वीरगञ्ज (पर्सा) ।
वीरगञ्ज हुँदै चालू आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालू आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रू २१ करोड मूल्यको गिरावट आएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालू आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए ।
जबकी गत आवको छ महिनामा भने रू ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालू आवको छ महिनामा रू पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रू छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।
चालू आवको छ महिनामा रू तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालू आवको छ महिनामा रू एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रू ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै रू २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।
विद्युतीय सवारीसाधनको आयातमा वृद्धि
चालू आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालू आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालू आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व संकलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालू आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व संकलन पनि बढेको बताए । गत आवको छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट रू २४ करोड २९ लाख राजस्व संकलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालू आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ ।
ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व संकलन भएको छ । गत आवको छ महिनामा भने रू एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व संकलन भएको थियो ।








प्रतिक्रिया दिनुहोस्