बालापनको मुग्लान यात्रा



राजेन्द्रप्रसाद धिताल

बालापनका मिठा स्मृतिहरूमा पौडिदा अनन्त आनन्दको अनुभूति हुन्छ । मैले स्मृति सङ्गाल्न थालेबाट जीवन भोगेको अनुभूत गरिरहेको छु । आमाको कोखबाट जन्मे पनि म अधिकतर बज्युको काखमा हुर्केको छु । बज्युको बुइ चढेर हिमा नदीको किनार छोडेर, जन्मभूमि सिंजा उपत्यकासग विदा भएको छु । अग्ला लेख नाघेर गाड तरेर तराईको फाटमा झरेको छु । पहिलोपटक तराई झर्दाको अनुभूति मेरो हृदयमा अहिलेसम्म जीवित छ । सिंजा धिताल लिहीमा हाम्रो घर थियो ।लहरै घरैघरको लहर थियो । स्थानीय जनबोलीमात्यो लहरलाई मुखिया बाडा भनिन्थ्यो ।हाम्रो घर मुखिया बाडाको सबैभन्दा पहिलो थियो ।हाम्रो घर माथि एउटा धुपीको रुख थियो र नजिकै खोलो थियो । त्यसैले त्यो ठाउँको नाउँ खोला रुख थियो।मेरो आगनसगै जोडिएको लहरमा एउटा घरमा मेरो दौतरी थियो उसको नाम बुद्धि थियो । खोला रुख पारी मेरै बालवयकी फुपू राजकन्या थिइन् । मलाई मिठो सम्झना छ त्यो बाडामा हामी तिन बालबालिकाहरूको चकचकी थियो । हरेक घरमा जन्मने बच्चाहरू त्यस घरका लागि विशेष हुन्छन् । मेरो घरका लागि मेरो जन्म अझै झन विशेष थियो । मेरा आमा बुबाको विवाह ११ बर्षको उमेरमा भएको थियो । १९ बर्षको उमेरमा मेरा बुबा घर छोडेर भाग्नु भयो । लगभग १२ बर्षपछि उहाँ फर्केर आउनु भयो । हाम्रो संयुक्त परिवार थियो । लामो समयदेखि घरमा बालबालिका थिएनन् । बुबा घरमा नभएकोले आमाप्रतिलगभग सबैको करुणा भाव थियो । अकल्पनीय रूपमा १२ बर्षपछि शास्त्रीसम्म पढेर बुबा आउनु भयो । हाम्रो घरमा एकएक खुसी बर्सियो । त्यसपछि मेरो जन्म भयो । मैले बाल्यकालमा परिवारबाट मात्र हैन पुरै गाउँले र आफन्तहरूबाट असीमित माया पाए । गाउँका दिदी, फुपू, काकी, जेठीआमा र बज्युहरूको लाडिलो पात्रको रूपमा मैले स्नेह र ममता पाए । त्यो न्यानो आत्मीयतालाई म अहिलेसम्म पनि गहिरिएर अनुभूत गरिरहेको हुन्छु । कात्तिकको अन्तिम सातातिर हुनुपर्छ, म लगभग ५ बर्षको हुदो हु।घरमा हामी बसाइ सरेर तराई जाने कुराचल्न थाल्यो । बुबा तराईमा हुनुहुन्थ्यो ।उहाँले तराईमा जमिन किन्नु भएछ । कान्छो बुबाले म र बज्युलाई लिएर हिड्ने तयारी गर्न थाल्नु भयो । घरमा गाउँभरिका मान्छेहरू आउन थाले । यी हाट जान थाले भनेर कसैले खुसी व्यक्त गरेका छन्, कसैले कठै ! मुग्लानमा कसरी बस्लान भनेर चिन्ता प्रकट गरेका छन् ।

मेरो बालहृदयमा गम्भीर कौतुहलता छ, कस्तो होला यो हाट भन्ने ठाउँ, यो मुग्लानराम्रो होला कि नराम्रो ? म रातभरि मनमा कुरा खेलाइरहन्छु, मस्तिष्कमा हाटको चित्र खोज्छु कतै भेटिदैन । मलाई कोही भन्दैन मुग्लान कस्तो हुन्छ भनेर । मैले खोला रुख छोडनु पर्नेछ, घर छोडनु पर्नेछ, पारिको कोटडाडाबाट म टाढा हुनेछु । मेरो मनमा एक प्रकारको वेदना छ, मैले आमालाई पनि छोडनु पर्नेछ ।बिहान हुन्छ खोलारुख पारिबाट म जस्तै सानी राजकन्या फुज्यूखेल्न बोलाउछिन, नजिकैको साथी बुद्धि खेल्न आउछ, हामी खेल्छौ, रमाइलो गर्छौ । निकट भविष्यमा म हाट गैहाल्ने कुराले उनीहरू पनि खुसी छैनन् तिनीहरू मलाई त हाट गैहाल्नेछस भनेर दुख मनाउ गर्छन् । तर कतिपयका लागि यहाँ हाट जाने विषय निकै रोचक पनि थियो । हिमाली भेकका अधिकाङ्श मान्छेहरू हिउँदमा हाट जाने चलन छ । हाट एउटा समृद्ध स्थल हो भन्ने विश्वास यहाँ गहिरो थियो । एक दिन हाम्रो ओटालोमा धेरै मान्छे जम्मा भएका थिए । कोही उमेर ढक्लेका अग्रजहरू थिए । कोही युवाहरू थिए । म लगायत केही केटाकेटीहरू चासो दिएर कुरा सुन्दै थियौ । मुग्लानतिर जाने कुरा चलिरहेको थियो । भोलिबाट मुग्लानतिरको यात्रा सुरु हुने हुँदा तयारीको छलफल हुदै थियो। हाम्रो घरबाट बज्यु, म र कान्छोबुबा जाने भयौं । अरू गाउलेहरू पनि हामीसगै जाने रहेछन् ।मलाई अचम्म लागिरहेको थियो । आखिर के छ्र र हाटमा ? के हो यो हाटमा ? हाट कस्तो होला ? मेरो मनमा जिज्ञासाको हुरी चल्न थाल्यो । केही समयपछि सबै मान्छेहरू आआफ्ना घरतिर गए । भोलि हिड्ने कुरा सुनिश्चित भयो ।

मेरो मनमा भने छट्पटी थियो, जिज्ञासा थियोे, अन्योल थियो । कसलाई सोधेर आफ्नो जिज्ञासाको तिर्खा मेट्ने ? आमा अनभिज्ञ हुनुहुन्थ्यो । बुबा घरमा हुनुहुन्न्थ्यो । बालसाथीहरू सबै मजस्तै थिए । बज्युलाई बारम्बार सोधेर हैरान पार्थे, मलाई असाध्यै माया गर्ने भएर पनि बज्यू यो विषयमा जवाफ विहीन हुनुहुन्थ्यो किनभने उहाँले पनि हाट देख्नुभएको थिएन । पहिलेपहिले ओछ्यानमा मलाई भेडा चराउन दैलेख, दुल्लुर सुर्खेतको डाडासम्म पुगेको अनुभव सुनाउनु भएको थियो । अहिले हामी जान लागेको धेरै तलको ठाउँ थियो । त्यो ठाउँ बज्युले पनि देख्नु भएको थिएन । अन्ततः मैले जेठाबासग आफ्नो जिज्ञासा राखे । मेरा जेठाबा निकै असल र मायालु हुनुहुन्थ्यो । उहाँको बोलिमा मिठास थियो । जेठाबा मलाई धेरै माया हुनुहुन्थ्यो उहाँको गर्नुहुन्थ्यो । कहिलेकाही म्वाई खाने बेला दाह्री गालामा घोटिदिने हुनाले म अलि तर्केर हिड्थे । जेठाबाले जीवनका धेरै बसन्तभोट मधेस एकान्त गर्दै बिताउनु भएको थियो । कुरा सुन्दा मलाईजेठाबा त मुग्लानका बारेमा सबथोक जन्नेरहेछ जस्तो लाग्यो । धेरै कथाहरू जेठाबाका स्मृतिमा सग्रहित छन् झैं लाग्न थाल्यो । त्यस दिन जेठाबाले मसग केही मुग्लानका कथा सुनाउनु भएको थियो । मुग्लान टाढाको ठाउँ हो, त्यो परदेश हो भने जेठाबाले । मुग्लानका मान्छेले बोलेको बिझिदैन, लगाउने लुगा अर्कै हुन्छन् । डाडाकाडा हुदैनन् सबैतिर मैदान मात्र हुन्छ । जेठाबाले मैदान मात्र हुन्छ भन्दा मलाई घाम डुब्दा कसरी डुब्छन होला भन्ने लाग्थ्यो । मुग्लानका हाटहरूमा झिलिमिली हुन्छ भने जेठाबाले । मैले कसरी झिलिमिली हुन्छ ठम्याउन सकिन । मधेसमा बर्दिया भन्नेठाउँ छ ।

कैलाली छ त्यहाँ बेलुवा पुर गाउँ छ । त्यहाँ थारूहरूको बस्ती छ । जेठाबाले मलाई बताएका थिए । बेलुवापुरमा जेठाबाका एकजना मित छन् अरे । हाट गएपछि जेठाबा त्यहीँ बस्छन् अरे । मुग्लानमा चिसो हुदैन, हिउँ पर्दैन र कोही पनि फाटेका लुगा लगाउदैनन । मुग्लानमा भातैभात मात्र खान पाइन्छ, मुग्लानको भात त सेतो हुन्छ आदि आदि धेरै कुराहरू जेठाबाले मलाई सुनाए । जेठाबाले सुनाएका कथाहरू मलाई एकादेशका कथाजस्तै लागे । जेठाबाले जति बुझाएर भने पनि मेरो बालमष्तिकमा मधेसको चित्र बस्न सकेन । साझ पर्यो । छिमेकी कान्छो हजुरबुबा बस्न आउनु भएको थियो । उनी गाउँका मुखिया थिए ।गाउँलेहरू उनलाई काण्ठा मुखिया भनेर चिन्थे । मधेसमा अपनाउनु पर्ने सावधानीबारे उहाँ अर्ती दिन थाल्नुभयो । त्यो साझ हाम्रो पूरा परिवार गम्भीर थियो । ठूलो परिवार जम्मा भएको थियो । तिनजना फुपूहरू आएका थिए । जेठाबा, जेठीआमा र उनका छोराछोरीहरू, आमा, साहिलोबुबा, कान्छो बुबा र अरू छिमेकी कान्छा बाबाहरू आएका थिए । भोलि मुग्लान हिड्ने तयारी छ । पुरुषहरू गफिदै छन् । महिलाहरू सामल तयार गर्दैछन् ।बाटोभरि नास्ताका रूपमा खाने चिउरार फापरको बाक्लो रोटी डेस्सु तयार गरिएको छ । चामल र पिठोको भारी तयार हुदैछ । बाटामा ओढ्ने ओछ्याउने बिस्तारा तयार गरिदैछ, एकातिर तयारीको सिलसिला जारी छ, अर्कोतिर घरमा गहिरो वेदना गुम्सिएको छ ।

म मुग्लान जाने कुराले मेरी आमाको हृदयमा वेदना छ, आमा मलाई अगालोमा हाल्छिन र घुक्कघुक्क रुन्छिन् । बज्यु मधेस झर्ने कुराले फूपूहरू दुखी छन् । धेरै टाढा जाने हुन्, कहाँ हो कहाँ थाहा छैन, धेरै घाट तर्नु पर्ने, धेरै पहाड छिचोल्नु पर्ने, बाच्ने हुन कि मरिजाने हुन् थाहा छैन । कहिले फर्कने हुन ? फर्कन सक्ने हुन कि हैनन केही थाहा छैन । मेरो मन विचित्र रूपले विभाजित छ,एकातिर हाट जान पाउने, झिलिमिली देख्न पाउने खुसी । अर्कोतिर आमा लगायत धेरै प्रिय कुराहरू छोडेर जानुपर्दाको वेदना । रातभर मनमा कुरा खेलिरहे । छ्टपटी लागिरह्यो।म सधै बज्युसग सुत्थे । त्यो दिन आमासँग सुते।म सुत्न सकेको थिएन, राति बीचबीचमा आमा मलाई म्वाई खान्थिन र रुन्थिन । आमाको त्यो गहिरो पीडा म त्यतिबेला महसुस गर्न सक्दैनथे । म बज्यूसग जाने हुनाले त्यतिधेरै व्यथित चाहि थिएन । त्यो रात घरका कोही पनि राम्रोसँग सुतेनन । बिहान भयो । पूर्वमा झलमल्ल घाम लाग्यो । म घरको छत अर्थात थाडामा गए । पारिबाट राजकन्न्या फुपूले खेल्न आइजा भनेर बोलाइन, परबाट बुद्धि दाइले खेल्न बोलायो, म कतै गइन।मैले पूरै गाउँ हेरे । खोलारुख हेरे । नानीखोला हेरे । तल हिमा नदी हेरे । कहिले बज्यूसग त कहिले फुपूहरूसग गाइ चराउन गएको कोटडाडो हेरे, साइकुरको चौर हेरे ।

एकपटक पारि मामाको गाउँ हेरे । यी सबैलाई छोडेर जानुपर्छ भन्ने विचारले मन एकतमासले दुखेर आयो । अनायासै मेरा आखाबाट आसु झर्न थाले । हिड्ने तयारी अन्तिम चरणमा पुगेको थियो । हतार हतार खाना खायौं । बिदाइमा टिकाटालो गर्यौ र घरबाट निस्कियौ।अरू घरबाट पनि हाट जानेहरू निस्के । मुग्लान जानेहरू र बिदाइ गर्नेहरू हिमानदीको किनारमा जम्मा भए । हिड्ने बेला हुन थाल्यो । विछोड हुने सुनिश्चित भएपछि अब आमा, फूपूलगायत गाउँका सहृदयी महिलाहरू डाको छोडेर रुन थाले । हामी हिडिरह्यौ, हिमाको स्वरसगै रुने नारीको वेदना सुसाइरहेको थियो । म पनि रुदै बज्यूको पिठ्युँमा थिए । हामी टाढा पुगेका थियो तर पनि मेरा कानमा त्यो रोदन गुन्जिरहेको थियो । हिमा नदी अविराम आफ्नै गतिमा बगिरहेको थियो । नदी किनारको बाटो यात्रुहरूले भरिभराउ थियो । गाउँगाउँबाट लालाबाला सहित मानिसहरू हिडिरहेका थिए । कहाँसम्म पुग्ने हुन् यी मानिसहरू ? यो बाटो कहाँसम्म जाने होला ? यो नदी बगेर कहाँ टुङ्गिन्छ होला ? मेरो मनमा कुरा खेलिरहेका हुन्थे । हामीले आज घर छोडेका थियौ । मेरो मन आज स्थिर थिएन । बाटोमा थरिथरिका मान्छे भेटिन थाले । हाम्रै गाउँबाट पनि धेरै मान्छे हिडेका छन् । यो हिमाली भेकबाट हरेक हिउँदमा मान्छेहरू ओरालो झरिरहन्छन् । कसको गन्तव्य कहाँ हो मलाई थाहा छैन । मलाई मेरै गन्तव्य थाहा छैन ।साथमा धेरै मान्छेहरू छन् तर मैले भरोसा गर्ने मेरी बज्यू मात्र हुन् । अब त बज्यू मेरी एकलौटी सहारा बनेकी छन् ।यात्राको पहिलो दिन आज हामी धेरै टाढासम्म हिडेनौ ।हाम्रो गाउँभन्दा पश्चिम मेरो मावली गाउँ आचार्य लिही छ । उता पनि हामी आज हिड्ने खबर रहेछ । मामा माइजू लगायत मावली गाउँका धेरै सहृदयीहरू बाटामा आइपुगे । साथमा दाइ जिम र भाइ राम सङ्कर पनि आएका छन् । दाइ लगभग मेरो उमेरका छन् भने भाइ माइजूको पिठ्युँमा छ । ती दुई दाजुभाइ एकोहोरो मलाई हेरिरहेका छन् ।

म पनि उनीहरूसगै खेल्न उत्सुक छु, तर अहिले त्यो अवसर कहाँ पाइन्छ र ? विछोडको न्यास्रो लाग्दो वातावरण छ । कसैलेअर्ती उपदेश दिए, कसैले करुणा र सहानुभूति देखाए, कसैले बाटोमा खाने नासो कोशेली दिए । सबैभन्दा बढी त आफन्तहरूले स्नेहको बर्षा र आसुको धारा बगाए ।मान्छेहरूले खन्याएको मायाको धारामा मनिथ्रुक्क भिज्न पुगे । यतिबेला मैले आमालाई सम्झिन, घर सम्झिन, केवल माया गर्ने मामा र त्यो गाउँका आफन्तहरूलाई निर्निमेष हेरिरहे । मुस्किलले त्यो गाउँ छोडेर अगाडि बढ्यौं । मलाई मामाका छोराहरू पछिसम्म हेरिरहेका थिए, म पनि फर्केर हेरिरहन्थे । म कतिबेला बिस्तारै पैदल हिड्छु त धेरैजसो बज्यूकै पिठ्युँमा हुन्छु । आचार्य लिही देखिन छोड्यो । अब द्यार गाउँ आउदैछ । द्यार गाउँमा मेरी माइली फुपूको घर छ।अग्ला अग्ला देवदारुका रुखहरू धेरै भएको हुँदा सायद त्यो गाउँको नाम देवार गाउँ हुदै द्यार गाउँ भयो होला । यतिबेला मलाई त्यो केही थाहा थिएन । घर छोडेको पहिलो रात आज हामी यहीँ फुपूको घरमा बास बस्ने भयौं । मलाई असाध्यै रमाइलो लाग्ने ठाउँ माइली फुपूको घर पनि हो । मेरी फुपू साक्षात वात्सल्यकी प्रतिमूर्ति झै लाग्छ मलाई । फुपाजु पनि अत्यन्तै सहृदयी, हार्दिक र आत्मीय हुनुहुन्थ्यो । मेरा लागि सबैभन्दा महŒवपूर्ण पूर्ण कुरात्यहाँ मेरा दौँतरी दुईजना भाइहरू प्रेमानन्द र मणिकृष्ण थिए । आज हाम्रो बास यहीँ भयो । राति अबेरसम्म बज्यू, फुपूर फुपाजुले सुखदुःखका कुरा गर्नुभयो ।हामी भाइहरू अबेरसम्म खेलेर बस्यौं ।कान्छोबुबा गाउँमा कतै घुम्न निस्कनुभयो र अबेर राति मात्र आउनु भयो । बज्यूको तराई प्रवास यात्राले फुपूको घरलाई पनि उदास बनाएको मेरो कलिलो मनले महसुस गरिरहेकोको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार