लिमीका बिरामीलाई उपचारमा सहज



हुम्ला ।

हिमपातपछि प्रवेश गर्ने दुवै नाका बन्द हुँदा पनि लिमीका बिरामीले उपचार सेवा सहज रूपमा पाइरहेका छन् । यसपटक हिउँदे अवधिभर लिमीमै स्वास्थ्यकर्मीलाई अनिवार्य रूपमा बस्ने व्यवस्था गरिएको छ । यसले गर्दा पनि प्राकृतिक नाकाबन्दी हुँदा पनि लिमीवासीले बिरामी हुँदा सहज रूपमैै सेवा पाएका हुन् ।

शुक्रबार नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको हल्जी बस्तीमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका टसी लामाले यसपटकको हिउँदमा पनि बिरामीलाई सहज सेवा प्रदान भएकोमा खुसी व्यक्त गरे । ‘अघिल्ला वर्षहरूमा हिउँदे समयमा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नै बस्दैन थिए । परम्परागत आम्ची र लामाबाट उपचार पद्धति अपनाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यसवर्ष भने दुईजना स्वास्थ्यकर्मी बसेका कारण बिरामीले सहजै उपचार पाइरहेका छन् । मैले पनि सहज रूपमा सेवा लिएँ ।’

गाउँ नजिकै स्वास्थ्य चौकी भएको कारण हिमपात हुँदा पनि बिरामीलाई उपचार गर्नमा कुनै समस्या नभएको स्थानीयको भनाइ छ । गत वर्षहरूमा स्वास्थ्य चौकी र औषधि हुँदा पनि जनशक्ति नभएको कारण बिरामीले उपचार नपाउने अवस्था थियो । विगतमाजस्तो बिरामीले ज्यानै गुमाउनुपर्ने अवस्था यसपटक अन्त्य भएको हो ।

गत दशैँ तिहार बिदापछि लिमीमै बस्दै आएका लिमी स्वास्थ्य चौकी संयोजक लोकेश बोहराले लिमी आउजाउ बन्द भए पनि उपचारमा कुनै कमी हुन नदिएको बताए । उनीसहित स्वास्थ्यकर्मी रुकुमा बोहरा पनि लिमीमै बसेर उपचारमा संलग्न छन् । हिमपातले चिसो बढेको कारण दिउँसो घाममा चौरमा बसेर बिरामीको उपचार गरिरहेको र बिरामी पनि सन्तुष्ट रहेको उनले बताए ।

लिमीका तीन गाउँमध्ये एउटा जाङ गाउँँमा मानिसको बसोबास नै छैन । तील गाउँँमा ४० जना स्थानीय छन् । उक्त गाउँबाट स्वास्थ्य चौकी आउन चार घण्टा पैदल लाग्ने भएको कारण महिनाको दुईपटक औषधिसहित स्वास्थ्यकर्मी त्यहीँ पुगेर घरदैलो मै उपचार गर्ने कार्य जारी छ ।
उनका अनुसार स्वास्थ्य चौकीमा हल्जी गाउँका बिरामीको मात्र उपचार हुने गरेको छ ।

मानिसको बसोबास कम भएको कारण महिनामा करिब २० जना मात्रै बिरामी उपचारका लागि आउने गरेका छन् । लिमी आउजाउ बन्द भए पनि हालसम्म औषधिको अभाव नदेखिएको स्वास्थ्य चौकीले जनाएको छ । तर केही जटिल रोगका बिरामी आए गाउँबाहिर रिफर गर्नुपर्ने र त्यो गर्नुपरे हेलिकोप्टर रिजर्भ गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार