मान्छे भित्र मान्छेको खोज !



विष्णु पादुका 

कसैलाई राम बनाएर हामी हनुमान हुन रुचाउँछौं हामी । र त राम बन्नेको लिगलिगे दौड फर्किफर्की आउँछ । कल्पनाका देवता मान्न राक्षस पनि विवश हुन्छ । मान्छेलाई फगत मान्छे हुन नदिन कति जाल झेल हुन् । कति गौंडा र तगारा हुन् । नयाँ नयाँ शिल्प र शैलीमा देख्न पाइन्छ रमिता । बेरोजगारको भेल बेलाबेला किनारा हेर्छ र फेर्छ । इतिहासहरू पुराण बनाउने संस्कार छ आधै गोलार्धमा । साच्चै आधा भन्दा बढी नै अँध्यारोमा बसेको हुन्छ धर्ती । मान्छेको टाउकोमा जेलिएको अँध्यारोको जालो कहाँ सजिलै फाट्छ र । रावणको लंका होस् एफ्स्टिन्को आइसल्याण्ड इतिहासका पहेली मात्र हुन् । सत्ताका धमिला धब्बाका उत्पादन । मान्छेलाई मान्छे बाहेक अरुथोक बनाउन धेरै सजिलो छ । अस्तित्व स्थापनाको बोझले मान्छे आफ्नै दास बनिरहेको छ । कसैलाई दास बनाउने चेतनाले आफै सकिने चेतावनी पाउँदैन उसले । समाज भन्नु पनि मान्छेको एक बौद्धिक सम्पादनको एक उपज मात्र लाग्छ आजको दिन । मान्छे कुनै एउटै उत्तरले समेटिने वस्तु होइन । ऊ पञ्चतत्वबाट बनेको शरीरमा सिमित जीव अवस्य होइन। स्मृति ,चाहना र अस्तित्व तीन तहमा फैलिएको हुन्छ मान्छेको आयाम । पहिलो तहमा हेर्दा मान्छे एक जीव हो नै । भोक , डर र प्रजनन प्राकृतिक कुरा भयो ।यसरी मात्र हेर्दा ऊ अरु जनावर भन्दा धेरै फरक देखिँदैन। मान्छेमा अहंको तुष्टि प्राकृतिक रूपमा देख्न सकिन्छ । तर यहीं एउटा बीउ लुकेको हुन्छ । अभिव्यक्ति र महसुस गर्ने क्षमता पीडाबाट भाग्छ । साच्चिकै पिडायुक्त हुन्छ सत्य । मान्छे पीडाको अर्थ खोज्छ चेतनशिल मान्छे । दोस्रो तहमा ऊ प्रश्न गर्ने प्राणी बन्छ । आफैसँग अनि अरु कोहिसँग पनि । म किन छु , म किन दुख्छु , अरू किन रोइरहेका छन् ?

यहाँबाट मान्छेले समाज बनाउँछ, भाषा बनाउँछ, कथा र बनाउँछ । उसको स्मृतिले उसलाई समयभित्र बाँध्छ । अतीतले पछ्याउँछ अनि भविष्यले तान्छ । अन्य जनावरहरू फगत वर्तमानमा बाँच्दछन् । मान्छे समयको कठघरा भित्र बाँच्दछ। नैतिक मान्छे तेस्रो तहमा मात्रै मान्छे मान्छे हुन्छ । जब ऊ आफू बाँच्न मात्र होइन, अरू बाँचोस् भनेर चिन्तित हुन्छ ।यहींबाट करुणा जन्मिन्छ । यहाँ ऊ प्रकृतिको भाग मात्र रहँदैन,
ऊ उत्तरदायी प्राणी बन्छ । उसले पहिलोपटक यस्तो पीडा अनुभव गर्छ । आफ्नो भन्दा अरूको पीडा महसुस गर्ने सामथ्र्य राख्छ । त्यसैले मान्छे शरीरले मात्र होइन, चेतनाले पनि मान्छे साबित हुन्छ । मान्छे त्यो क्षण हो ,जब स्वार्थले सम्भव भएको काम पनि अन्तरात्माले अस्वीकार गर्न सक्छ । अर्को शब्दमा मान्छे त्यो जीव हो जसले आफूलाई मात्र होइन, आफू बाहेक सबैसँग सम्बन्धित भएर बाँच्न खोज्छ । जब ऊ केवल बाँच्छ एक जीवका रूपमा तर ऊ बुझ्छ चेतना। जब ऊ सहन्छ र बचाउँछ मान्छे । चित्त बुझाउनुपर्ने विषय मात्र होइन यो । मान्छे भनेको बुझिँदै जाने, तर कहिल्यै नसकिने आश्चर्य हो । कुनै एक परिभाषा भनेको अन्तिम उत्तर होइन । हरेक परिभाषा एउटा ढोका मात्रै हो ।आउनु न अब अलि भित्र पसौँ त्यो ढोकाबाट । अस्तित्वको विरोधाभासमा मान्छे एउटा अचम्मको द्वन्द्व हो । ऊ प्रकृतिको भाग हो तर प्रकृतिबाट नै असन्तुष्ट हुन्छ । ऊ सीमित छ तर असीम चाहन्छ । ऊ मर्नेछ थाहा छ तर अमर हुनुको अर्थ खोज्छ । ढुङ्गा छ, रूख छ, जनावर छ तर तिनले आफ्नो अस्तित्वको बोझ बोक्दैनन् । मान्छे मात्रै यस्तो प्राणी हो जसले बाँचिरहनुमा आफैं समस्या जस्तो अनुभव गर्छ । त्यसैले मान्छे केवल जीवन होइन जीवनप्रति सचेत भएको अर्को जीवन हो । अरू सबै जीव आफू जे हो त्यही हुन्छन् । बाघ बाघ हुनुबाट थाक्दैन । तर मान्छे आफूबाट टाढा उभिन सक्छ ।ऊ आफैलाई हेर्छ, न्याय गर्छ, घृणा गर्छ, बदल्न खोज्छ । बदलिन खोज्छ ।

यही कारण उसले लाज महसुस गर्छ। लाज केवल सामाजिक कुरा होइन यो संकेत हो कि ऊ आफूलाई वस्तु जस्तो देख्न सक्छ । मान्छे त्यो प्राणी हो जसले आफैंलाई पनि बाहिरबाट हेर्न सक्छ। अर्को आयाममा समयको कैदी हो मान्छे जो वर्तमानमा मात्र बाँच्दैन । उसको चेतना तीन टुक्रामा च्यातिएको हुन्छ ।सम्झना , अनुभूति र अपेक्षा । अतीतले दोषी बनाउँछ । भविष्यले असन्तुष्ट बनाउँछ । वर्तमान जहिल्यै अपुरो हुन्छ ।
जनावरको दुःख क्षणिक हुन्छ । मान्छेको दुःख कथात्मक हुन्छ । बुनेर सजाउँछ ऊ । कथा बनाउँछ र त्यसैमा बाँच्छ ।मान्छे घटना भन्दा बढी त आफ्नै कथा हो । मान्छे पूर्ण स्वार्थी पनि हुन सक्दैन । पूर्ण निःस्वार्थी पनि हुन सक्दैन । उही हातले बचाउँछ । हुर्काउँछ । उही हातले मार्छ ।उही हृदयले प्रेम गर्छ । उही हृदयले घृणा गर्छ । यसैले ऊ पापी मात्र होइन, पवित्र मात्र पनि होइन । अति बिसंगतिले भरिएको छ मान्छे । ऊ सम्भावना हो । मान्छे तय भएको चरित्र होइन लगातार बनिरहने निर्णय हो । एक अभावको प्राणी हो मान्छे । मान्छे किन कहिल्यै पूरा सन्तुष्ट हुँदैन? किनकि उसले खोजेको वस्तु संसारमा छैन। ऊ वस्तु होइन, अर्थ खोज्छ ।अर्थ वस्तुजस्तो भेटिँदैन बनाइन्छ । त्यसैले उसले प्रेम बनाउँछ, कला बनाउँछ, धर्म बनाउँछ, क्रान्ति बनाउँछ । एक एक दर्शनका शिरा बनाउँछ ।आजको युगका कैयौं बाटा यी सबै एउटै अभावको फरक भाषा हुन् । मान्छे चाहनाले चल्ने जीव होइन ।अभावले चल्ने चेतना हो । मान्छे जनावरभन्दा ठूलो पनि होइन, सानो पनि होइन । ऊ प्रकृतिमा एउटा दुर्घटना जस्तै जन्मिएको प्रश्न हो ।जसले आफ्नै उत्तर बन्न खोजिरहेको छ ।त्यसैले त कठिन छ मान्छे बुझ्न ।

चित्त बुझाउन सकिन्न सजिलोसँग । जति बुझ्यो, उति गहिरिन्छ किनकि मान्छे कुनै सूक्ष्म वस्तु होइन स्वयं अर्थ खोजिरहेको ब्रह्माण्ड हो ।आफुलाई मात्र होइन आफ्नोपन फैलाउन मान्छेले धर्म र सत्ता दुबै बनाएका संरचना हुन् । तर तिनले मान्छेलाई मुक्त पनि पार्न सक्दैनन् दास मात्र बनाउन सक्छन् । कुरा तिनको स्वभावमा होइन कि तिनको प्रयोगमा लुकेको हुन्छ । जब कुनै विचार अन्तिम सत्य घोषणा हुन्छ ।त्यसपछि प्रश्न गर्ने अधिकार हराउँछ । जहाँ प्रश्न मर्छ, त्यहाँ स्वतन्त्रता मर्छ । धर्मले अपवित्र हुनुको डर दिन्छ । सत्ताले दण्डको डर दिन्छ । डरको मनोविज्ञान एउटै हो । बाहिरको शक्ति आफ्नो भित्रको निर्णयभन्दा ठूलो बनाइन्छ । यही अवस्थामा मान्छे नैतिक हुँदैन बरु आज्ञाकारी हुन्छ सजिलोसँग । नित्सेले यसलाई झुण्ड मानसिकता जस्तो देखे । जहाँ मान्छे सत्य खोज्दैन, सुरक्षित हुन सहमत हुन्छ । यस अर्थमा हो धर्म र सत्ता दास बनाउने यन्त्र बन्न सक्छन् भनिने । तर किन आवश्यक पनि परे त यी कुरा ? मान्छे पूर्ण स्वतन्त्र भएर बाँच्न सक्ने प्राणी होइन । पूर्ण स्वतन्त्रता भयावह हुन्छ । कुनै साझा नियम नहुँदा बलियोले कमजोर निल्छ । त्यसैले समाजले दुई कुरा बनायो ।अर्थ दिन धर्म र व्यवस्था दिन सत्ता ।
थोमस हब्सको विचार यही हो कि व्यवस्था बिना जीवन डर, हिंसा र असुरक्षा तिर जान्छ । यहाँ धर्म र सत्ता दासता होइन, अराजकताबाट सुरक्षा बन्ने प्रयास हुन् । वास्तविक समस्या कहाँ छ त ? समस्या धर्म वा सत्ता हुनु होइन, समस्या तिनीहरूलाई अन्तिम अधिकार मान्नु हो । जब धर्म मार्गदर्शन मात्र हुन्छ , चेतना बढ्छ । जब धर्म आदेश बन्छ , दासता सुरु हुन्छ । जब सत्ता सेवा हुन्छ , न्याय सम्भव हुन्छ ।जब सत्ता पहिचान बन्छ अनि अत्याचार सुरु हुन्छ ।

माइकल फोकल्डको दृष्टिमा शक्ति जहिल्यै हुन्छ तर खतरनाक तब हुन्छ जब हामी त्यसलाई देख्न छोड्छौँ । सहमति र असहमति पनि दुबै अर्धसत्य हुन् । धर्म र सत्ता बिना समाज टिक्दैन तर तिनलाई प्रश्न बिना मान्दा मान्छे टिक्दैन धर्म र सत्ता समस्या होइनन् । मान्छेले आफ्नो विवेक तिनलाई सुम्पिदिँदा समस्या सुरु हुन्छ । भौतिकवाद भन्नू पनि एउटा धर्म हो । धर्म भनेको जीवन जिउने स्थापित लय हो । धर्म र सत्ता दास बनाउने हतियार होइनन् , दास बन्ने हाम्रो डरको संरचना हुन् । बुझ्न मात्र गार्हो हो । बुझे पछि छर्लङ्ग छ । यो विरोधाभास बाट मुक्त हुन एक अर्को सहज बाटो हो कल्याण । जो कोहि कल्याण चाहन्छ । आफ्नो मात्र कल्याण पशुले पनि गर्छ । परिबारको कल्याण गृहस्थ सबैले गर्छन् । सिमीत समाजको कल्याण समाजसेविले मात्र गर्छ । एक सिमाना भित्र राजनीतिक नेताले गर्न सक्छ । एक बिद्वानले सबैलाई कल्याणका कथा मार्फत बुझाउककंछ । एक दार्शनिकले संसारका सबै कल्याण र कल्याणका अपबाद र बिकल्प समेत संसार सामु बुझाउँछ । मानव मात्र होइन, पृथ्वीको हित । जंगल, नदी, जीवजन्तु, वायुमण्डल यी सबैको सन्तुलन जोगाउनु ।त्यसैले आजका युवाले यसलाई विश्वव्यापी चेतनाको विषय बनाएका छन् ।सांस्कृतिक कल्याण, भाषा, लोककथा, परम्परा, स्मृति जोगाउन पहल भैरहेछ सर्वत्र । जब कुनै यो संस्कृति मर्छ, एउटा दृष्टिकोण मर्छ । लेखन र कलाले यहीँनेर ठूलो भूमिका खेल्छ । कल्याण पनि न्यायमा आधारित हुनुपर्ने हुन्छ । दानले क्षणिक राहत दिन्छ । तर न्यायले संरचना बदल्छ । ज्ञान वितरणको कल्याण हो आजको आवश्यकता । ज्ञान बाँड्नु सबैभन्दा दीर्घकालीन कल्याण । नेल्सम मण्डेला ले भनेका थिए शिक्षा संसार बदल्ने शक्तिशाली अस्त्र हो ।

धर्मभन्दा पर, आन्तरिक शान्ति र अर्थको खोज गर्न रुमी जस्ता कविले प्रेमलाई नै सर्वोच्च कल्याण माने । कल्याण कहिलेकाहीँ प्रणाली परिवर्तनका लागि पनि प्रयोगमा ल्याइन्छ । व्यक्ति परिवर्तन मात्र होइन, असमानता जन्माउने संरचना बदल्नु आवश्यक हुन्छ । यो क्रान्ति हुन सक्छ, सुधार हुन सक्छ, तर यसको जरा दीर्घकालीन दृष्टिकोणमा हुन्छ । अस्तित्वको संरक्षणका लागी जब युद्ध, हिंसा, वा निराशाले जीवन नै संकटमा पार्छ । त्यो अवस्थामा जीवन बचाउनु नै सर्वोच्च कल्याण हुन्छ । कल्याणको सबैभन्दा गहिरो आयाम अरूको पीडालाई आफ्नै पीडा जस्तो अनुभव गर्ने क्षमता हो । जहाँ करुणा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्छ । त्यहीँ कल्याणको सर्वोच्च रूप जन्मिन्छ । कल्याण र स्वतन्त्रता , कल्याण र शक्ति , कल्याण र सत्यको सम्बन्ध निकै गहिरो छ । हामी कल्याण चाहन्छौं भने शक्ति स्वतन्त्रता र सत्य हामिसँगै हुनुपर्छ । छुट्न दिँदा हामी एक्लिन्छौं र भड्किन पुग्छौं । सत्य र कल्याणको सम्बन्ध केवल तर्कको विषय होइन ।यो अनुभवको तहमा पुगेर मात्र पूर्ण हुन्छ । कहिलेकाहीँ सत्य आँखा पोल्ने चर्कोघाम जस्तै हुन्छ तर त्यसै घामले जीवनमा शक्ति पनि दिन्छ । त्यसैले सत्य कठोर हुन सक्छ । कल्याणकारी हुनका लागि त्यसमा करुणा मिसिनुपर्छ । कल्याणको कारक हो करुणा । झुटले तुरुन्तै सान्त्वना दिन सक्छ । सत्यले दीर्घकालीन आनन्द । उसोभए हामी सत्यलाई सहन सक्ने परिपक्वता बनाइरहेका छौं कि केवल क्षणिक भ्रमलाई कल्याण सम्झिरहेका छौं , प्रश्न आफैसँग गर्नु उपयुक्त हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार