बर्दियामा एकैदिन चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु



डिभिजन वन कार्यालय बर्दियाको तथ्यांकअनुसार गत साउनयता सातजनाको चितुवाको आक्रमणबाट, एकजनाको पाटेबाघको आक्रमणबाट र दुईजनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दिया ।

बर्दियाका छुट्टाछुट्टै स्थानमा एकैदिन वन्यजन्तुको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । बिहीबार एकैदिन गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकाय र चितुवाकै आक्रमणबाट मधुवन नगरपालिका–९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगीको बिहीबार मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–११ भेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए । उनका अनुसार गत ७ माघमा सोही क्षेत्र आसपासमा तोरीबारीमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो ।

रोजगारीका लागि भारत पुगेका मृतक रोकाय दश दिनअघि मात्रै घरमा आएको बताइएको छ । डाँगीको आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्किएको चितुवाले आक्रमण गर्दा ज्यान गएको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले जानकारी दिए । ‘आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा बाघले आक्रमण गरी जंगलतिर लागेको थियो,’ उनले भने, ‘खोजतलासका क्रममा खाएको अवस्थामा महिलाको शव बिहीबार साँझ फेला परेको छ ।’

डाँगी भारतबाट तीन दिन अघिमात्रै भारतबाट घरमा आएकी थिइन् । मधुवन–९ का वडाअध्यक्ष हर्कबहादुर बस्नेतले खेतबारीमा काम गर्न जादाँ दिनहुँ मानवीय क्षति बेहोर्नुपरेको जानकारी दिए । ‘सरकारले जंगललाई तारबार गरेर बाघ पाल्नुप¥यो, यसरी खुला तरिकाले बाघ पालेर जनतालाई खुवाउने काम गर्नुभएन,’ उनले भने ।

चितुवाको आक्रमणबाट बेपत्ता भएकी डाँगीको शव नेपाल भारत सीमा नजिकको ७० नम्बर पिलरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रकुमार मल्लले बताए । ‘चितुवाको आक्रमणबाट वेपत्ता डाँगीको शव अरहर बारीमा फेला परेको छ । मृतकको शव पोस्टमार्टमको बर्दिया अस्पताल गुलरियामा लगिएको छ ।’ उनले भने ।

पछिल्लो समयमा बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालय बर्दियाको तथ्यांकअनुसार गत साउनयता सातजनाको चितुवाको आक्रमणबाट, एकजनाको पाटेबाघको आक्रमणबाट र दुईजनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार