सुर्खेत २ का उम्मेदवार ‘सुदीप’का चुनावी एजेन्डा सार्वजनिक



वीरेन्द्रनगर ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका झकबहादुर मल्ल ‘सुदीप’ले आफ्ना चुनावी एजेन्डाहरू सार्वजनिक गरेका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना चुनावी प्रतिबद्धता तथा एजेन्डाहरू सार्वजनिक गरेका हुन् ।

तर उक्त क्षेत्रमा अन्य उम्मेदवारहरूले अहिलेसम्म एजेन्डाहरू सार्वजनिक गरेका छैनन् । मल्लले प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक तथा नमुना सहर निर्माण गर्नेदेखि हरेक स्थानीय तहमा आइटी कलेजहरू स्थापना गर्ने एजेन्डाहरू अघि सारेका छन् । निर्वाचन क्षेत्रका सबैजसो गाउँबस्ती पुगेर फर्किएका उनी आफैँ युवा र नयाँ उम्मेदवार भएकोले मतदाताले भरोसा गरेको दाबी छ ।

माओवादी युद्धका बेला लडाकु समेत रहेका मल्ल युवाहरूबीच चिनिएका नेता हुन् । सानै उमेरमा परिवर्तनका लागि युद्धमा होमिएको तर्क गर्दै सहिदहरूकै बलिदानी र कठोर संघर्षकै बलमा आज देशमा गणतन्त्र, समानुपातिक, समावेशिता स्थापना तथा वर्गीय विभेदको अन्त्य भएको उनले बताए ।

तर व्यवस्था बदलिए पनि जनताको अवस्थामा रूपान्तरण नआएको भन्दै अब त्यसको नेतृत्व पनि आफूले गर्ने उनको दाबी छ । मल्लले युद्धकै क्रममा जनमुक्ति सेनाको कमान्डर र सुर्खेत जिल्ला सेक्रेटरी हुँदा (०५९–६०) सालमा पश्चिम सुर्खेतको चौकुनेस्थित गुटुको विशाल बजार व्यवस्थापनदेखि ‘जनमुक्ति मार्ग’ भनेर साल्कोट–पलाइटेको सडक निर्माणको सुरुवात गरेको अवगत गराए ।

‘तत्कालीन माओवादीकै अगुवाइमा पश्चिम सुर्खेतमा विकासका थुप्रै आयोजनाहरू अघि बढेका छन् । तिनलाई पूर्णता दिन पनि मेरो उम्मेदवारी छ,’ उनले भने, ‘यसअघि गठबन्धन हुँदा हाम्रा मतदाता र कार्यकर्ताहरूले कहिले एमाले त कहिले काँग्रेसलाई मत हाल्नुभयो । अब आफ्नै उम्मेदवारलाई मत दिएर विजयी बनाउनेछन् ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार