बाँकेमा नयाँ सिडिओ आएलगत्तै फेरि निषेधित क्षेत्र घोषणा



नेपालगञ्ज ।

बाँकेमा लकडाउनलाई प्रभावकारी बनाउनको लागि बुधबार रातीदेखि निषेधाज्ञा जारी गरिएको छ ।

राती १० बजेदेखि सुरु भएको निषेधाज्ञा अर्को सूचना जारी नहुँदासम्म कायम रहनेछ । बाँकेका सिडिओको रुपमा राम बहादुर कुरुम्बाङ आएसँगै जिल्लामा खुकुलो हुँदै गएको लकडाउन कडाई हुने संकेत देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका हाजिर भएको पहिलो दिनमा नै उनले अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन् ।

छिमेकी जिल्ला बर्दियामा हुँदा काममा ख्याती कमाएका सिडिओ बाँके आएसँगै लकडाउन कडाई हुनका साथै कोरोना नियन्त्रणमा सहज हुने सरोकारवालाहरुले आशा गरेका छन् । निषेधाज्ञा जारी गर्नुले समेत कोरोना नियन्त्रणको लागि उनी आक्रमक रुपले प्रस्तुत हुने संकेत देखाएका छन् ।

अत्यावश्यक काम कारबाही बाहेकका सबै कार्य बन्द गर्नेगरी अर्को सुचना नआएसम्मका लागी निषेधाज्ञा जारी गरिएको हो ।

प्रजिअ कुरुम्बाङले हस्ताक्षर गरेको सूचनामा कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन–गर्न नदिन राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु बाहेकका सबै सेवा स्थलहरु बुधबार राती १० बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभरी नगर्न नगराउन हुन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ, उक्त आदेशको उल्लघंन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ । साथै यसको संक्रमणबाट जोगिन सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र भीडभाड नगर्न नगराउन अनुरोध गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १५ गते बिहीबार