम्प्रेषण गरेका छन् । पहिलो–नेपाल बहुजातीय देश हो । यहाँका बहुसंख्यक आदिवासी जनताहरूको आआफ्नै परम्परित समाज, भाषा, संस्कार र संस्कृति छ । तिनीहरूको अनुसन्धान गरी भाषिक, लोकसाहित्यिक र सांस्कृतिक वैशिष्ट्यको अविलम्ब उत्खनन तथा संरक्षण गर्नु आजको आवश्यक हो । दोस्रो– नेपाल बहुधार्मिक देश हो । यहाँ घुमन्ते परिवारका राउटे, कुसुन्डादेखि आर्य एवम् भोट बर्मेली भाषा परिवारका शेर्पा, तामाङ, चेपाङ, थारु लगायतका आदिवासीसमुदायको आफ्नै परम्परित मान्यता, विश्वास र प्रचलन छ । नेपालको हिमाली,पहाड उपत्यका तथा समथल प्रदेशका भौगर्भिक विशेषता फरक फरक छन् तापनि यहाँ बस्ने जातिहरूमा मानवीय सञ्चेतना, धार्मिक सद्भाव र अटुट मित्रता छ । आयातित इसाई, यहुदी लगायतका धर्ममा बाहेक नेपालका सनातनी धार्मिक समुदायमा भगवान् शिवको परिवारमा मेलमिलाप भएजस्तै धार्मिक सद्भाव, सहिष्णुता, सहसम्बन्ध तथा आपसी मूल्य मान्यताको समानतामा आधारित छ । यिनीहरूमा मिलेर बस्ने भावनाका साथै विद्वेष र वैमनस्यविहीन मानवीय चिन्तनको विशेषता पाइन्छ । तेस्रो– नेपाल बहुसांस्कृतिक फूलबारीकोदेश हो । यहाँ हिमाल, पहाड, तराईको भौगोलिक विविधता भएजस्तै सांस्कृतिक विविधता पनि छ । उपचार पद्धतिमा परम्परित वैज्ञानिक अक्षुण्य ज्ञान लुकेर रहेको भेटिन्छ । ती लुकेका ज्ञानमा योग, साधना र तपस्थलको महŒव र तथा गुणग्राही चिन्तन छ । त्यसैले समयमा ती ज्ञान र परम्पराको अनुसन्धान तथा संरक्षण हुनु आवश्यक छ भनी सचेत एवम् सजग गराउने सङ्केतात्मक अभिव्यक्ति यसमा पाइन्छ । क्षेत्रकार्यद्वारा सम्पादितयस कृतिबाट भाषा, लोकसाहित्य तथा संस्कृतिको सहीे अन्वेषण गरी सामाजिक आवश्यकताको सङ्केत गर्नु चूडामणि बन्धुको मूल उद्देश्यरहेकोे देखिन्छ ।

कृतिको पहिचान र लेखहरूको समीक्षा

प्रस्तुत ‘गाउँ गाउँमा गवेषणा’ (२०८१) कृतिमा चूडामणि बन्धुका जम्मा आठलेख सङ्कलित छन् । यसमा बन्धुको पहिलो लेख ‘२०२४ सालको भाषा सर्वेक्षण’ भन्ने हो । यस लेखमा त्रि. वि.का तत्कालीन उपकुलपति श्री रुद्रराज पाण्डेले भाषा सर्वेक्षणको संयोजक भएर जान भनेपछि वि. सं.२०२४ पुस २३ गते पूर्वतिर प्रस्थान गरेर सिन्धुपाल्चोक र दोलखा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्दै २०२४ माघ २४ गते काठमाडौं आएको देखिन्छ । भाषा सर्वेक्षणमा रामप्रसाद भट्टराई र दैवज्ञराज न्यौपाने पनि सङ्कलकका रूपमा समावेश भएका हुन्छन् । यी तीन जनाको सर्वेक्षण टोलीद्वारा सर्वप्रथम काठमाडौंबाट चौतारा गएर तामाङ, माझी र पहरीहरूका भाषाको सामग्री सङ्कलन गरेको सन्दर्भ प्रस्तुत गरिएको छ । सूचकहरूको छनौट प्रक्रिया, सूचकाङ्कको गणना, भाषिक विभेदक, नाम, वचन, लिङ्ग र विशेषणमा देखिने साम्य तथा वैषम्यका आधारमा भाषाको परिगणना हुन्छ । भाषालाई छुट्याउने मुख्य आधारमा लिपि, ध्वनि प्रणाली (फोनेटिक्स), व्याकरण संरचना, शब्दसङ्लन (शब्दावली), सामाजिक प्रयोग, भौगोलिक क्षेत्र र सांस्कृतिक पहिचानहरू पर्दछन्; तर ती सबै कुराहरू शीर्षकमा समेटिएका छैनन् तापनि जातिहरूलाई वासस्थानमा भेट्दै शब्दसङ्लन गरेर अन्यत्र र त्यस ठाउँका नेवारजातिको तुलनात्मक सङ्केत पनि गरिएको छ । त्यसरी नै थामी, चरिकोटपूर्व जिरीका जिरेल, दोलखाका आफूलाई सूर्यवंशी भन्ने सुनुवार, जिरी वरिपरि डाँडाहरूमा बस्ने शेर्पा, काठमाडौँदेखि पूर्व जिरीसम्म प्रायः सबै गाउँमा पाइने तामाङ, काभ्रपलान्चोकका दनुवार सबैको भाषा सङ्कलन गरिएको चर्चा पहिलो लेखमा उल्लिखित छ । यसले ती समुदायको बस्ने ठाउँ, भेषभूषा र खानपान आदिका विषयलाई साङ्केतिक रूपमा निम्नानुसारले सङ्क्षिप्त चर्चा गरी प्रशस्त अनुसन्धानको आवश्यकता औंल्याइएको छ ः

माझी

यस ‘२०२४ सालको भाषा सर्वेक्षण’ लेखमा माझी, पहरी, नेवार, थामी, जिरेल, सुनवार, शेर्पा, तामाङ, दनुवार, आदिको सङ्क्षिप्त सांस्कृतिक परिचय र भाषिक चर्चा गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी र इन्द्रावती नदीको किनारमा माझीहरू बस्छन् । यिनीहरूको आर्थिक अवस्था राम्रो देखिँदैन । माझीका थरहरू कुसुवार, राई, दुधकुसुुवार, कास, दनुवार, आदि धेरै हुन्छन् । यिनीहरूले बोल्ने माझी भाषामा नाम, सर्वनाम, विशेषण र क्रियाका स्त्रीलिङ्गी रूप छन् तापनि भोट बर्मेली भाषाको प्रभावले नाम बाहेक अरूमा पुलिङ्गी रूपको प्रयोग हुन्छ भनी बन्धुले उल्लेख गरेका छन् ।

पहरी

माझी जस्तै पहरीहरू पनि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा कम र ललितपुर जिल्लामा बढी बसोबास गर्दछन् । यिनीहरूको भाषा र संस्कृति नेवारसँग बढी मिल्दछ । पहरी भाषामा नाम र सर्वनामको बहुवचन बनाउन वालको प्रयोग हुन्छ। जस्तै फोटो (छोरो) फोटोवाल (छोराहरू) भनिन्छ । पहरीहरूले बिहे गर्दा मङ्गलबार र बुधबार भिŒयाउँछन् । यसमाबन्धुले पहरी र नेवार भाषामा निकै साम्य छ भनी चर्चा गरेका छन् ।

नेवार

काठमाडौँ उपत्यकाबाहेक दोलखा जिल्लामा बसोबास गर्ने नेवारहरूले भीमसेन गुप्तावास बस्दा बोलेको भाषा हो भन्ने धारणा राखेको पाइन्छ । यिनीहरूले दोलखा तथा सिन्धुपाल्चोक जिल्लाका तौथली, बाह्रविसे आदि ठाउँमा बसेर कृषि तथा घरेलु लुगा बुनेर गाउँमा बेच्ने गर्दछन् । दोलखाको सदरमुकाम चरिकोट भएपछि बजारको महŒव घटेको देखिन्छ । यहाँका नेवारहरू भीमसेन, त्रिपुरा सुन्दरी, बालकुमारी, काली, नाटेश्वर, हरिसिद्धि, पशुपति, गणेश, बज्रयोगिनी र सरस्वतीको पूजा गर्छन् । काठमाडौँका नेवार भाषाको प्रभाव यहाँ बढी पाइन्छ भनी बन्धुले उल्लेख गरेका छन् ।

थामी

कृषि र पशुपालन गर्ने थामीका अनेक थर हुन्छन् । यिनीहरूको पहिरन लुकुनी, पटुका र दौरा सुरुवाल हो । यिनीहरू हिन्दु पर्वहरू मान्ने र उपवास बस्ने गर्छन् । नाम र सर्वनामको बहुवचन बनाउँदा सुस्पाका थामीहरूले पाली र घुस्कुनका थामीहरूले पालिङ् प्रयोग गर्छन् भनिएको छ । जस्तै– मि (मान्छे) मिपाली (मान्छेहरू) हुन्छ । यस भाषामा व्याकरणात्मक लिङ्ग व्यवस्था छैन ।

जिरेल

दोलखा जिल्लाको चरिकोटदेखि पूर्वमा रहेको जिरी ठाउँमा जिरेल जातिहरूको बसोबास छ। जिरेलको शारीरिक गठन र व्यवहार केही मात्रामा सुनुवारसँग मिल्छ । जिरी खोला वरिपरिका रातामाटा ढुङ्गे, बादल, भण्डार, कोट, चेप्टे, यार्पा, सिगरी, डांग्रे, ज्यार्ङा, बुही आदि गाउँहरूमा यिनीहरू बसेका छन् । जिरेलहरू हिन्दू पर्व मान्छन् र आफ्ना सबै पितृकार्य लामाबाट गराउँछन् । तर जन्म, विवाह र मृत्यु संस्कार शेर्पाहरूले झैँ गर्छन् । यिनीहरूको मुख्य व्यवसाय कृषि नै हो भनिएको छ ।

सुनुवार

पूर्व २ नम्बरको लिखुखोला र खिम्ती खोलाका किनारमा सुनुवार बसेका छन् । र आफ्नै भाषा बोल्छन् । यिनीहरूको भेषभूषा दौरा, सुरवाल, इष्टकोट, चोलो र फरिया हो । आफूहरूलाई सूर्यवंशी ठान्दछन् र सिम्रनगढबाट आएको भन्दछन् । सुनुवारहरू दोलखा जिल्लाको हाँवा, रसनालु, गैरी, दखी, हलुवा, नमाडी, फर्पु, सैंफु, सावा, भुजी, पिर्थी, यकङ, कास्थली, काती, दुलु, खिची, रगनी र सल्यानी गाउँहरूमा सुनवार जातिको बसोबास छ भनी अनुसन्धानमा उल्लेख गरेका छन् ।

शेर्पा

चूडामणि बन्धुले अनुसन्धानमा उल्लेख गरे अनुसार नाम्चे बजार र जिरी वरिपरिका बुलडाँडा, सेतुगाउँ, चोम्बु, गोली, गुमदेल, क्याबार, कवन्चे गाउँमा यिनीहरूको बसोबास छ । शेर्पाहरू चौंरी–भेँडा पाल्छन् । कोदो, मकै, फापर र आलुको खेती गर्छन् । फागुनको औँसीमा पर्ने ल्होसारमा तीन दिनसम्म गुफामा बत्ती बाल्छन् र उत्सवका रूपमा पर्व मनाउँछन् । यिनीहरूको धर्म लामावाद हो भने यिनीहरूको आफ्नै भाषा संस्कृति पनि छ ।

तामाङ

नेपालको पोखरादेखि पहाडी क्षेत्र, भित्रीमधेस हुँदै जिरीको गाउँसम्म फैलिएका तामाङहरूले भोट बर्मेली परिवारको भाषा बोल्दछन् । भोट बर्मेलीभाषाका दृष्टिले यिनीहरूको सङ्ख्या पहिलो नम्बरमा पर्दछ ।शेर्पा र तामाङहरूको संस्कृतिमा केही समानता देखिए पनि निकै भिन्नता छ । यिनीहरूको धर्म पनि लामावाद हो र व्यवसाय कृषि र पशुपालन हो । यिनीहरूले पितृकार्य आफ्नै तामाङ लामाबाट गराउँछन् ।

दनुवार

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल वरिपरिका गाउँमा दनुवार जातिको सघन बसोबास छ। भारोपेली परिवारको भारतीय आर्य शाखाको भाषा बोल्ने दनुवार तराईका थारुको भाषा संस्कृतिसँग मिल्ने देखिन्छ तापनि निजी विशेषता भेटिन्छ । दनुवारका गोत्रभित्र अनेक कुल हुन्छन् । कुलमा बिहेबारी चल्दैन तर गोत्रमा चल्दछ । यिनीहरूले पितृकार्यमा बाहुन बोलाउँदैनन् तर देवकार्यमा बोलाउँछन् । सन्तान जन्मेको तेस्रो, पाँचौं, सातौं र नवौं वर्षमा मामाबाट छेवा गराउँछन् । जमरे औंशी, दसैँ,ैं तिहार, चण्डी पूर्णिमा, माघे सङ्क्रान्ति यिनीहरूका मुख्य चाडपर्व हुन्।् । विवाह गर्दा केटीका घरमा सगुनपात लग्ने दनुवारको रीति हुन्छ । जमरेऔंशीका दिन यिनीहरूले श्राद्ध गर्छन्।् । पेसा खेती, पशुपालन र लुगा बुन्ने थियो । भेषभूषामा लोग्ने मान्छेले कमिज, दौरा– सुरुवाल, पलाञ्चोके जुत्ता, भोटो, टोपी, इष्टकोट लगाउँछन् भने स्वास्नी मान्छेले चोलो, फरिया, पटुका, चेप्टे ढुङ्ग्री, पोते, फुली र बुलाकी लगाउँछन्। दनुवार भाषामा संज्ञा र सर्वनामको बहुवचनमा लक् वा लोक् जोडेर बनाइन्छ । जस्तै –घोडाको बहुवचनमा घोडालोक् (घोडाहरू) हुन्छ ।

प्रस्तुत दोस्रो लेखको शीर्षक ‘चेपाङहरूसँग माइसिराङमा’ भन्ने देखिन्छ । यस लेखलाई चूडामणि बन्धुले वि.सं. २०२५ सालको विदामा सहकर्मी बल्लमणि दाहाल न्युजिल्यान्डका भाषाशास्त्री रस कोहीसँग भगवानपुर जिल्लाको माइसिराङ चेपाङ बस्तीमा गएर डेढ महिनाको अनुसन्धानपछि तयार पारेका हुन् । यो उनको जातिगत अध्ययन हो । उनले जानकारी दिए अनुसार चेपाङहरूको बसोबास महाभारत पर्वत श्रृङ्खलाको दक्षिण पाखामा मकवानपुर चितवन गोरखा र धादिङ जिल्लामा रहेको छ । चेपाङहरूको भाषा भोट बर्मेली परिवारको हिमाली शाखामा पर्ने सार्वनामिक भाषा हो (बन्धु, २०८१ः पृ. १४) यिनीहरूले आफूलाई प्रजा मान्दछन् । चेपाङको उत्पत्तिमा रामायणकालीन कथालाई आधार बनाइन्छ र लवका सन्ततिहरू लोहारी चेपाङ र कुशका सन्तति कुसारी कुसुन्डाहरू हुन् भन्दछन् । लव र कुशको कथा रामायणमा बहुप्रचलित छ । यिनीहरूमा पनि जन्म, न्वारन, नामकरण, पासनी, केटाहरूको छौर र केटाकेटीको बिहा तथा मृत्यु संस्कार हुन्छ । चेपाङहरू ढुंगाको ओडारमा बस्ने वनका कन्दमूल तरुल, भ्याकुर, गिठा तथा जङ्गली फलफुलका साथै खोलाका माछा र वनका सिकार नै यिनका जीविकाका आधार हुन् । रुख चढ्ने, तरुल खन्ने काममा सिपालु चेपाङमा चमेराको शिकार गर्ने विशेष सीप हुन्छ । चिउरी फल थालेपछि लिसो टाँसी जाल थापेर चमेरा समात्थे (बन्धु २०८१ः पृ. १७) ।

चिउरीको बोट यिनीहरूको ठूलो धन हो। यिनीहरूले माछा र केराका धेरै परिकार भन्न रबनाउन सक्छन् । पहिरनमा लोग्ने मान्छेको भोटो, कछाड र स्वास्नी मान्छेको गुन्यो, चोलो हुन्छ भने बाँसका सामान बनाउन, मालसामान बोक्न, डोकाडालो, माछा मार्ने ढडिया, जाल, जाबी बुन्न र भोर्लाका पात र चोयाले बनेका स्याखु (स्याउ) पानी÷झरीमा ओड्ने बुन्न यिनीहरू सिपालु हुन्छन् । मान्छे मरेपछि खोलाको किनारमा खाल्डो खनी चिहान बनाउछन् । भदौको पूर्णिमामा मनाइने छोनाम चेपाङहरूको मुख्य चाड हो भन्दै धर्म, संस्कृति, परिवारको चालचलन आदिका विषयमा क्षेत्रीय अध्ययन गरी बन्धुले आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । लवका सन्तति मानिने चेपाङहरूको सीप नेपाली समाजले लिन नसक्दा हराउँदै गएको छ भने उनीहरू यति गरिब हुनुको कारण राज्यले खोज्ने विषय भएको देखिन्छ । अनुसन्धानकर्ता तथा भाषाशास्त्रीबन्धुको तेस्रो लेख ‘सिँजामा कर्णाली लोकसंस्कृतिको खोजी’ रहेको छ। वि.सं. २०२७ साल वैशाखको अन्त्यतिर सत्यमोहन जोशी, बिहारी, कृष्ण श्रेष्ठ, स्थिर जङ्गबहादुर सिंह प्रदीप रिमाल र चूडामणि बन्धु सहित पाँच जनाको टोली जहाजबाट जुम्ला पुगेको हुन्छ । जुम्लामा उत्रेपछि सबैले आआफ्नो भागको काम बाँडफाँड गरेर सुरु गर्छन् ।

चूडामणि बन्धु भने श्री चन्दननाथको मन्दिरभित्र रहेका दस्तावेजहरूको अध्ययन गर्नमा क्रियाशील रहन्छन् । जुम्लामा हुने पिउसाको टोकाइले यिनीहरूलाई धेरै दुःख दिएको हुन्छ । कर्णाली अञ्चलको सामान्य वस्तुस्थिति र सांस्कृतिक तथा सामाजिक महŒवका वस्तुबारे सूचना सङ्कलनगर्न थालिन्छ । सूचना प्राप्त भए अनुसार कनकपत्र सिरढुक्काका मोहनप्रसाद रेग्मीसँग छन् । ताम्रपत्र तलिचौरका रामशंकर देवकोटासँग छन् भनी जानकारी पाएपछि त्यसबारे खोजी गरिन्छ । गाउँको अन्वेषणमा रहँदा चौधबीस दराका थापा, बिष्ट रोकाया आदिथर भएका क्षेत्रीहरू जनै लगाउँदैनन् । बाज समातेपछि त्यसका आँखा सिएर बन्द गर्नुपर्छ र सघाएपछि मात्र खोलिन्छ (बन्धु २०८१ः पृ. २२) भन्ने ज्ञात हुन्छ । जुम्ला बजारमा नेवार थरका १५–१६) घर छन् । यिनीहरू यहाँ वि.सं. १९४५–०४६ सालतिर बडा हाकिमका साथ जागिरे भएर आएका थिए । अहिले यिनीहरूले श्रेष्ठ लेख्ने गर्छन् । नेवारहरूको बिहेबारी दैलेख, डोटी, सल्यान, जाजरकोट, सुर्खेतका नेवारहरूसँग चल्छ । जुम्लाको वस्तुस्थिति रहनसहन रितिथिति हेर्न र बुझ्न गाउँमा जाँदा जुम्लेलीहरूले धेरै गीत , मागल, उखान, टुक्काहरू भन्ने गर्दछन् । ‘लैजाउ भैँसी दिल्लीमा राम चाखुडी’, ‘हुम्लीका दोनाल्या बन्दुक ह्रैगो ह्रैगो दोलाघाट’ । त्यसपछि अनुसन्धानको यात्रा मिचा गाउँतिर जाँदा निकै राम्रो ढुङ्गाको देवल भेटिन्छ । यताका मान्छे पुराना मन्दिरलाई देवल, शिलास्तम्भलाई कुम्भ र ढुङ्गो धारालाई मुग्रा भन्दछन् (बन्धु, २०८१ ःपृ. २४) । जुम्लाबाट तातापानीको बाटो बाटो हुँदै सिन्जा जाने सल्लाह हुन्छ र घाम अस्ताउने बेलामा तातापानी पुगिन्छ । बाटामा सिरढुक्का पर्छ, कनकपत्र हेरी हालौं भनेर सोधपुछ गर्दा उनीसँग कनकपत्रका संरक्षणकर्ता मोहनप्रसादसँग भेट हँुदैन ।

हाम्रा अगुवा लक्ष्मीनारायणले बाटाका किनारमा रहेका १७ वटा शिलास्तम्भ देखाउछन् र तातापानी पु¥याएर उनी मोहनप्रसादको खोजीमा फर्कन्छन् ।त्यहाँ बस्दा हामीले नयाँ चलन देख्छौँ । कटुवालको खटन अनुसार घरघरबाट फेरुवा जम्मा हुन्छन् र हाम्रो खान पिनको बन्दोबस्त गर्दछन् । अर्का दिन बिहान गाउँमा बाबिरा मष्टको धामी, घरको माथिल्लो तलामा भएको देवताको स्थानमा जाँदा हामी पनि जान्छौँ । त्रिपुण्डधारी झाँक्रीको लामो टुप्पी फेटाले ढाकेको हुन्छ । धामी चुपचाप तमाकु खाँदै हुन्छ । गाउँका बड्डाले हाम्रो परिचय दिँदै भन्दछन् । ‘यिनीहरू टाढाबाट आएका छन्।् । घरमा सन्चो बिसन्चो क्या छ सबै हेर्दिनुस् महाराज’ । दमाईहरू बाहिर बसेर बाजा बजाउँदै गरेका हुन्छन्। धामीले घण्टा बजाउँदै लयमा पडेली भन्न थाल्दछ । पढेली गोरखालीहरूले बुझ्दैनन् । किनभने यो प्रचलित बोलचालको जुम्लीभन्दा बेग्लै हुन्छ । बाबिरा मस्टो भन्न थाल्दछ ।“ बार भाइ मस्टो र नौ बहिनी भुवानीको प्यारो मै हुँ, हेर कर्णाली सुकेर खोलो हुनेछ, बागमती सुकेर एककोस हिँडेर एउटा मान्छे भेटिनेछ । पङ्खीमा काग रहनेछ । सात वर्षकी कन्या रजस्वला हुनेछ । अनाज चिण्डामा ठिक्क हुनेछ” (बन्धु,२०८१ः पृ. २५) यस्तै धेरै प्रशस्ति पछि सन्च बिसन्चका कुरा गरेको सन्दर्भ उल्लेख गरेका छन् ।

अनुसन्धानको यात्राका क्रममा जुम्लाका विभिन्न गाउँको वर्णन त्यहाँ भएका कठिनाइहरू तिनीहरूले उपस्थिति गरेका परिस्थिति तथा प्राकृतिक सुन्दर दृश्यहरूको अवलोकन गर्दै संस्कृतिको अध्ययन, खोज, अनुसन्धान गर्दा राराको सुन्दर दृश्यको अवलोकन र पुनः फर्केर जुम्ला हुँदै काठमाडौँ आएका मनोरञ्जन पूर्ण घटनाहरूको उल्लेख यस लेखमा गरिएको छ । यसले जुम्लाका मठ मन्दिर, बस्ती, सुन्दर फाँट, डाँडा पर्वत, पाटन र अप्ठ्यारा बाटाहरू सामाजिक, सांस्कृतिक, भाषिक, भौगर्भिक सबै पक्षको वर्णन गरेर विकटता मात्र होइन, आत्मीय निकटता पनि प्रस्तुत गरेको छ । अनुसन्धानकर्ता चूडामणि बन्धुको चौथो लेख ‘भ्रमणशील र स्थायी बसोबास गरेका राउटेहरूसँग’ हो । यस लेखमा उनले आखेटजीवी तथा भ्रमणशील राउटेहरूको आजसम्म प्राप्त इतिवृत्तान्तलाई विवरणात्मक रूपमा प्रस्तुत गरेका छन् । नेपाली समाजमा राउटेहरूलाई राउटे, रावत, रौतिया, राउत, राजी, वनराजी, वनराजा र जङ्गली पनि भनिन्छ । भ्रमणशील राउटेहरू नेपालको महाकाली, सेती र भेरी अञ्चलमा घुम्ने हुँदा राजपुत्रबाट राउटे भएका हुन् भन्ने किंवदन्ती पनि छ । यिनीहरूले आफ्ना चार थर चन्द्र, पाल, सिंह र रावत हुने बताउँछन् । राउटेका विषयमा सर्वप्रथम कालिकोट जिल्लाका योगी नरहरिनाथले (१७ फागुन १९७१–१३ फागुन २०५९) वि.सं. २०१२ सालमा चिनाए पछि राइनहार्ड (सन् १९७४), डोरबहादुर विष्ट (१९७६), पूर्णप्रकाश नेपाल ‘यात्री’ (२०४०), गौरीबहादुर कार्की (२०४१), अमेरिकी अनुसन्धाता जाना फोर्टियर, रमेश खत्री (सन् १९१७) लगायतका विद्वान्हरूले राउटेका विषयमा अनुसन्धान र परिचर्चा गरेका छन् (बन्धु, २०८१ः पृ.३८) ।

यी सबैमा भेटिएका केही तथ्य तथा चूडामणि बन्धु र यादव खरेलले २०४३ सालमा राउटेको सांस्कृतिक अध्ययन गर्दा प्राप्त गरेका बासस्थान, इतिहास, सामाजिक संरचना, भाषा, आर्थिक जीवन, आमोदप्रमोद, आस्था तथा विश्वास, सामाजिक सम्पर्क र उनीहरूको जीवनमा देखिन थालेको परिवर्तन आदि सबैलाई समेटी यस लेखमा प्रस्तुत गरिएको छ (बन्धु २०८१ः पृ. ३७) । बन्धुको यस लेखले राउटेहरूको दिनचर्या मात्र होइन, मानवजातिको विकासका क्रममा पछि परेका अशिक्षित एवम् अर्धशिक्षितहरूसँग हुने चेतनाको स्तर र सिपलाई समेत समेटेको छ । सीमित औजारबाट आखेट र श्रमजीवी राउटेहरूले स्थानीय जङ्गलमा प्राप्त हुने टुनी, चाँप, सिमल, फँगल, गुराँस, उत्तिस, फलेदो, भुर्कुटा,े अर्जुन, सिर्पाे, काउलो, ओखर, जस्ता काठका दारबाटकाठका कोसी (आह्री), साना ठूला बाकस, मधुस, खाट, पिर्का (पिह्रा), बनाउँछन् (बन्धु, २०८१ः पृ. ४८) । राउटेहरू काठ र कुकाठ चिन्ने तथा काठका सामान बनाउने कलामा प्रवीण हुन्छन् ।

आफ्ना सामान विनिमय गरी चामल, गहुँ, धान, जौ, फापर, लिन्छन् । विनिमय गर्दा सन्तुष्ट भए आसिक पनि दिन्छन् । यिनीहरूका भौतिक सामग्रीमा डोका, नाम्ला, जावी, झोला, डोरा, जालहरू र काट्ने हतियारमा बन्चरो, ताछ्ने बसिला, खोप्ने छिना, डाला काट्ने खुर्पाहरू हुन्छन् । चलसम्पत्तिमा पकाउने, खाने र पानी राख्ने भाँडा, काट्ने र खन्ने हतियार, जाल, बाँध्ने डोरा, लगाउने र ओड्ने लुगाहरू तथा आफूले बनाएका काठका बटुका,आरी, दाबिलो÷पन्यु आदि हुन्छन् (बन्धु, २०८१ः पृ. ४४) । राउटेहरूको सरल अर्थव्यवस्थार सीमित आयस्रोत भएका कारणले बोक्न सक्ने सामग्रीबाट चलेको हुन्छ । यिनीहरू तरुल, भ्याकुर जस्ता कन्दमूल खनेर खाने, बाँदरको सिकार गर्ने तथा आफ्नै भाषा पनि बोल्ने राउटेको एउटा मुखिया र ठूलो समूहहरू भए उपमुखिया पनि हुन्छन् । आफ्नो चालचलन संस्कारमा मस्टो, झाँक्री, लामा मान्ने र अरूलाई आफ्नो चालचलन भन्न नचाहने प्रकृतिपुत्र राउटेहरूले साउने सङ्क्रान्ति, दसैँ, तिहार पर्व पनि मनाउँछन् । सुत्केरी हुँदा १५ दिनसम्म मासु खान नदिने र भात खान दिने यिनीहरूमा अनौठो चलन पाइन्छ ।राउटेहरूसँग कपडाको कमी हुने भएकाले शिशु र सुत्केरीकोेजीवन ज्यादै कष्टकर हुन्छ (बन्धु ,२०८१ः पृ. ५४) । मनोरञ्जन गर्दा यिनीहरू पंैसारी नाच्ने गर्छन् । राउटेकीश्रीमती पद्मिनी, राजाकी महारानी, गाइनकी सेजिनी हुन्छ भन्दै यस्ता गीत गाउँछन् ः

धरतीको राम्रो तोरी साक, सागर राम्रो जून । मान्ठ राम्रो दिल बस्याको, तिउन राम्रो नून ।। (बन्धु, २०८१ः पृ. ५७) यस लेखमा भाषाशास्त्री बन्धुले विभिन्न शीर्षक राखी राउटेहरूको सम्पूर्ण जनजीवन बुझ््न सजिलो बनाएका छन् । यो लेख अनुसन्धानमूलक विवरणात्मक भएकाले कुसुन्डालाई राजा मान्ने र कर दिने कुरा पनि यहाँ उल्लेख गरिएको छ । सरकारसँग भत्ता वृद्धिको माग राख्दै आफूहरूलाई आदिवासी नभनी राउटे नै भन्नुपर्छ भन्ने उनीहरूको धारणा पाइन्छ । अभिनेत्री रेखा थापाले आफ्नै फाउन्डेसनबाट सहयोग गर्न खेलेको भूमिका, राउटेलाई सुर्खेतले वन हेरालु पदको जागिरमा राखेको सन्दर्भ समेत उनले यस लेखमा उल्लेख गरेका छन् । यी आखेटजीवी र भ्रमणशील राउटेहरूलाई दुनियासरह बनाउन योजनाकार, मानवशास्त्री र चिकित्सकहरूले मिलेर निश्चित कार्यक्रमको थालनी गर्नु आजको आवश्यकता रहेको बन्धुले निष्कर्ष निकालेका छन्। त्यसैले राउटेका विषयमा थप जानकारी लिन यो आलेख सबै पढ्नुमहŒवपूर्ण र उपयोगी हुने देखिन्छ । भाषाशास्त्रीचूडामणि बन्धुको ‘गाउँ गाउँमा गवेषणा’ कृतिको पाँचौं लेख ‘वन राजा कुसुन्डाको खोजी’ रहेको छ । लेखकले शीर्षक अनुसार नै कुसुन्डाहरूको खोजी गर्दा आफूले देखेका, भेटेका र लेखेका सबै कुरा समेटी प्रस्तुत लेख लेखेका छन् ।

मानवशास्त्री र भाषाशास्त्रीले समाजको अक्षुण्ण धनका रूपमा अल्पसङ्ख्यक मानवजातिको रहनसहन, भेषभूषा, भाषा र संस्कृतिलाई लिएका छन् । त्यसले समाजमा विद्यमान युगौंदेखि रहेको ज्ञान, कला र सिपलाई सुरक्षित राखेको हुन्छ । कुसुन्डा मानवजाति र तिनका भाषाको लोप हुँदा वा तिनीहरूको व्यवहार रूपान्तरित हुँदा हाम्रो अमूल्य धन हराउने सम्भावना भएकाले त्यसको संरक्षण तथा संवद्र्धन गर्नु आवश्यक हुन्छ ।
नेपाल बहुजातीय देश भएको हुँदा यसको विशेष गरिमा छ । यहाँ वन राजा कुसुन्डा, चेपाङ, राउटे लगायतका भ्रमणशील आखेटजीवीहरूको बसोबास रहेकोछ । ती मध्ये आफूलाई वनको राजा मान्ने कुसुन्डा जातिका विषयमा स्वदेशी तथा विदेशी विद्वान्हरूले के कस्तो अध्ययन गरेका छन् ? त्यसको विमर्शसहित कुसुन्डाहरूको बसोबास, जनसङ्ख्या, पौराणिक प्रसङ्ग, बन्धनहीन वनवासी जीवन, कुसुन्डाहरूको दैनिक क्रियाकलाप, सामाजिक सम्बन्धमा मित र सैना लगाउने चालचलन तथा संस्कार, पूजाआजा, विश्वास र मान्यता, भ्रमण, मेला र यात्रा, खेल मनोरञ्जन, भौतिक संस्कृति, खानपान, च्याउ, कन्दमूल, सिकार, रुखसँगको सम्बन्ध, कुसुन्डा भाषा र रूपान्तरित जीवन, भाषिक सङ्कटको अवस्था जस्ता विषयमा यस लेखमा सूक्ष्म र गहन रूपले उल्लेख गरिएको छ । यसबाट नेपालमा कुसुण्डाको अवस्था र धरातलीय यथार्थ मात्र होइन, उनीहरूले मानव रक्षार्थ प्राप्त गरेको छाप्रा वरिपरि जनावर नआउने मन्त्रशक्तिको प्रयोग गर्ने ज्ञान, (जसलाई प्राचीन कालमा लक्ष्मण रेखा भनिन्थ्यो) त्यो लोप हुँदै गएको पाइन्छ ।

जङ्गली जनावरको सिकार गर्ने ज्ञान, विभिन्न प्रकारका च्याउ टिप्ने तथा खाने तरिका सबै हराउँदै गएका छन् । त्यो ज्ञानको हस्तान्तरण र संरक्षण मानव जातिका लागि उपयोगी थियो । तर नेपाली समाज एवं राज्यले यसतर्फ ध्यान नदिँदा आफ्नै अपूर्व ज्ञानबाट हामी वञ्चित हुँदैछौं ।यी सबै अन्वेषणीय पक्षलाई सूक्ष्म रूपले केलाएर यस लेखमा प्रस्तुत गरिएको छ । यस लेखले गोरस वर्जित खानपानमा रमाउने कुसुन्डा र विनोद प्रिय उनीहरूको बानीलाई समेत समेटेको छ । यसमा नेपालको सांस्कृतिक धन क्रमशः घट्दै गएको प्रति चिन्ता प्रकट गरिएको छ । यसले लेखकबाट कुसुण्डाको नालीबेली बुझ्न र उनीहरूका विषयमा आजसम्म भएका अध्ययनलाई उल्लेख गरी प्राज्ञिक मर्यादालाई प्राथमिकता दिएको छ । त्यसैले सबैका लागि लेख तथा कृति पठनीय बनेको देखिन्छ । विभिन्न फूलका थुङ्गालाई धागोले उनेर एउटै माला बनाए जस्तै जाति तथा समुदायका व्यक्तिलाई उनीहरूका संस्कार र संस्कृतिले अरूभन्दा फरक तर सुन्दर बनाएको हुन्छ । अनुसन्धानता चूडामणि बन्धुको छैटो लेख ‘रानाथारुहरूका माझमा’ रहेको छ । वि. सं. २०४४ सालमा बन्धु नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुँदा त्रिविका डाक्टर रमेश कुँवर र प्रतिष्ठानका फोटोग्राफर यादव खरेलसहितले पश्चिमतिरको यात्रा प्रारम्भ गर्दछन् ।

यिनीहरूको उद्देश्य कैलाली र कञ्चनपुर जिल्लाका राना थारुहरूको सांस्कृतिक अध्ययन गर्ने रहेको हुन्छ । नेपालमा थारु जातिको बसोबास पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भित्री मधेस र सम्पूर्ण मधेसमा रहेको छ । यिनीहरूलाई धर्ती पुत्र, आदिवासी, थारु रचौधरी आदि नामले पनि चिनिन्छ । भारतको बिहार र उत्तर प्रदेशका गाउँमा पनि थारुको बसोबास छ । थारुका धेरै वर्गहरू पनि हुन्छन् । यी थारुमा राना थारु, दङौरा थारु, कठिरया, सुनहा, तथा नवलपुर चितवनतिर मर्दनिया, सप्तरी मोरङतिर कोचिला थारु हुन्छन् । यिनीहरूनाथ सम्प्रदाय सम्बद्ध भएर कनकट्टा, महन्त, भगत र जोगी पनि बनेका हुन्छन् (बन्धु, २०८१ ः पृ. ९५) । सामान्यतः थारुभन्दा सबै एउटै देखिएतापनि अरू जातिसँगको बसोबास, परिवेश र परम्परित प्रचलनले गर्दा राना थारु र दङौरा थारुमा पनि घरको बनावट, सामाजिक संस्कार तथा लोक संस्कृतिका कारणले भिन्नता पाइन्छ । लेखकको सन्दर्भ राणा थारुसँग मात्रै केन्द्रित रहेकाले यस लेखमा अरूको चर्चा गरिएको छैन ।
प्रस्तुत लेखमा रानाथारुका दुई पाखे घर हुने, घर अगाडि पिँढी हुने, माटो र गोबरले लिपेका घरका भित्ता, गाई भैंसी बाँध्ने घारी (गोठ), दाउरा राख्ने कटकौरा (कोडकुरोे), घरभित्र बढार्ने मसिनो कुचो ‘बढनी’, घर बाहिरको ‘खराँचो’ भन्ने जस्ता धेरै सन्दर्भको उल्लेख बन्धुले गरेका छन् ।राना थारुकोबिहानको खाना ‘खानुइ’ दिउँसोको ‘दोहरौना’ फेरि बेलुकी खाने खानालाई ‘खानोइ’ भन्ने चलन छ ।

राना थारुले चाड पर्वमा गहुँका पिठाको पुरी, अनदि चामलको भात, तरकारी, दुध, दही, घिउ, मिठाई र जाँडको पनि प्रयोग गर्दछन् (बन्धु, २०८१ः पृ . ९७) । राना थारुका पुरुषको पहिरनमा धोती, टोपी,इस्टकोट र कन्धुनी हुन्छ भने अचेल लुङ्गी, सुरुवाल र कमिज, पाइन्ट लगाउँछन् । महिलाले अँगिया, घाँघरिया र उनियाँ लगाउँछन् । गरगहनामा चाँदीका बिन्दिया, नकबेर, नथिया, बुलाकी, घाँटीमा ‘कठुला’ सेतो हार ‘सिकरी’ लगौरा र हातमा चुडिया, औलामाबारा र मुदरी, गोडामा कल्ली, कतिले पाउजेब, तथा औंलामा ‘बिचियाँ’ आदि लगाउँछन् (बन्धु, २०८१ः पृ. ९९) । राना थारुहरूको दिनचर्या बिहान भालेको डाँक र चराचुरुङ्गीका आवाजबाट सुरु हुन्छ भने बेलुकी सूर्यास्त भन्दा अघि नै समाप्त हुन्छ ।
“राना थारुहरूको समाजमा समय विभाजनको आफ्नै शैली छ । बिहानलाई भोर, घाम उदाएपछिको समयलाई सबेर, बिहानको खाने बेलालाई कलवारी बेला, दिउँसोलाई दोपहर, सूर्यास्त भन्दा अघिको समयलाई सन्झार त्यसभन्दा पछिको समयलाई रातभनी छुट्याइन्छ । राना थारुहरू खेतीमा भर पर्ने हुँदा बउनई र कटनईको समयमा अर्थात् रोप्ने र काट्ने बेलामा साह्रै व्यस्त रहन्छन्।

असार, साउन, भदौ र असोजको चौमासा उनीहरूको खेतमै बित्छ्। …बाली भिŒयाउने, बेचबिखन गरी खर्च टार्ने, मगनी र विवाह गर्ने काम पनि यिनीहरूले धानबेचेर नै गर्छन्”(बन्धु, २०८१ः पृ.१००) । फागुनमा होली खेल्छन् , त्यसैगरी शनिबारका दिन छोरीलाई घर पठाउँदैनन्। परम्पराबाट प्रभावित थारुहरू हिन्दू हुन् तापनि लोकदेवताहरूको पनि पूजा गर्छन् र भोग दिन्छन् । घरको अगाडि पूजाआजा गर्दा झण्डा राख्छन् । तुलसीको पूजा गर्छन् र पिपललाई पानी चढाउँछन्। अतिथि सत्कारमा पनि यिनीहरूले राम्रोसँग गर्ने गर्दछन् । आफूभन्दा माथिका मान्यजनलाई ढोग भेट गर्दा नाताको शब्दसहित राम राम भन्छन् भने छोरी बुहारीलाई राजी खुसी रहो, आनन्द रहो भन्दछन्”(बन्धु, २०८१ः पृ. १०१) । राना थारुहरूले विवाह मङ्सिर, पुष र माघ महिनामा गर्छन् भने जन्त आइतबार वा बिहीबार जान्छन् । विवाहका समयमा दिदी बहिनी र भाउजुहरूले दुलहालाई हर्दी लगाइदिन्छन् ।त्यसबेला गीतबाट गाली पनि गर्छन् । पहिला थारु समाजमा कमैया प्रथा पनि विद्यमान थियो। अर्काको घरमा काम गरेर पेट पाल्नेलाई कमैया भनिन्छ । पुरानो मालिकले केही पैसा दिएको हुन्छ ।

त्यसको सावा ब्याज तिरेर फेरि अर्को मालिकले लगेको हुन्छ । उनीहरू मालिकका घरमा बस्छन् । वर्षभरिलाई जीवन निर्वाहको लागि केही निश्चित परिणाममा धान पाउँछन् । त्यसैले जीविका चलाउँछन् । कला,कौशलमा पनि थारुहरूकाठबाट हलो, जुवा, खटिया बनाउँछन् भने गोरुगाडाका चक्का पनि बनाउँछन् । त्यस्तै सन, मूल र महलुका डोरा बनाउँछन् । काठको कामका लागि रुखानी, बसला, कुलाडी,अरिया, रन्दा, गिरमिट आदि हतियारको प्रयोग गर्छन् । यिनीले विभिन्न रङमा रँगाएर ढकिया बनाएका हुन्छन् । थारु समाजमा अन्न राख्नका लागि डेहरीहरू बनाइन्छ।त्यसमा धान, गहँु आदि अन्न राखिन्छ भने साना डेहरीमा चामल, तोरी आदि राख्छन् । गीत नृत्यमा पनि राना थारुहरू रमाएर आफ्ना संस्कार तथा चाडपर्वहरू मनाएका हुन्छन् । यिनीहरूले दिउँसोतिर झिगडो गीत गाउँछन् । गीत प्रारम्भ गर्नेलाई मोडी भनिन्छ भने भट्याउनेलाई पछडिया भनिन्छ । दोपहरतिर गाउने गीतलाई झुमरा भनिन्छ। झुमरा र हुरदङ्गा नाच यिनीहरूका बिच बढी लोकप्रिय छन्। यिनीहरूले झुला र होली पनि मनाउँछन् । होलीमा गीत गाउँदै नाच्दै रमाएका हुन्छन्। प्रायः राना थारु आफ्नो व्यवसाय र प्रकृतिमा रमाएर बसेका हुन्छन् । यिनीहरूलाई आफ्नो समाज जस्तोे प्यारो अरूकेही लाग्दैन भन्दछन् । यसलेखमाराना थारुकाजन्मदेखि मृत्यसम्मको संस्कार तथा व्यवहार, चालचलन आदि सबै पक्षलाई सन्तुलित रूपमासमेटेर प्रस्तुतगरिएको छ । समग्रमाभन्दा खेतीकिसानी र पशुपालनमा बढी रमाउने थारुहरू सरल प्रकृतिका हुन्छन् । यिनीहरूमा निश्छलता र खानपानमा रमाउने विशेषता हुन्छ तापनि परिश्रमी तथा मिलनसार बानी जातीय गुण बनेको देखिन्छ भन्ने बन्धुको निष्कर्ष रहेको पाइन्छ ।

साहित्यकार चूडामणि बन्धुको यस कृतिमा सङ्गृहीत सातौं ‘ पोखराका गन्धर्वसँग’ सबभन्दा लामो लेख रहेको छ । चारजनाको अनुसन्धान टोलीले स्थलगत क्षेत्रकार्य गरी तयार पारिएको हुनाले यस लेखमा बन्धुले गन्धर्व जातिको इतिहास, पेसा, बसोबास, गायनकला र वर्तमान अवस्थालाई केलाएर कतिपय सुझावसमेत प्रस्तुत गरेका छन् । नेपालको एकीकरण र शाहवंशसँग गन्धर्वको इतिहास जोडिए तापनि कतिपय विषयमा ऐतिहासिक पुष्टिको आवश्यकता देखिएको छ । वि.सं.२०६२ साल असार २७ गतेदेखि असोज २९ गतेसम्म तीन महिना पोखरामा बसी चूडामणि बन्धु, कुसुमाकर न्यौपाने, मीना मानन्धर र मानबहादुर साहु चार जनाको समूहले गन्धर्व वा गाइने समुदायका गीतको स्वराङ्कन, टिपोट, दृश्यावलोकन, सहगमन तथा तथ्यसङ्कलनको जुन काम गरे, त्यो ज्यादै प्रशंसनीय छ । लोपहुँदै गइरहेको गन्धर्वहरूको गायनकला, घटनाप्रसारण, मनोरञ्जन र संस्कृति संरक्षणको पुनीत कार्यमा यसले अहम् भूमिका निर्वाह गरेको छ । खोज अनुसन्धानकर्ता चूडामणि बन्धुले नेपाली जीवित सांस्कृतिक सम्पदाको सर्वेक्षण परियोजना अन्तर्गत रहेर नेपाली लोकवार्ता तथा संस्कृति समाजको संलग्नतामा गन्धर्वहरूको अनुसन्धान गर्ने र कृति प्रकाशन गर्ने लक्ष्य लिएको पाइन्छ । उनले गन्धर्व सम्बन्धी अगाडि गरिएका कार्यहरूलाई कालक्रमिक रूपमा प्रस्तुत गरेर स्वदेशी तथा विदेशी विद्वान्प्रति सुरुमा नै आभार व्यक्त गरेका छन्। त्यसपछि बन्धुले बाटुलेचौरमा र अन्यत्र पनि छरिएर बसेका गन्धर्वहरूको अन्तर्वार्ता, संस्मरण, गीत, गाथा, कविता, काव्य, कथा, उखान एवम् मन्त्रहरूको सङ्कलन गर्नका निम्ति अडियो र भिडियो रेकर्डहरू प्रयोगमा ल्याउँछन् ।

अध्ययनका लागि आवश्यक सूचना, तथ्य तथा आफ्ना अनुभूतिलाई लिपिबद्ध गर्न दैनिकीकोपनि प्रयोग गरेका छन् । त्यस्तै तथ्याङ्क सङ्कलन गर्नका निम्ति केही प्रश्नावली र प्रत्यक्ष अवलोकनलाई पनि आधार बनाएका छन् । त्यसबाट गन्धर्वहरूको संस्कार, पर्व, उत्सव र प्रतियोगितालाई पनि आधार बनाएको उल्लेख गरिएको छ । उनीहरूको बसोबास प्रणाली, जीवनपद्धित, औषधोपचार विधि, खानपान, तन्त्रमन्त्र र रोजगारी सम्बन्धी सूचनाहरू अन्तर्वार्तामा र अवलोकनबाट सङ्कलित गरिन्छन् (बन्धु, २०८१ः पृ. ११६) । अन्वेषक बन्धुले गन्धर्वहरूको गीत र लोकजीवनबारे एउटा पुस्तक तयार गर्ने लक्ष्यका साथ अगाडि बढेको हुनाले उनीहरूको क्षेत्रिभत्र घुमेर कर्खाको सिद्धान्त तथा परम्परालाई समावेश गरेका छन् । गन्धर्वहरू बाटुलेचौर, लामाचौर, हेम्जा बेसी, तल्लो गगन गौडा र अर्घौमा स्थायी रूपले बसोबास गरेका छन् । उनीहरूलाई पहिला गाइने भनिन्थ्यो भने २०१३ सालतिर धर्मराज थापाले गन्धर्व भन्न थालेपछि अचेल उनीहरू आफूलाई गन्धर्व नै भन्न मन पराउँछन् । गन्धर्वहरूको इतिहास मध्यकालीन भारतको उज्जयिनीका राजा भोजका वंशमा जयमल राना, पत्ता राना, महावीर राना र गंगु तिवरीसँग पनि जोडिन्छ । उनीहरू चित्तौरगढको लडाईमा मारिन्छन् ।

जैमलका छोरा मानसिंह राना, गंगु तिवारीका छोरा संचन्द तिवारीका साथ आत्मरक्षाका निम्ति हिमालतिर लाग्छन् र रिडीमा आई बसोबास गर्छन् । त्यसपछि लसर्घा, लिमी राज्यहुँदै मानसिंहका वंशमा भक्ति खान र मिचा खान देखिन्छन् । मिचाखानका छोरा विचित्र खान, उनका छोरा जगती खान हुन्छन् । यिनैलाई कुलमण्डन पनि भनिन्छ । यिनी द्रव्य शाहका पिता हुन्छन् । त्यसपछि कास्की राज्यमा आक्रमण गरी कास्कीकोट जितेर राजधानी बनाउँछन् । गन्धर्वहरूलाई हेम्जा र बाटुले चौरमा बसोबासका लागि राजाबाट जग्गा प्रदान गरिन्छ । दिल्लीका सम्राट् शाहले कुलमण्डनलाई शाहको उपाधि प्रदान गर्छन् । त्यसपछि मात्र यिनीहरूलाई शाह भन्न थालिन्छ (बन्धु, २०८१ः पृ. ११८ र १९) । बन्धुलाई बाटुले चौरका रामबहादुर बानियाले भने अनुसार कुलमण्डन शाहको ग्रीष्मकालीन दरबार बाटुले चौरमा हुन्छ । यहीँ गन्धर्वहरूले उनीहरूका वीरताको गानमाकर्खा सुनाएको र मालसिरी गाएको सन्दर्भ उल्लेख गर्दछन् । गन्धर्वहरू माछा मार्न पनि सिपालु हुन्छन् । नेपालीको एकीकरण कसरी भयो ? भोट र मुग्लानमा नेपाली वीरहरूले कसरी युद्ध जिते ? कोत पर्व कसरी भयो ? आदिलाई रोमाञ्चमय ढंगबाट कर्खामा गीतद्वारा गाइन्छ (बन्धु, २०८१ः पृ. १२०) । गन्धर्वहरू सारङ्गी मात्र होइन, मादल पनि राम्ररी बजाउँछन्, नाच्न जानेका हुन्छन् । मधुरो स्वरले तीजे गीत, लोकगीत, कर्खा आदि गायन, नृत्य र वादन कलामा निपुण हुन्छन् । प्रतियोगिताको आजको युगमा सारङ्गी बादनमा यिनीहरूको दक्षता वृद्धि गरेर गन्धर्वहरूको पहिचानको सम्बर्धन गर्न सकिन्छ ( बन्ध,ु २०८१ः पृ. १२२) भनी सुझाव प्रस्तुत गरेका छन् ।

बन्धुले कर्खाहरू समाजबाट हराउँदै जानु भनेको नेपाली संस्कृतिको एउटा महŒवपूर्ण पक्ष लोप भएको मानेका छन् । यसमा समाज र इतिहासका धेरै कुरा लुकेका हुन्छन् । अहिले पहिचानका कुराहरूको खोजी गर्ने परम्परामा कर्खा गाउनुलाई पश्चगामी पनि भनिन्छ, तर संस्कृतिविद् तुलसी दिवसबाट कर्खा गायन तथा गन्धर्व संस्कृतिको समन्वयका लागि प्रतियोगिताको उद्घाटन गराइन्छ । त्यहाँगन्धर्वहरूका कर्खा सुनेर वृद्धवृद्धा, बालबालिका, युवायुवतीहरू सबै रमाउँछन् । उच्चस्तरीय कर्खा गायकलाई पुरस्कार पनि प्रदान गरिन्छ (बन्धु, २०८१ः पृ. १२३) । गन्धर्वहरूले पहिला ‘जदौ हजुर’भन्ने गर्थे भने अचेल नमस्ते मात्र भन्ने गर्दछन् । यिनीहरूको नाममा एकारान्तको प्रयोग पनि गरिन्छ । जस्तै– खिमे, तुले, मोहने, आइते, काले, आदि । गन्धर्वहरूले गाउँँगाउँ घुमेर बाहुनका घरमा रामायणका केही अंश, गुरुङका घरमा लोकगीतहरू र अन्यत्र घरपरिवार हेरी उनीहरूलाई मनपर्ने गीत सुनाउने गर्छन् । पारिश्रमिक दिएको कुरा लिन्छन् । अचेल परम्परागत शैलीमा परिवर्तन आएको छ । अहिले उनीहरू रेस्टुरामा र दोहोरी साँझमा गीत गाउन थालेका देखिन्छन् । यिनीहरू आपसमा गोप्य भाषा बोल्ने र पाल्से कुरा पनि गर्दछन् । सारङ्गीका धुनमा स्वर मिलाई प्रस्तुत गरिने गीतहरू उनीहरूका जीवनका अभिन्न अङ्ग बनेका हुन्छन् ।

यिनीहरूले वीरहरूका गाथा र घटना गीतमा गाएर श्रोतालाई करुण रसमा डुबाउँदै हार्दिकता प्रदान गर्दछन् । देशप्रेमको भावना, मनोरञ्जनपूर्ण हँस्यौली शैली र चलनचल्तीका लोकगीतको गायनले सबैलाई मन्त्रमुग्ध बनाएका हुन्छन् । (बन्धु,२०८१ः पृ. १२५) । यसरी वाद्य वादनसहितको गायनकलामा निपुणलाई गन्धर्व भनिन्छ । यिनीहरूका विषयमा साङ्गोपाङ्ग अध्ययन गरी गीतका उदाहरणसमेत दिएको हुनाले गन्धर्व सम्बन्धी थप जानकारी लिन यो लेख सबै पढ्नु आवश्यक हुन्छ । भाषाशास्त्री चूडामणि बन्धुको आठौं तथा यसकृतिको अन्तिम लेख ‘नेपालको भाषा सर्वेक्षणमा जाँदा’ हो । यसलेखमा अनुसन्धानकर्ता बन्धुले वि.सं. २०७४ सालमा सम्पन्न ९ वर्षे भाषा सर्वेक्षणको सङ्क्षिप्त चर्चा गरेका छन् । उनले २०२४ सालदेखि नेपालको भाषा र लोकवार्ताको सामग्री सङ्कलन तथा प्रकाशनमा देखाएको तल्लीनता अविस्मरणीय रहेको छ । त्रिवि सेवामा रहँदा वा २०५८ सालमा सेवानिवृत्त भएपछि पनि उनी अनुसन्धान र भाषा सर्वेक्षणमा सामग्रीको सङ्कलन गर्ने जस्ता क्षेत्रकार्यहरूमा आफूलाई निरन्तर संलग्न गराइरहेका हुन्छन् । त्यसैको परिणति एवम् लेखनको उपलब्धि बनेर देखिएको कृति ‘गाउँ गाउँमा गवेषणा’ हो । प्रस्तुत कृतिका सबै लेखहरूमा तथ्य र वस्तुनिष्ठताको प्रामाणिकता पाइन्छ । कपोलकल्पित भन्दा गते, मिति र तिथिसहितका प्रस्तुतिले गुणग्राही पाठकलाई विश्वास प्रदान गरेको छ । यसले लोकसेवाको तयारी गर्नेहरूका लागि पनि नेपालमा जनगणनाको अवस्था, २०११ सालदेखि २०७८ सम्म आउँदाको स्थिति र त्यसको सङ्क्षिप्त अवलोकन गराएको छ ।

स्वदेशी तथा विदेशी विद्वानहरूको संलग्नता कुन रूपमा रहेको छ । त्यसमा पनि चञ्चु प्रवेश गरिएको छ । त्रिविको भाषाविज्ञान केन्द्रीय विभाग र त्यसमा कार्यरत प्राध्यापक तथा भाषा अनुसन्धानमा संलग्न सबैको नाम यसमा उल्लेख गर्नाले तिनीहरूका योगदानको जानकारी प्राप्त भएको छ । नेपाली केन्द्रीय विभागमा लामो समयसम्म भाषा विज्ञान र अन्य विषयको पठनपाठनपछि भाषाविज्ञान केन्द्रीय विभाग स्थापना गराई भाषिक सर्वेक्षणमा लाग्ने प्रा. बन्धुले एम.ए., एम.फिल. र पिएच्.डी.का सयौँ शोधनिर्देशन गरी सुयोग्य चेलाहरू उत्पादन गरेका छन् । तिनीहरूलाई गवेषणामा उत्प्रेरित गर्ने तथा शोधकार्यमा संलग्न गराउने बन्धुको सदिच्छाले गर्दा पनि उहाँका धेरै शिष्यहरू छन् । यस लेखमा भाषा सर्वेक्षणका योजनाहरू व्यवस्थित रहनुका कारणमा अनुसन्धानकर्तालाई प्रशिक्षण दिएको हुनाले हो भन्ने तर्क बन्धुको रहेको छ । दानराज रेग्मीका कार्यको उल्लेख गर्दै भाषा वैज्ञानिक कार्य पद्धतिको चर्चा पनि गरिएको छ । यसले एकतिरले दुई सिकार गरेको छ । एउटा–भाषा सर्वेक्षण गर्दा सम्बन्धित भाषाका वक्ताको खोजी गर्ने र सामग्री सङ्कलनका साधनको उपयोग गर्ने सीप, अर्को – नेपालका अल्पसंख्यक मात्र होइन, बहुसंख्यक जनताले बोल्ने नेपाली भाषाको जगेर्नागर्नु हो । बन्धुले भाषाको पाइलट परियोजना झापामा काम गर्दा ‘माल पहाडी’ नयाँ भाषा प्राप्त भएको उल्लेख गरेका छन् ।यसमा उनले भाषा सर्वेक्षणका ९ वर्ष र त्यसको उपलब्धिमा ८८ भाषाहरूको प्रतिवेदन तयार गरी भाषाविज्ञान केन्द्रीय विभागको वेबसाइटमा सुरक्षित रहेको जानकारी दिएका छन् ।

आफ्ना लेखहरूमा बन्धुले ‘काम गर्ने कालु, मकै खाने भालु’ बनाएका छैनन् । काम गर्ने व्यक्तिले नै त्यसको श्रेय पाएको छ । यस लेखमा नामाङ्कित भएका सबै व्यक्तिलाई आफ्ना कार्यको उल्लेखले अवश्य गौरवबोध गराउने छ।बन्धुले सर्वेक्षणमा जाँदा–आउँदा र सम्बन्धित ठाउँमा बास बस्दा सहयोग गरेका सबै व्यक्तिहरूलाई समेत सम्झेका छन् । यति मसिना कुराहरू टिपी लेखहरूमा सान्दर्भिक गर्नु उनको निजी विशेषता हो। गुल्मीका बोटेहरूको खोजीमा जाँदा बाटाको अवस्था र संवाद तथा इलामको डाँफे गेस्ट हाउसमा बस्दा तातोपानी दिने कुरामा सासू र बुहारी बिच भएको कचकच लेखमा प्रयुक्त उदाहरणहरू हुन् । यिनले अहिलेको राजनीतिमा देखिएको अवस्थालाई पनि सूक्ष्मरूपले सङ्केत गरेको प्रतीत हुन्छ । यसरी प्रस्तुत लेखमा दाङका राउटे र बर्दियाको राजीसँगका तस्बिर एवम् अन्य कृतिभित्रका तस्बिर तथा लोकगीतका सङ्कलित रूपले सुनमा सुगन्ध थपेका छन् । त्यसैले प्रस्तुत ‘गाउँँगाउँमा गवेषणा’ कृति नेपाल जान्न र यहाँको भाषा, संस्कृति, सभ्यता तथा जातिगत इतिहास बुझ््न ‘माइलस्टोन’का रूपमा रहेको देखिन्छ । यसका लागि कृतिका लेखकअनुकरणीय व्यक्ति तथा साधुवादका पात्र बनेका छन् ।

सम्पादन तथा पुनरावलोकन

भाषशास्त्रीचूडामणि बन्धुले दर्जनौं कृतिहरूको सम्पादन तथा पुनरावलोकन गरेका छन् । उनको जीवनकालमा आइपरेका कठिनाइहरूसँग जुद्दै उनले जे जति काम सम्पादन गरेका छन्; त्यो नेपाली भाषा र नेपाली वाङ्मयका लागि महŒवपूर्ण योगदान भएको छ । यस्ता साहित्यकार चूडामणि बन्धुलाई राष्ट्रले सम्मान गर्ने र उनको योगदानलाई पाठ्यक्रममा समावेश गरी नेपाली जातीय पहिचान र अस्तित्वको महŒवलाई सार्वजनिक गर्नु आजको आवश्यकता बनेको देखिन्छ । उनले गरेका साहित्यिक कृतिको सम्पादन, भाषा, लोकसाहित्यको उत्खनन तथा सैद्धान्तिक स्थिरीकरण, बालसाहित्यको प्रवद्र्धन लगायतका कार्यले लेखन र पुनरावलोकनको महŒवलाई प्रस्तुत गरेको छ । नेपाल रनेपाली भाषाकोगरिमा यसको उद्गम क्षेत्र सिँजाबाट प्रारम्भ भई बिस्तारै नेपालभरि फैलिएको तथ्य सबैले स्वीकार गरेका छन् । त्यसैको वास्तविकतालाई चूडामणि बन्धुले यस कृतिमा समावेश गरी प्रकाशित गराएका छन् ।

कृतिको महŒव

नेपाल साङ्ग्रिलाको देश हो । यहाँ रहस्यले भरिएका तथा विश्वले थाहा नपाएका अनेकौं रहस्यमय कुराहरू अद्यापि विद्यमान छन् । तिनीहरूको अनुसन्धान सही समयमा हुनु संसारका लागि नै गौरवमय कुरा हुनेछ । ‘गाउँ गाउँमा गवेषणा’चूडामणि बन्धुको यस्तै कृति हो । यस कृतिले नेपाली भाषाको गौरव गाथा मात्र होइन, नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका धर्म, संस्कृति र परम्परा जस्ता लुप्तप्रायः कुरालाई उजागर गरेर महŒवपूर्ण योगदान गरेको छ । यस कृतिमा अन्यत्र न्यून मात्रामा पाइने वनराजा कुसुन्डा, राउटे, कर्णालीको लोकसंस्कृति, चेपाङहरूको चालचलन, राणा थारुहरूको परम्परा र संस्कृति, गन्धर्वहरूको गायन कला जस्ता महŒवपूर्ण विषयका साथै नेपालको भाषा सर्वेक्षण सम्बन्धी यथार्थ तथ्यलाई प्रस्तुत गरिएको छ । त्यसैले यस कृतिको देन संस्मरणीय छ र सबैका लागि पढ्नुपर्ने आवश्यक पुस्तक भएकालेसङ्ग्रहणीय पनि देखिन्छ ।

निष्कर्ष

अन्वेषकचूडामणि बन्धुले नेपाली भाषा, साहित्य र लोकसंस्कृतिकोे अनुसन्धानमा जेजति दक्षता देखाएका छन्, त्यो धेरै प्रशंसनीय छ । उनले लोकसाहित्य, बालसाहित्य तथा सङ्कटापन्न माझी, पहरी, नेवार, थामी, जिरेल, सुनुवार, शेर्पा, तामाङ, दनुवार, चेपाङ, राउटे लगायतका जातजातिको भाषा, धर्म र संस्कृतिको सङ्कलन, संरक्षण एवम् संवद्र्धनमा जुन अतुलनीय योगदान दिएका छन्, त्यही कारणले उनी पुरस्कृत बनेका हुन् । साहित्यकार तथा भाषाशास्त्री बन्धुको ‘ गाउँ गाउँमा गवेषणा’ केवल अनुसन्धानको पुस्तक मात्र होइन, यो नेपालका गाउँ र समुदायको लिखित इतिहास पनि हो । यसले नेपाली समाजको जातीय विविधता, मौलिकता र सांस्कृतिक सम्पदाको एकतालाई उजागर गर्दै भविष्यका नयाँ पुस्तालाई आफ्नो अस्तित्व तथा पहिचान बुझ्न उत्प्रेरणा दिएको छ । त्यसैले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा बहुसांस्कृतिक देश हो भनिएको हो । नेपालको भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै यस कृतिमा गरिएका अनुसन्धानहरूले विविधता बिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र बहुपक्षीय सद्भावलाई एकताको बलियो सूत्रमा बाँधेर संयुक्त रूपमा उभिन र समृद्धिमा लाग्न सबै नेपालीलाई उत्पे्ररित गरेको पाइन्छ ।

भाषाशास्त्री चूडामणि बन्धुले आफ्ना जीवनको उत्तरार्धचरणमा ‘गाउँ गाउँमा गवेषणा’ कृति लेखेर आत्मसन्तुष्टि लिएझैँ देखिन्छ । करिब पाँचदर्जन जति कृतिका लेखक तथा सम्पादक, प्रतिवेदक, विचारक, अन्वेषक, भाषाशास्त्री र साहित्यकार बन्धुका जीवनमा आएका धेरै आरोह–अवरोहपछि पुस्तक आएको हुनाले यसमा परिष्कृत विचाररपरिपक्व चिन्तनहरू मुखरित भएका छन् ।नेपालमा बसोबास गर्ने प्रत्येक नेपालीले सबै जाति र समुदायका संस्कार, चालचलन, खानपान, रहनसहन जस्ता जान्नैपर्ने विषयलाई छोटो–मिठो र सरल शैलीमा अभिव्यक्त गरिएको हुनाले कृति बोधगम्य बनेको छ । प्रस्तुत कृतिमा जाति विशेषका कला, सिप र मान्यतालाई उनीहरूको आत्मपहिचान तथा अस्तित्वको गरिमा राख्दै विवरणात्मक अभिलेखन गरिएको छ । यसमा उल्लिखित सबै जातिका रीतिरिवाजहरू सुन्दर फूलहरूका माला बनी उद्घाटित भएका छन् । त्यसैले बन्धुको प्रस्तुत कृतिले नेपाली माटोको सुगन्ध बोकेर आएको छ र सबै पाठकका लागि पठनीय तथा सङ्ग्रहणीय बनेको देखिन्छ । यस पुस्तकको विषयवस्तु तथा कार्ययोजनामा केन्द्रित रहेर राखिएको ‘गाउँ गाउँमा गवेषणा’शीर्षक सार्थक मात्र होइन, मूल्यवान् पनि बनेको छ । यसमा संलग्न भाषा, संस्कृति र लोकसाहित्यका अध्येता, प्रतिवेदक, सहयोगी र स्रोत व्यक्तिहरू सबै धन्यवादका संवाहक बनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार