बाँके र बर्दियाका किसानले लगाएको धान पाक्न सुरु गरिसकेको छ । असारमा रोपेको धान अहिले काट्नेबेला पनि भइसकेको छ । तर, लगातारको वर्षाका कारण भित्र्याउन लागेको धान खेतमै कुहिने चिन्ता किसानलाई छ ।
आवश्यक हुँदा आकाशबाट नपरेको पानी यतिबेला धान भित्र्याउने तरखर गर्दैगर्दा रोकिएको छैन । छिटो पाक्ने जातको धान लगाएका किसान यतिबेला खेतमा धान काट्न थालेका छन् । तर, खेतभरी नै पानी नै पानी छ । दिनहुँ पर्ने पानीले धान खेतमै ढलेका छन् ।
‘खेतको आलीभरी पानी छ, धान पाकिसक्यो । दिनहुँजसो पर्ने पानी र हल्का हावाले गर्दा धान ढलेका छन,’ बाँके खजुरा गाउँपालिका– १ का मगन सिंह थापाले दुखेसो पोखे । पाकेको धान ढलेर खेतमा सपक्क परेका छन् । खेतभरी पानी छ । आकाशबाट पानी रोकिने छाँट देखिएको छैन । जसकारण पाकिसकेको धान खेतमै उम्रिन थालेको किसान थापाको गुनासो छ ।
उनले पानी नरोकिए धान खेतमै कुहिने अवस्था आउने बताए । बर्दियामा त कति किसानले धान पाकेर पनि काट्न थालिसकेका छन् । छिटो पाक्ने धान लगाएका किसान अन्य ढिला पाक्ने जात लगाएका किसानभन्दा बढी चिन्तित बनेका छन् ।
‘पाकेको धान काट्न पाइएको छैन, त्यसमाथि धान ढलेर पानीमा डुबेको अवस्था छ,’ बर्दिया राजापुरका अगुवा किसान पहाडी थारुले भने, ‘वर्षभरीको खाने र घरखर्च जोगाउने यहि धानकै आश थियो ।
अब यही पनि भित्र्याउन पाउँदैनौं कि भन्ने चिन्ता छ ।’ उनले खेतमा धानको खला पनि बनाउन नपाएको र दैनिक पर्ने पानीका कारण यसवर्ष पाकेको धान भित्र्याउने चिन्ता थपिएको गुनासो गरे । बाँके र बर्दियाका मात्रै नभएर तराईका अन्य जिल्लाका किसानको अवस्था पनि उस्तै छ । बाँकेमा बर्सेनि ३६ हजार हेक्टर क्षेत्रफलमा वर्षेधान लगाइँदै आइएको छ ।
पानीले किसानलाई यो पटक समस्यामा पारेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । काट्न तयार भैसकेको धानलाई सामान्य क्षति पु¥याइसकेको ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।
प्रमुख ढकालका अनुसार छिटो पाक्ने धान १० प्रतिशत पाकिसकेकाले त्यहि पाकिसकेको धानमध्यकै केही बारीमा ढलेर नोक्सान भएको छ । तर, अहिलेसम्म कति क्षति भएको छ भन्ने एकिन हुन नसकेको उनको भनाइ छ ।
अझै केही दिन पानी नरोकिए क्षति बढ्ने उनले आंकलन गरे । यसवर्ष बाँकेमा छिटो पाक्ने जातको धान राम्रै फलेको ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
‘अहिले नै आत्तिहाल्नुपर्दैन । केही दिनमा मौसम सुधार पनि आउन सक्छ । केही दिन पानीबाट बच्न सक्यो भने, यसपटक बाँकेमा धान उत्पादन राम्रो हुन्छ’, ज्ञान केन्द्रका प्रमुख ढकाल भन्छन् । पानी पर्न रोकिए हिउँदे बालीलाई पनि राम्रो हुने ढकालको भनाइ छ । बर्दिया जिल्लामा यो वर्ष धानको उत्पादन गत वर्षभन्दा बढ्ने देखिएको एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दियाले जनाएको छ ।
केही दिन पानी पर्न रोकिए किसानले पाकेको धानलाई काट्ने र भित्र्याउन सक्ने भएकाले मौषम अनुसार नै क्षतिको एकिन हुने कार्यालय प्रमुख विनोद घिमिरेले जानकारी दिए । बर्दिया जिल्लामा ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ ।
हालसम्मको अवस्थालाई हेर्दा सन्तोषजनक रहेको बताउँदै एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालयका वागवानी विकास अधिकृत सन्तोष पाठकले थप पानी परेको खण्डमा उत्पादन वृद्धि नभएर घट्नेतिर जाने बताए ।
बर्दियाको गेरुवा र राजापुर क्षेत्रमा धान काट्न सुरु भैसकेको पाठकले जनाएका छन् । उनले बर्दियामा हाल राधा–४ र मकवानपुर जातका छिटो पाक्ने धानहरु ढलेको पाइएको जानकारी दिए । जसका कारण छिटो पाक्ने जात लगाएका किसानहरुलाई अझै बढि नोक्सानि व्यहोर्नुपर्ने देखिन्छ ।
वागवानी विकास अधिकृत पाठकले पानी लगातार पर्ने र धान ढल्न थाल्ने हो भने उत्पादनमा ठूलो असर गर्ने चेतावनी दिएका छन् । ‘ढलेका धानबाट बीउ बनाउन नमिल्ने हुँदा आगामी वर्षका लागि किसानलाई बीउ अभाव हुन पनि सक्छ,’ पाठक भन्छन्, ‘ढलेको धान पूर्णतया भिजेको हुने हुँदा खानका लागि गुणस्तरीय मानिँदैन ।’
प्रतिक्रिया दिनुहोस्