बाँकेमा कोकोकोलाको सिलप्याक बोतलभित्र ‘गोल्ड’ सूर्तिको खोस्टा



ओम शाही । कोहलपुर ।

कुनैबेला नेपालीहरू बाहिर कतै यात्रामा जाँदा पनि आफ्नै घरमा बनेको खाना लिएर हिँड्ने गर्दथे । साथै बाटोमा पकाएर खानका लागि पनि सरसामान पासमा हुन्थे । एक त बाटोमा अहिलेको जस्तो होटल नहुनु र अर्को स्वास्थ्यका दृष्टिकोणले पनि बाहिरको खाना नखाने भन्ने मानसिकताले नै हो । तर, अहिले समय बदलिएको छ ।

बढ्दो आधुनिकता र सहजताका लागि मानिसहरू घरमै हुँदा पनि पकाउन अल्छी मान्दै बाहिरको तयारी खानाका लागि लालायित छन् । अझै बहुराष्ट्रिय कम्पनीका पेय पदार्थप्रति त नेपालीको आकर्षण विछट्टै छ ।

आफ्ना उत्पादनप्रति चरम लापरबाही गर्ने बहुराष्ट्रिय कम्पनीका उत्पादनले त कहिलेकाँही उपभोक्ताबीच आतंक नै मच्चाउँछन् । मानव स्वास्थ्यलाई नै हानी पु¥याउने पदार्थहरू भेटिने गरेका छन् ।

सजिलो र स्वादका कारण उपभोक्ताले यस्ता बहुराष्ट्रिय कम्पनीका उत्पादन उपभोग गर्छन् । यसैको फाइदालाई मध्यनजर गर्दै उत्पादकले यतिसम्म लापरबाही गर्छन् कि कहिलेकाँहि मानिसको ज्यानैसम्म जाने पनि गर्दछ । नेपालमा बोटलर्स नेपालले कोकाकोला उत्पादन गर्दछ ।

नेपालमा सबैभन्दा बढी लापरबाही हुने उत्पादन कम्पनी यही नै हो । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने खालका पदार्थहरू पनि उत्पादनमा भेटिने गरेका छन् । अहिले पुनः कम्पनीले गम्भीर गल्ती गरेको पाइएको छ । बोटलर्स नेपालको उत्पादन कोकाकोलामा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने पदार्थ पाइएको हो । मिसनटुडेलाई प्राप्त प्रमाणअनुसार कोकाकोलाभित्र गोल्ड नामक सूर्तिको खोस्टा भेटिएको छ । त्यो पनि सानोतिनो होइन । सिसाको बोतलभित्र कोकाकोला भरिएको छ । उक्त बोतल खुलेको पनि छैन ।

बजारमा खानका लागि खरिद गरिएको कोकाकोलाको उक्त बोत्तलभित्र बाहिरबाटै स्पष्ट देखिने गोल्ड सूर्तिको खोल छ । यसले कम्पनीमा कतिसम्म लापरबाही हुन्छ भन्ने चित्रण गर्दछ । मिसन टुडेसँग उक्त प्रमाण सुरक्षित रहेको छ । अहिलेमात्रै होइन यो कम्पनीका उत्पादनमा बेलाबेलामा यस्ता अखाद्य वस्तु मिसिएको पाइने गरेका छन् ।

यसअघि पटकपटक देशका विभिन्न ठाउँमा कोकाकोलाको भरी बोतलभित्रै कहिले लेदो पाइने त मरेका जीव पनि पाइने गरेका छन् । तर, अहिलेसम्म सामान्य जरिवानाबाहेक ठूलो कारबाही भएको भने देखिँदैन । करोडौं खर्च गरेर भए पनि नियामक निकायलाई प्रभावित पार्न सफल पनि भएका छन् ।

जानीजानी यस्ता मिसावट गर्ने र उपभोक्ताको स्वास्थ्यमा ख्याल नराख्ने कम्पनिविरुद्ध कडा कारबाही गर्नु नियामक निकायको दायित्व हो । तर, अहिलेसम्म त्यसमा ठूलो कारबाही भएको देखिँदैन । भए पनि सामान्य जरिवाना लिएर छुट दिइन्छ । नभए छानबिनका नाममा कुनै कर्मचारीलाई दोषी देखाएर केस रफादफा गरिन्छ ।

थुप्रै बहुराष्ट्रिय कम्पनीहरूले जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरि अखाद्य वस्तु मिसावट गर्ने, लेवल प्रकृया उल्लंघन गर्ने र म्याद गुज्रिएका वस्तुहरूको मिति सच्याएर समान बिक्री गर्ने थुप्रै प्रकरणहरू सतहमा आइसकेका छन् । त्यस्ता पेय पदार्थ सेवन गर्दा ज्यानैसम्म जान सक्छ ।

जीउ ज्यान नै जाने त्यस्ता चलेका व्राण्डहरूबाट नै भएका र सप्रमाण भेटिएका विषयमा कडा छानबिन गरि न्यायिक कठघरामा उभ्याउनुपर्ने उपभोक्ताको माग छ । बुहराष्ट्रिय कम्पनीहरूले जानाजान उपभोक्तालाई हानी पु¥याउने उत्पादन गरिरहेको उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरी बताउँछन् ।

‘यो कम्पनीको उत्पादनमा त अहिलेमात्रै होइन, विगतमा पनि पटकपटक अखाद्य वस्तु भेटिने गरेका छन् । हाम्रो काम त आवाज उठाउने नै हो,’ उनी भन्छन्, ‘कारबाही गर्ने वाणिज्य विभागले नै हो । तर, अहिलेसम्म यस्ता बहुराष्ट्रिय कम्पनीमाथि कारबाही भएको सुनिएको छैन ।’ उनले उपभोक्ताको स्वास्थ्यमा ख्याल नगरी हुने यस्ता गल्ती अपराधतुल्य नै भएको बताए ।

प्रशासन र वाणिज्य विभाग नै नियामक निकाय भएकाले उनीहरूले नै कडा कारबाही गर्नुपर्ने ठकुरीको भनाइ छ । यस विषयमा वाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेललाई बुझ्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो । कम्पनीबाटै भएको यो त्रृटि मात्र हैन चरम लापरबाही पनि हो । सील प्याक भएको कोकाकोला बोतलमा ‘गोल्ड’ सूर्तिको खोस्टा कसरी पस्यो भन्ने प्रश्नमा कोकाकोला कम्पनी एक प्रतिनिधिले भने, ‘सर त्यस्तो पाइएको हो र ? अब अहिले केही भन्न सक्दिनँ ।

बोतल र ब्याच नम्बर हेरेर मात्रै म भन्न सक्छु । सकभर सीलप्याक बोतलमा त्यस्तो नभेटिनुपर्ने हो ।’ उनले अहिले आफू केही बोल्न नसक्ने भन्दै बोतल र त्यसभित्र रहेको भनिएको पदार्थको स्थिति हेरेपछि मात्रै कम्पनीसँगको समन्वयमा जानकारी दिनसक्ने बताए ।

यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मिसनटुडेसँगको कुराकानीमा यदि त्यस्तो प्रमाण भएको भए कानुनअनुसार कारबाही हुने जानकारी दिए । ‘यदि अखाद्य वस्तु भेटिएको प्रमाण छ भने सुरक्षित राख्नुहोस् । वाणिज्य कार्यालयले त्यसको सबै प्रक्रिया पूरा गरी विभागमा पठाउँछ । पुष्टि भयो भने कानुनअनुसार कारबाही अवश्य हुन्छ ।

बरु समन्वयका लागि म पनि वाणिज्य कार्यालयसँग कुरा गर्छु ।’ उनले समात्नेबेला प्रचार भए पनि कारबाहीको लागि ऐनमा जाँदा प्रक्रिया केही लामो हुने भएका कारण पनि कारबाहीको खबर नआउने गरेको हुनसक्ने बताए । ‘पुष्टि भएमा कारबाही भएकै हुन्छ । कतिपय अन द स्पटको कुरा मात्रै समाचारमा आउँछ’, गेलाल भन्छन्, ‘कारबाही प्रक्रियामा जाँदा केही समय लाग्नसक्छ ।

पछि कार्यालयले भने विवरण सार्वजनिक नगर्ने र पत्रकारहरूले पनि के भयो भनेर खोजी नगर्दा पनि त्यसको खबर बाहिर आउँदैन । नत्र प्रमाण भेटिएका कुराहरूमा कारबाही भने अवश्य हुने गरेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १९ गते मंगलबार