प्रतिनिधिसभा निर्वाचनः २०८२ःआचारसंहिता उल्लंघन गर्नेमाथि कडा निगरानी



आयोगका अनुसार सरकारी स्रोतसाधनको दुरुपयोग, मतदातालाई प्रभावित पार्ने गतिविधि, सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार, आचारसंहिताविपरीत सभा–समारोह तथा खर्चको सीमा नाघ्ने कार्यप्रति विशेष निगरानी गरिएको छ । यसका लागि प्रदेश तथा जिल्लास्तरमा अनुगमन टोली परिचालन गरिएको छ भने नागरिकलाई समेत आचारसंहिता उल्लंघन गरेको देखेमा उजुरी गर्न आग्रह गरिएको छ ।

 नन्दराम जैशी । सुर्खेत ।

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेमाथि कडा निगरानी थालेको छ । आयोगले निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
आयोगका अनुसार सरकारी स्रोतसाधनको दुरुपयोग, मतदातालाई प्रभावित पार्ने गतिविधि, सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार, आचारसंहिताविपरीत सभा–समारोह तथा खर्चको सीमा नाघ्ने कार्यप्रति विशेष निगरानी गरिएको छ ।

यस्ता गतिविधिमा संलग्न पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया पनि अघि बढाइएको छ । यसका लागि प्रदेश तथा जिल्लास्तरमा अनुगमन टोली परिचालन गरिएको छ भने नागरिकलाई समेत आचारसंहिता उल्लंघन गरेको देखेमा उजुरी गर्न आग्रह गरिएको छ । उजुरीका आधारमा छानबिन गरी दोषी देखिए कडा कदम चालिने बताइएको छ । निर्वाचनलाई विश्वसनीय बनाउने साझा दायित्व भएकाले सबै पक्ष जिम्मेवार र सचेत हुन अपिल गरिएको छ ।

यसैबीच निर्वाचनको अवधिमा शान्ति सुरक्षा खलल पु¥याएको भन्दै सुर्खेतबाट ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक तीनकुने चोकहुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
तातोपानी क्षेत्र (वीरेन्द्रनगर–३)मा आधारित उक्त युवा क्लबका सदस्यहरूले स्थानीय प्रशासनको अनुमतिबिना कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा ¥याली निकालेका थिए ।

प्रहरीका अनुसार ¥यालीका क्रममा उनीहरूले हो–हल्ला गर्दै सार्वजनिक शान्ति खलल पु¥याउने गतिविधि गरेको र निर्वाचन आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्यमा संलग्न रहेको बताइएको छ । उक्त गतिविधिले आसन्न निर्वाचनको शान्ति सुरक्षामा असर पर्ने देखिएपछि तत्काल हस्तक्षेप गरिएको प्रवक्ता बुढथापाले बताए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आठ वटा मोटरसाइकल र चार वटा स्कुटीसमेत नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणपछि छोडिएका सबै २५ जनामाथि थप निगरानीसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानाध्यापकहरूसँग स्पष्टीकरण माग 

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा कालीकोटमा कार्यरत दुई शिक्षकलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । कालीकोटको रास्कोट नगरपालिकास्थित कालाशिल्ला माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाई र खाडाचक्र नगरपालिकास्थित चुलीमालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीलाई स्पष्टीकरण सोधिएको हो ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले दुवैजना शिक्षकलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २०८२ माघ १८ गते स्पष्टीकरण सोधेको थियो । चौलागाईलाई विद्यालय बन्द गरेर नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभामा सहभागी भएको र शाहीलाई एकीकृत मालेका उम्मेदवारलाई विद्यालयभित्र निर्वाचन कार्यक्रम गर्न दिएको भन्दै आचारसंहिता उल्लंघन गरेकोबारे लिखित जवाफ मागिएको हो ।

आचारसंहिता अनुगमन अधिकृतको कार्यालयका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले दुई विद्यालयका प्रध्यानाध्यापकले आचारसंहिताविपरीत काम गरेको गुनासो आएपछि स्पष्टीकरण सोधेको बताए । कालाशिल्ला माविका प्रध्यानाध्यापक चौलागाईले ०८२ माघ ४ देखि निर्वाचन आचारसंहिता जारी भएकोबारे आफू जानकार रहेको भन्दै लिखित पत्र पठाएका छन् ।

बेलुकी ४ बजेपछि शिक्षक कर्मचारीका पेशागत माग नेकपाको चुनावी घोषणापत्रमा राख्नका लागि सुझाव दिन आफू कार्यक्रममा गएको उनको दाबी छ । चुलीकालिका माविका प्रध्यानाध्यापक शाहीले उम्मेदवार विद्यालय बाहिरको बाटो हुँदै गाउँ जाने क्रममा विद्यालयको भवन अभाव लगायतका समस्या सुनाउन हाता बाहिर होस्टेलमा भेटघाट गरेको दाबी गरेका छन् । आचारसंहिता उल्लंघन नगरेको उनको तर्क छ ।

सकियो कर्णालीको मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाको मतपत्र छपाइ सकिएको छ । पहिलो हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले दिएको जानकारीअनुसार शुक्रबारसम्म देशभरका कूल ८४ लाख ४० हजार मतपत्र छपाइ सकिएको छ ।

जसमा कर्णाली प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको पनि सकिएको हो । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रूकुम (पश्चिम भाग), सल्यान र सुर्खेतको मतपत्र छपाइसहित प्याकिङ कार्य सम्पन्न भएको छ ।

कर्णालीका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । जहाँ १३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । सुर्खेत र दैलेखमा समान दुई निर्वाचन क्षेत्र रहँदा अन्य आठ जिल्लामा भने एउटा÷एउटा निर्वाचन क्षेत्र छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार