चिसापानी–जंगलघाट पुलको ठेक्का रद्द गर्न खोज्दा प्रदेश सांसदको आपत्ति



कैलाली ।

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अक्कलबहादुर रावलले चिसापानी–जंगलघाट–बडिमालिका सडकअन्तर्गत पर्ने जंगलघाट पुलको ठेक्का रद्द गर्न खोजिएकोप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् । प्रदेशसभाको छैटौँ अधिवेशनको २५औँ बैठकमा ड्याप–ड्याप्पे समयमा नेता रावलले जानकारी दिएअनुसार, उक्त सडक परियोजना सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाअन्तर्गत पर्छ र पुल निर्माण करिब दुई–ढाई वर्षअघि संघीय सरकारले ठेक्का दिएको थियो ।

उनका अनुसार, पुल निर्माण कार्य अघि बढिरहेको अवस्थामा संघीय सरकारले विभिन्न बहानामा ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।रावलले यसक्रममा ‘वेतन कर्णाली’ र ‘अपर कर्णाली’ परियोजनाको डुवान क्षेत्र पर्ने भन्ने कारण देखाइएको उल्लेख गरे । उनका अनुसार, ठेक्का रद्द गर्नुको सट्टा पुल निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने हो, नभए जनताको विकासप्रतिको सपनामाथि कुठाराघात हुने खतरा छ ।

प्रदेश सांसद रावलले प्रदेशसभामार्फत संघीय सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार, पुल निर्माण सम्पन्न हुन नसके सुदूरपश्चिम प्रदेशको यातायात सुविधा र स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ ।

उनले भने, ‘जनताको सुविधा र प्रदेशको विकासलाई कुनै बहानामा रोक्नु उचित छैन । पुल निर्माण कार्यलाई छिटो सम्पन्न गराउन आवश्यक छ।’प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर परियोजना अघि बढाउन रावलले जोड दिएका छन् । उनका अनुसार, यस्तो पहलले प्रदेशको पूर्वाधार विकासमा गति ल्याउनेछ र स्थानीय जनतामा विकासको भावना सुदृढ बनाउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार