चुनाव प्रचारप्रसारमा सक्रिय उम्मेदवार र दल



कोहलपुर (बाँके) ।

जिल्लामा रहेका राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारको पूर्वतयारी धमाधम गरिरहेका छन् । चुनावको मिति नजिकिँदै कार्यकर्ता भेटघाट, आर्थिक संकलन, सम्पर्क कार्यालय स्थापना, सानो समूहमा चुनावको प्रचारप्रसारमा दल र उम्मेदवारहरू जुटेका हुन् । बाँके क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारसहित पार्टीपंक्ति चुनावी प्रचारप्रसारमा खटिएको बताउँछन् ।

जिल्लाका ८१ वटै वडा र पालिका तहमा निर्वाचन परिचालन समिति गठन गरेर परिचालित भएको गौडेलले बताए । उनले भने, ‘हामी चुनावको आन्तरिक तयारीमा छौँ । अहिले सामान्य रूपमा चुनावको प्रचारप्रसार गरिरहेका छौँ । अब विस्तारै थप सशक्त रूपमा अघि बढ्नेछौँ ।’ नेपाली काँग्रेसका तर्फबाट बाँके १ मा सभापति गौडेलसहित क्षेत्र नम्बर २ मा पार्टी सचिव सुधान्सु कोइराला र बाँके ३ मा नेपाली काँग्रेसका लुम्बिनी सभापति अमरसिंह पुन उम्मेदवार छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसका किशोरसिंह राठौरले जितेका थिए ।

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ सम्पूर्ण रूपमा पार्टी चुनावी अभियानमा खटिएको बताउँछन् । उनका अनुसार वडा, पालिका, क्षेत्र र जिल्लास्तरीय निर्वाचन परिचालन समिति नै बनाएर नेता, कार्यकता र सुवेच्छुक संगठनलाई सक्रिय बनाइएको छ । ‘उम्मेदवारसहित दल नै लागेको छ । पार्टी र उम्मेदवार जिताउन हामी लागिपरेका छौँ । पार्टीको तर्फबाट घोषणापत्र र वाचापत्रको समेत तयारी भइरहेको छ,’ उनले भने ।

नेकपा एमालेले जिल्लाका तीनवटै क्षेत्रमा उम्मेदवारहरूको सम्पर्क कार्यालय नै स्थापना गरेको छ । पालिका कमिटी र सम्पर्क कार्यालयमार्फत गतिविधि भइरहेका छन् । नेकपा एमाले बाँके १ मा केन्द्रीय सदस्य सूर्यप्रसाद ढकाल, बाँके २ मा मोहम्मद इस्तियाक राई र बाँके ३ मा सुमन मल्ललाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा नेकपा एमालेले बाँके १ मा जितेको थियो । त्यतिबेलाको निर्वाचनमा जितेका सूर्य ढकाल यसपटक पनि उम्मेदवार छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी बाँके पनि चुनावी अभियानमा सक्रिय रूपमा लागेको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) नेकपाको अहिलेको प्रमुख प्राथमिकता फागुन २१ को चुनाव रहेको बताउँछन् । उनका अनुसार अहिले सिंगो पार्टी कमिटी आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेको छ । उनले भने, ‘हाम्रो पार्टी चुनावमा सक्रिय भएको छ । नेता कार्यकर्ता सोहीअनुसार परिचालित हुनु भएको छ । म आफैँ चुनावी मैदानमा छु । कार्यकर्ता भेटघाट गरिरहेका छौँ ।’

नेकपाले बाँके १ मा पाण्डेसहित बाँके २ मा दीपेन्द्र विष्ट र बाँके ३ मा दिपक जीएमलाई उम्मेदवार बनाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठले निकै उत्सुकता र सकरात्मक नतिजाको आशासहित कार्यकर्ता भेटघाटमा व्यस्त रहेको बताए । २०७९ सालको निर्वाचनमा पहिलोपटक भाग लिएको रास्वपाले बाँकेमा सम्मानजनक भोट ल्याएको भन्दै यसपटक सबै निर्वाचन क्षेत्र संकल्पसहित आफूहरू चुनावी मैदानमा रहेको उनले बताए ।

पार्टीले सम्बन्धित पालिका र वडा कमिटीलाई सम्पूर्ण रूपमा चुनावमा खटिन निर्देशन जारी गरेको र सोहीअनुसार आफूहरू सक्रिय रहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके १ नम्बरमा सुरेशकुमार चौधरी, बाँके २ मा विवेककुमार श्रेष्ठ र बाँके ३ मा खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । बाँकेमा कूल ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूलाई निर्वाचनको प्रचारप्रसारका लागि फागुन ४ देखि १८ गतेसम्मको समयसीमा तोकिदिएको छ । निर्वाचन हुने समयभन्दा ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुने भएकाले सो अघिसम्म प्रचारप्रसार गर्न पाउने आयोगको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार