वीरेन्द्र जैसी । नेपालगन्ज ।
रूकुम पूर्वः पुष्पकमल दाहाल ‘प्रचण्ड’
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड चुनाव क्षेत्र परिवर्तन गर्ने क्रममा यसपटक रूकुम पूर्व पुगेका छन् । हार्ने डरले चुनावी क्षेत्र परिवर्तन गर्दै हिँडेको आरोप खेपिरहेका प्रचण्डलाई यसपटक रूकुम पूर्वमा चासोका साथ हेरिएको छ।
प्रचण्डसँग प्रतिस्पर्धा गर्न प्रचण्डकै पार्टीका पूर्वनेता जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले २८ वर्षीय जेनजी युवालाई उम्मेदवार बनाएको छ । भुमे गाउँपालिकाका युवा सन्दिप पुन उक्त क्षेत्रमा उम्मेदवार छन् । २०७९ को निर्वाचनमा रूकुम पूर्वमा प्रचण्डको साविकको पार्टी माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगरले एमालेका कैलाशकुमार मल्ललाई सात हजार बढीको मतान्तरसहित १२ हजार दुई सय ६२ मत ल्याएर जितेका थिए । यसपटक रूकुम पश्चिमका पुराना माओवादी नेता शर्माले अर्काे पार्टी बनाएकोले उक्त क्षेत्रको परिणामले प्रचण्ड र शर्मा दुवैको प्रभावको परीक्षण गर्नेछ ।
दाङ २ः शंकर पोखरेल, निर्मल आचार्य र विपिन आचार्य
नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेल यसपटक फेरि दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएर अघिल्लो हारलाई जितमा परिणत गर्ने मनसायमा छन् । तर यतिखेर पनि पोखरेललाई अघिल्लो निर्वाचनको विजेता प्रचण्ड नेतृत्वको नेकपा र तेस्रो नम्बरको रास्वपाले चुनौती दिने चर्चा भइरहेको छ । यसपटक उक्त क्षेत्रमा नेकपाले निर्मल आचार्य र रास्वपाले सहमहामन्त्री विपिनकुमार आचार्यलाई अघि सारेका छन् । २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा माओवादी केन्द्रकी रेखा शर्माले एक सय ९३ मतले मात्रै पछि पारेर २६ हजार ८ सय ८० मतसहित जित निकालेकी थिइन् । तेस्रो स्थानमा रहेको रास्वपाले पनि १५ हजार ८ सय ६१ मत पाएको थियो । २०७४ को निर्वाचनमा माओवादीका कृष्णबहादुर महराले काँग्रेसका राजु खनाललाई १४ हजार बढी मतान्तरसहित ४० हजार ४२ मत ल्याएर जितेका थिए।
रुपन्देही २ः विष्णुप्रसाद पौडेल र सुलभ खरेल
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल यसपटक पनि रुपन्देही २ बाटै चुनावी मैदानमा छन् । २०६४ यता लगातार चुनाव जित्दै आएका पौडेल यसपटक पनि आफ्नो जित निकाल्ने योजनामा छन् । यसपटक पौडेललाई चुनौती दिन अघिल्लो निर्वाचनको निकटतम प्रतिस्पर्धी रास्वपाले आफ्ना चर्चित अनुहार सुलभ खरेललाई अघि सारेको छ । २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार गणेश पौडेल विष्णुभन्दा एक हजार तीन सय ६६ मतले मात्रै पछि परेका थिए । गणेशले २५ हजार ७ सय ८२ मत ल्याउँदा तेस्रो स्थानमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापामगरले पनि २२ हजार १० मत ल्याएका थिए । थापामगर यसपटक पनि उम्मेदवार छन् । यसरी हेर्दा पौडेललाई यसपटकको चुनावमा रास्वपाले चुनौती दिने आकलन भइरहेको छ । यद्यपि पौडेलको व्यक्तित्वको प्रभाव उक्त क्षेत्रमा कम नरहेकोले यसपटक पनि उक्त क्षेत्रको निर्वाचन धेरैको चासोमा रहेको छ ।
गुल्मी १ः प्रदीप ज्ञवाली, चन्द्र भण्डारी, सुदर्शन बराल र सागर ढकाल
नेकपा एमालेका नेता पूर्वपराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी एकै ठाउँमा भिड्दै आएको गुल्मी १ मा आसन्न निर्वाचन अझ रोचक हुने देखिन्छ । २०७४ को निर्वाचनमा ज्ञवालीले भण्डारीलाई हराएका थिए भने २०७९ मा भण्डारीले ज्ञवालीलाई हराए । यसपटक जित कसको पोल्टामा पर्छ त्यो प्रतीक्षाको विषय छ । उक्त निर्वाचन क्षेत्रमा यसपटक ज्ञवाली र भण्डारीसहित चारजना चर्चित अनुहार चुनावी मैदानमा छन् । नेकपाबाट संविधानसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बराल र रास्वपाका नेता सागर ढकाल पनि चुनावी मैदानमा छन् । अघिल्ला दुई निर्वाचनको मत हेर्दा ज्ञवाली र भण्डारीबीच नै प्रतिस्पर्धा हुने देखिए पनि पछिल्लो राजनीतिक परिदृश्यले त्यसलाई फरक पार्नसक्ने पनि अनुमान गर्न सकिन्छ । २०७४ मा ज्ञवालीले साढे सात हजार मत अन्तरसहित ३७ हजार ८ सय १४ मत ल्याएर भण्डारीलाई पराजित गरेका थिए । त्यसबेला दुई ठूला कम्युनिस्ट पार्टीहरू एक ठाउँमा थिए । २०७९ मा माओवादीसँगै मिलेर नेपाली काँग्रेसका भण्डारीले ज्ञवालीलाई एक हजार ६ सय बढी मतान्तरसहित ३३ हजार सात ४४ मत ल्याएर जिते । २०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवारले पनि उक्त क्षेत्रमा एक हजार ८ सय २२ मत ल्याएका थिए । यसपटक यीनै चारवटा शक्तिहरूबीच गुल्मी १ को प्रतिनिधिका लागि भिडन्त हुँदैछ ।
रोल्पाः वर्षमान पुन
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता वर्षमान पुन यसपटक पनि माओवादी जनयुद्धको इपिसेन्टर मानिने रोल्पाली जनताको मत पाउने अभियानमा छन् । अघिल्लो दुई निर्वाचनमा दोब्बरभन्दा बढी मतान्तरसहित भारी मतले विजयी भएका पुनलाई यसपटक कसले चुनौती दिन्छ भन्ने धेरैको चासो रहेको छ । २०७९ को निर्वाचनमा पुन ४१ हजार सात सय १४ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत पाएका थिए । २०७४ मा भने पुनले ४० हजार ६ सय ४७ मत ल्याउँदा काँग्रेसका अमरसिंह पुनले १९ हजार नौ सय ६ मत ल्याएका थिए । यसपटक पुनलाई चुनौती दिन एमालेले संविधानसभा सदस्य रहेका गोकुल घर्तीमगरलाई अघि सारेको छ । यता काँग्रेसले अर्थशास्त्रमा पिएचडी गरेका ३४ वर्षीय युवा सुदनकुमार ओलीलाई अघि सारेको छ । वली सानो उमेरमै लुम्बिनी प्रदेश योजना आयोग सदस्य, युवा तथा खेलकुद मन्त्रालयको नीति विज्ञ, आर्थिक नीति तथा योजना विभागको विज्ञ सदस्य र नेपाली काँग्रेस नीति प्रशिक्षण तथा अनुसन्धान विभाग सदस्य रहिसकेका व्यक्ति हुन् ।
गुल्मी २ः गोकर्ण विष्ट
गुल्मी २ मा यसपटक पुनः निवर्तमान सांसद गोकर्ण विष्ट चुनावी मैदानमा छन् । २०६८ सालमा उर्जामन्त्री र २०७४ सालमा श्रम तथा रोजगारमन्त्री रहेका विष्ट लगातार चौथो जित निकाल्ने योजनासहित चुनावी मैदानमा छन् । २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका विष्ट यसपटक २०७० सालमा संविधानसभा र २०५६ सालमा पनि सांसद निर्वाचित भएका थिए । यसपटक विष्टलाई रोक्नका लागि काँग्रेसले भुवनप्रसाद श्रेष्ठ, नेकपाले श्रीराम महत र रास्वपाले गोविन्द पन्थीसहित २२ जनाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रमा काँग्रेसले नेकपा एसकी रामकुमारी झाँक्रीलाई समर्थन गरेको अवस्थामा पनि विष्ट दुई हजार मत अन्तरले विजयी भएका थिए । उक्त क्षेत्रबाट २०४८ सालमा नेपाली काँग्रेसका रुद्रमणि भण्डारी विजयी भएकोमा त्यसपछिका निर्वाचनहरूमा भने वामपन्थी वर्चस्व रहँदै आएको छ। २०७४ को निर्वाचनमा काँग्रेसका चन्द्रबहादुर केसीले २० हजार एक सय ५७ मत ल्याउँदा विष्ट ३४ हजार ६ सय १८ मत ल्याएर विजयी भएका थिए ।
पाल्पा २ः ठाकुरप्रसाद गैरे र सोमप्रसाद पाण्डेय
२०७९ मा विजयी प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरे २०७४ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयसँग भिड्दै छन् पाल्पा क्षेत्र नम्बर २ मा । एमालेका गैरे र हाल नेकपामा रहेका पाण्डेले चुनाव जितेको दल भने एमाले नै हो । एमाले विभाजित हुँदा पाण्डे नेकपा एसतिर लागेका थिए । अहिले उनी नेकपामा छन् । यी दुई नेताबीच २०७९ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । जसमा गैरेले पाण्डेलाई पराजित गरेका थिए । यसपटक यी दुवै नेता आफ्नो जित दोहो¥याउने लक्ष्यसहित मैदानमा छन् । २०७४ मा पाण्डेले काँग्रेसका हरिप्रसाद नेपाललाई १० हजार बढी मतान्तरसहित ३४ हजार आठ सय ९९ मत ल्याएर हराएका थिए । २०७९ मा काँग्रेस र माओवादीको समर्थनमा उम्मेदवार रहेका पाण्डेलाई गैरेले करिब चार हजार मतान्तरसहित २८ हजार ६ सय ४५ मत ल्याएर हराए । यसपटक उनी पूर्वमाओवादी हाल नेकपाको उम्मेदवारका रूपमा मैदानमा छन् । यसपटक उनीहरूबीच नै प्रतिस्पर्धा हुन्छ या २०७९ को निर्वाचनमा पत्यक्षतर्फ पाँच हजार तीन सय ४९ मत ल्याएर रास्वपा पनि प्रतिस्पर्धामा उत्रिन्छ हेर्न बाँकी छ ।
प्युठानः सूर्यबहादुर थापा र गोविन्दराज पोखरेल


एमालेका नेता र निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका सूर्यबहादुर थापा र नेपाली काँग्रेसका नेता डा. गोविन्दराज पोखरेल यसपटक प्युठानबाट चुनाव लड्दै छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र भूमकम्पपछिको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिइओ रहेका पोखरेल यसपटक २०७४ को हारलाई जितमा परिणत गर्ने योजनासहित मैदानमा छन् भने थापा जित दोहो¥याउने योजनामा छन् । २०७९ को निर्वाचनमा थापाले १५ हजार मतान्तरसहित ४१ हजार एक सय १८ मत ल्याएर राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललाई पराजित गरेका थिए । पौडेलले २०७४ को निर्वाचनमा पोखरेललाई १६ हजार बढी मतान्तरसहित ४७ हजार पाँच सय १४ मत ल्याएर विजयी भएकी थिइन् । यसपटक जनमोर्चाले अर्का नेता तिलबहादुर जिसीलाई उम्मेदवार बनाएको छ ।
दाङ ३ः दीपक गिरी
२०७४ मा हार व्यहोरेका र २०७९ मा जित निकालेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक गिरी यसपकट पुनः दाङ ३ बाट उम्मेदवार छन् । उनलाई चुनौती दिन अघिल्लोपटकको उपविजेता र २०७४ को विजेता एमालेले नेता घनश्याम पाण्डेलाई अघि सारेको छ । यसैगरी अघिल्लोपटकको तेस्रो दल रास्वपाले आफ्ना साविककै उम्मेदवार कमल सुवेदीलाई दोहो¥याएको छ । २०७९ को निर्वाचनमा गिरीले एमालेकी कोमल वलीलाई सात हजार आठ सय बढी मतान्तरसहित ३६ हजार नौ सय ११ मत ल्याएर जित निकालेका थिए । रास्वपाका सुवेदीले १५ हजार तीन सय २६ मत ल्याएका थिए । २०७४ को निर्वाचनमा भने गिरीले ३३ हजार सात सय ३० मत ल्याउँदा एमालेका हिराचन्द केसीले ४० हजार दुई सय ८७ मत ल्याएर विजयी भएका थिए ।
बर्दिया १ः सञ्जयकुमार गौतम र ठाकुरसिंह थारू

पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतम प्रतिनिधिसभा सदस्यमा ह्याट्रिक गर्ने मनसायसहित बर्दिया क्षेत्र नम्बर १ मा फेरि उम्मेदवार बनेका छन् । तर यसपटक उनलाई रास्वपाका उम्मेदवार र अघिल्लोपटक तेस्रो नम्बरमा रहेका ठाकुरसिंह थारूले चुनौती दिने चर्चा भइरहेको छ । यसका साथै बाँसगढी नगरपालिकाका पूर्वनगरप्रमुख शालिकराम अधिकारीलाई उम्मेदवार बनाएर एमालेले पनि कडा चुनौती दिएको छ । यसैगरी अघिल्लोपटक गौतमलाई साथ दिएको माओवादीसम्बद्ध नेकपाले पूर्वमन्त्री, संविधानसभा सदस्य तथा थारू आयोगका अध्यक्ष विष्णु चौधरीलाई उम्मेदवार बनाएर गौतमको अप्ठ्यारो बढाइदिएको छ । २०७९ को निर्वाचनमा गौतमले एमालेका लक्ष्मण ज्ञवालीलाई साढे चार हजार बढी मतान्तरसहित ३० हजार ६ सय ११ मत ल्याएर जित हासिल गरेका थिए । तर, त्यसबेला नागरिक उन्मुक्तिबाट उम्मेदवार रहेका र हाल रास्वपाबाट उम्मेदवार रहेका ठाकुरसिंह थारूले २३ हजार नौ सय ९३ मत पाएका थिए । यसैगरी रास्वपाका उम्मेदवार प्रवेश भुषालले ११ हजार चार मत पाएका थिए । थारूले यसपटक पनि आफ्नो र अघिल्लोपटक रास्वपाले पाएको मतमात्रै जोगाउन सके भने उनको सहज जित हुने देखिन्छ । यद्यपि २०७४ मा गौतमले एमालेका वामदेव गौतमलाई साढे सात सय मतान्तरसहित ४४ हजार ८ सय ३४ मत ल्याएर जित हासिल गरेकोले गौतमको प्रभाव उक्त क्षेत्रमा कम नभएको पनि बताइन्छ ।
बर्दिया २ः किशोरसिंह राठौर
नेपाली काँग्रेसका निवर्तमान सहमहामन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौर यसपटक बाँकेबाट बर्दिया सरेका छन् । बाँके ३ बाट अघिल्लोपटक जित निकालेका राठौर यसपटक बर्दिया २ मा अघिल्लोपटक दोस्रो भएका सुरेश पन्थ र तेस्रो भएको एमालेकी विमला विकसँग प्रतिस्पर्धा गर्दैछन् । २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका लालविर चौधरी यसपटक उम्मेदवार छैनन् भने उनी पछि फर्किएको दल नागरिक उन्मुक्ति अहिले तितरबितर भएको अवस्था छ । उक्त निर्वाचन क्षेत्रमा चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा राठौरको दलले गठबन्धन गरेका माओवादीका सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याएका थिए भने एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत ल्याएका थिए । २०७४ को निर्वाचनको परिणाम पनि राठौरको पक्षमा छैन । त्यसबेला माओवादीका सन्तकुमार थारूले ५० हजार पाँच सय ५५ मत ल्याउँदा काँग्रेसका गोपाल दहितले ३६ हजार सात सय ३५ मतामात्रै पाएका थिए ।
नवलपरासी (पश्चिम) १ः विनोद चौधरी र हृदयश त्रिपाठी
उद्योगपति एवं नेपाली काँग्रेसका नेता विनोद चौधरी अघिल्लो निर्वाचनमा पुराना नेता हृदयश त्रिपाठीलाई हराएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएको क्षेत्र नवलपरासी (पश्चिम)–१ मै दोहोरिएर उम्मेदवार भएका छन् । चौधरीलाई चुनौती त्रिपाठी पनि यसपटक फेरि चुनावी मैदानमा छन् ।
२०७९ को निर्वाचनमा चौधरीले करिब सात हजार दुई सय मतान्तरसहित २९ हजार पाँच सय २९ मत ल्याएर त्रिपाठीलाई पराजित गरेका थिए । अघिल्लोपटक जनता प्रगतिशील पार्टी नामको आफ्नै नेतृत्वको पार्टीबाट चुनाव लडेका त्रिपाठी यसपटक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा त्रिपाठीले ३८ हजार पाँच सय ९२ मतसहित काँग्रेसका देवकरणप्रसाद कलवारलाई करिब पाँच हजार अन्तरले हराएका थिए । उक्त क्षेत्रमा २०७९ सालमा साढे १२ हजार मतसहित तेस्रो भएको रास्वपाले यसपटक विक्रम खनाललाई उम्मेदवार बनाएको छ ।
नवलपरासी (पश्चिम) २ ः ध्रुवबहादुर प्रधान र देवेन्द्र पौडेल

२०७४ र २०७९ मा बाग्लुङ २ बाट निर्वाचन जितेका पूर्वमाओवादी हाल नेकपाका नेता देवेन्द्र पौडेल आसन्न निर्वाचनमा निवर्तमान सांसद, पूर्वमन्त्री एवं राप्रपाका नेता ध्रुवबहादुर प्रधानसँग प्रतिस्पर्धा गर्न नवलपरासी (पश्चिम) २ मा झरेका छन् । २०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट प्रधानले नेपाली काँग्रेस माओवादीका साझा उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजारबढी मतान्तरसहित हराएका थिए । एमालेका दिपेन्द्र अधिकारीले १४ हजार पाँच सय २ मत पाएका थिए । २०७४ को निर्वाचनमा काँग्रेसका देवेन्द्रराज कँडेलले ३४ हजार एक सय ३० मत ल्याउँदा माओवादीका घनश्याम यादवले २३ हजार आठ सय ९८ मत ल्याएका थिए ।









प्रतिक्रिया दिनुहोस्