गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष स्थापना



कैलाली ।

कैलाली जिल्लामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गतको गेटा अस्पतालमा आधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिएको छ । उक्त शल्यक्रिया कक्षबाट अस्पतालले औपचारिकरूपमा शल्यक्रिया सेवा सुरु गरेको छ, जसले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ । अस्पताल प्रशासनका अनुसार शुक्रबारदेखि मोडुलर शल्यक्रिया कक्ष प्रयोगमा ल्याइएपछि नियमित शल्यक्रिया सेवा सुरु गरिएको हो ।

यससँगै गेटा अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई अब थप सुविधा र सुरक्षित वातावरणमा शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । आधुनिक प्रविधिमा आधारित मोडुलर शल्यक्रिया कक्षले संक्रमणको जोखिम न्यूनीकरण गर्नुका साथै शल्यक्रियाको गुणस्तर बढाउने विश्वास लिइएको छ । यसअघि गेटा अस्पतालले आपत्कालीन सेवाका लागि व्यवस्था गरिएको एक मात्र शल्यक्रिया कक्षबाट सीमितरूपमा सेवा प्रदान गर्दै आएको थियो ।

आपत्कालीन कक्षमै शल्यक्रिया गर्नुपर्दा नियमित तथा जटिल शल्यक्रिया सञ्चालन गर्न कठिनाइ हुने गरेको थियो । नयाँ मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा आएपछि अस्पतालको शल्यक्रिया क्षमता उल्लेखनीय रूपमा बढ्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार हाल स्थापना गरिएका पाँचवटा मोडुलर शल्यक्रिया कक्षमध्ये तीनवटा कक्ष तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेका छन् ।

बाँकी दुईवटा कक्ष आवश्यक उपकरण व्यवस्थापन तथा प्राविधिक तयारी पूरा भएपछि क्रमशः सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । उनका अनुसार अहिले सञ्चालनमा आएका कक्षहरूबाट सामान्यदेखि केही जटिल प्रकृतिका शल्यक्रिया सेवा प्रदान गर्न सकिनेछ । सूचना अधिकारी कार्कीले मोडुलर शल्यक्रिया कक्ष आधुनिक स्वास्थ्य संरचनाको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै यसले शल्यक्रिया गर्दा चाहिने स्वच्छता, तापक्रम नियन्त्रण, हावाको शुद्धता तथा उपकरण व्यवस्थापनलाई वैज्ञानिक ढङ्गले सुनिश्चित गर्ने बताए ।

यसले चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी सबैका लागि सुरक्षित वातावरण सिर्जना गर्ने उनको भनाइ छ । गेटा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य संस्था भएकाले यहाँ सञ्चालनमा आएको मोडुलर शल्यक्रिया कक्षले कैलालीसहित कञ्चनपुर, डोटी, डडेलधुरा, बाजुरा लगायतका जिल्लाबाट आउने बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । यसअघि जटिल शल्यक्रियाका लागि बिरामीहरूलाई नेपालगन्ज, चितवन वा काठमाडौँसम्म रिफर गर्नुपर्ने अवस्था थियो ।

अब भने धेरैजसो शल्यक्रिया यहीँ सम्पन्न गर्न सकिने सम्भावना बढेको छ । स्थानीयवासी तथा सेवाग्राहीहरूले गेटा अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष सञ्चालनमा आएकोप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । उनीहरूका अनुसार यसले समय, खर्च र जोखिम तीनै पक्षबाट राहत मिल्नेछ । विशेषगरी आर्थिकरूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीका लागि यो सुविधा निकै उपयोगी हुने विश्वास गरिएको छ ।

अस्पताल प्रशासनले आगामी दिनमा शल्यक्रिया सेवाको दायरा विस्तार गर्दै विशेषज्ञ चिकित्सकको व्यवस्थापन, उपकरण थप तथा सेवा गुणस्तर अभिवृद्धिमा निरन्तर काम गरिने जनाएको छ । मोडुलर शल्यक्रिया कक्ष पूर्णरूपमा सञ्चालनमा आएपछि गेटा अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार